गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओवादी कास्कीले जिल्लाका विभिन्न गाबिसका भूकम्प पीडितहरुलाई राहतस्वरुप जस्तापाता र सोलार बत्ती बितरण गरेको छ । एमाओवादीले कास्कीको ल्वाङघलेल गाबिसका भूकम्प पीडितहरुलाई राहत स्वरुप प्रतिपरिवार दुई बण्डल जस्ता र सोलार बत्ती र लाहाचोकका भूकम्प पीडित परिवारलाई दुई बण्डल जस्तापाता बितरण गरेको हो । सोमबार र बुधबार बितरण गरिएको राहतबाट ल्वाङघलेलका हरिकला गौतम, शिरबहादुर कामी, नरपति दाहाल, टिकाराम अधिकारी र लाहाचोक गाबिसका डिलबहादुर बिक, नन्दलाल अधिकारी, देवीलाल अधिकारी, कृष्णप्रसाद सेढाई र दुर्गाबहादुर दर्जीको परिवारको अस्थायी बासस्थान निर्माण भएको छ । एमाओवादीले ल्वाङघलेलमा वितरण गरिएको राहत सामाग्रीबाट आफैं अस्थायी घर निर्माण गरी पीडित परिवारलाई प्रदान गरेको छ । एमाओवादी कास्की, गुरुङ संस्कृति केन्द्र र जर्मन नागरिक होस्ट एण्ड इभिलेनको संयुक्त प्रयास र लगानीमा राहत वितरण गरिएको एमाओवादी कास्कीका सहसचिव धर्मबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार एमाओवादी कास्कीको संयोजनमा उक्त राहत सामाग्री जुटाइएको हो । राहतका लागि नेता राजकाजी गुरुङको नेतृत्वमा रहेको गुरुङ संस्कृति केन्द्रले सोलार बत्ती उपलब्ध गराएको थियो भने एमाओवादी धितालका अध्यक्ष टेकनाथ गौतमको विशेष पहलमा जर्मन नागरिक होस्ट एण्ड इभिलेनसँग निर्माण सामाग्रीका लागि सहयोग मागिएको थियो । बुधबार लाहाचोकमा सम्पन्न राहत बितरण कार्यक्रममा एमाओवादी कास्कीका सहसचिव धर्मबहादुर गुरुङले बिपत्तिको बेला सबै एकजुट भएर पूनर्निर्माणमा लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेता गुरुङले बिपत्तिले सबैलाई उत्तिकै मर्माहत र क्षतिग्रस्त बनाएकाले राहत र पूनर्निर्माणमा पनि सबैप्रति समान दृष्टिकोण राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा एमाओवादी कास्कीका जिल्ला समिति सदस्य मनहरि तिमिल्सिना, धिताल गाउँ कमिटीका अध्यक्ष टेकनाथ गौतम, नेपाली कांग्रेस लाहाचोकका सभापति बेणीमाधव अधिकारी, एमाओवादी लाहाचोकका अध्यक्ष नारायण अधिकारी लगायतका वक्ताहरुले एकतावद्ध भएर मात्र बिपत्तिको सामना गर्न सकिनेमा जोड दिएका थिए ।
Post a Comment