0
गोल्डेन न्यूज संवाददाता
भूकम्पले पर्यटन क्षेत्रमा असर पारेसँगै आर्थिक संकट आईपरेको भन्दै पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थासँग राहतका कार्यक्रम ल्याउन आग्रह गरेका छन् । व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको भाका सार्न र ब्याजदरमा पुनर्विचार गर्न आग्रह गरेका छन् । पोखराका पर्यटन व्यवसायी सहभागी पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) ले बुधबार पोखराका बैंक तथा वित्तीय संस्थासँग छलफल गर्दै ऋण तिर्ने अवधि र ब्याजदरमा परिवर्तन गर्न व्यवसायीले आग्रह गरे । पर्यटक अभावमा आम्दानी घटेकोले ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै पुनर्विचार गर्न व्यवसायीले आग्रह गरे । पिटिआरसीका मिडिया संयोजक टिकाराम सापकोटाले पर्यटनले विश्वबजारमा असर पार्ने भएकोले अहिलेको अप्ठेरो सहज बनाउन वित्तीय संस्थाले सघाउनुपर्ने बताए । उनले पर्यटन क्षेत्रको पुनर्जागरण नभएसम्म व्यवसायी आर्थिक रुपमा बलियो नहुने बताए । पिटिआरसीका संयोजक गणेश बहादुर भट्टराइले व्यापार व्यवसाय बन्द गरेर बस्दा झनै शून्यता आउने भएकोले व्यवसायीले बाध्यताका बाबजुत पनि संचालन गर्नुपरेको बताए । सुनसान भएको लेकसाइडको अर्थतन्त्र चलायमान बनाउनका लागि व्यवसायीले विभिन्न गतिविधि गरेको उनले बताए । उनले पोखरामा पर्यटक भिœयाउका लागि छिमेकी मुलुकहरुमा प्रवद्र्धनात्मक गतिविधि गर्ने बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटन क्षेत्रले खर्च धान्नेगरि संचालन हुन कम्तिमा ५० प्रतिशत होटलमा अकुपेन्सी हुनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याजदरमा पुनर्विचार गरेको खण्डमा अहिलेको समस्या केहि सहज हुने बताए । कम्तिमा ६ महिनाका लागि ऋणको भाका बढाइदिने र ब्याजको अवधि पनि थपिदिएको खण्डमा आर्थिक रुपमा टाट पल्टिएको पर्यटन क्षेत्रले राहतको महसूस गर्ने बताए । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) का अध्यक्ष गोपिबहादुर भट्टराइले पर्यटन व्यवसायी र वित्तीय संस्था सबै सहजै चल्ने गरि पुर्नबिचार गर्न सुझाव दिए । उनले अहिलेको संकट टार्न वित्तीय संस्था र पर्यटन व्यवसायी एकअर्कासँग हातेमालो गर्नुपर्ने बताए । नेपाल एशोासिएशन अफ टुर्स एण्ड टूाभल एजेन्टस (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि पर्यटन क्षेत्र गम्भिर आर्थिक संकटमा परेकोले एकवर्षका लागि भाका सारिदिन आग्रह गरे । उनले पर्यटन क्षेत्रमा भएका गतिविधि सबै शून्यजस्तै रहेको बताए । त्यस्तै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले पर्यटन क्षेत्रलाई राहत हुनेगरि वित्तीय संस्थाले कार्यक्रम ल्याउनुपर्ने बताए । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराइले अहिलेको संकटको बेला वित्तीय संस्थाले ब्जाजदर बढाउनुको साटो राहतमुखी कार्यक्रम ल्याउनुपर्ने बताए । कुनैपनि ब्यवसायीले ऋण र ब्याजदर नतिर्ने नभनेकोले पुनर्विचार गर्न आग्रह मात्र गरेको बताए । छलफलमा सहभागी गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले भूकम्पले व्यवसायी मात्र नभई वित्तीय संस्था पनि संकटमा परेको बताए । व्यवसायी पीडामा परेको बेला बैंक तथा वित्तीय संस्था पनि चोखो रहन नसकेको बताए । व्यवसायीले ऋणको किस्ता अवधि बढाउन र ब्याजदरमा पुनर्विचार गर्न गरेको आग्रहलाई नियमनकारी निकाय नेपाल राष्ट्रबैंकले मात्र सम्बोधन गर्न सक्ने उनले बताए । उनले कुनैपनि हालतमा व्यवसायीले भनेजस्तो एकवर्ष भाका अवधि बढाउन सम्भव नरहेको बताए । वित्तीय संस्थाले पर्यटन व्यवासायीको मात्र ऋणको भाका थपेर नहुने बताए । अरु सर्वसाधारण जनताको अवस्था पनि उस्तै रहेकोले व्यवसायीको जस्तो माग सर्वसाधारणले राख्दा समस्या हुनसक्ने उनले बताए । मेगा बैंक पोखराका समिर केसीले अग्ला र मापदण्ड विपरित बनाइएका अग्ला भवनमा राज्यले मापदण्ड नतोकेसम्म वित्तीय संस्थाले अब लगानीमा सोच्न बाध्य हुने बताए । उनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्र्धन गरेर पर्यटक भिœयाउनुपर्ने बताए । कैलाश विकास बैंकका बुद्धि बरालले भौतिक रुपमा क्षति नपुगेपनि आर्थिक रुपमा पोखरालाई भूकम्पले असर पारेको बताए । माछापुच्छे« बैंकका जय सापकोटाले अन्तर्राष्ट्रिय संचार माध्यमले अहिलेको पर्यटन ब्यापार बिगारेको आरोप लगाए । उनले संचारमाध्यमलाई विश्वासमा लिएर काम गर्न सुझाए । सिटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले व्यवसायीले संकटका लागि पूर्वतयारी नगर्दा अहिलेको अप्ठेरोमा बढि हतासिएको बताए । उनले पनि राष्ट्रबैंकको निर्देशन बाहिर रहेर कुनैपनि निर्णय गर्न नसक्ने बताए । राष्ट्र बैंकले निर्देशन दिएको खण्डमा थोरै समयका लागि ऋणको भाकामा समय दिन सकिने बताए । राष्ट्रबैंक पोखराकी निर्देशक निलम तिमिल्सेनाले पनि नाफा नोक्सानको मूल्याङ्कन गरेर व्यवसायी अघि बढ्नुपर्ने बताईन । उनले सर्वसाधारणको पैसा जोखिममा नपर्नेगरि वित्तीय संस्थाले काम गर्नुपर्ने बताइन । अहिलेसम्म राष्ट्रबैंकले कुनैपनि निर्देशन जारी नगरेकोले अहिले नै भाका सार्ने र ब्याजदरमा परिवर्तन गर्न सक्ने आधार नरहेको बताइन । उनले केन्द्रीय बैंकले कतै न कतै राहत हुनेगरि निर्देशन जारी गर्ने भएकोले अहिले नै हतास नहुन व्यवसायीलाई सुझाव दिइन ।

Post a Comment

 
Top