अघिल्लो वर्षको तुलनामा वर्ष २०७१ मा गुरुङ चलचित्र
निर्माण हुने क्रम घटेको छ । वर्ष ०७० मा १५ गुरुङ चलचित्र जिफानमा दर्ता भएकोमा वर्ष ०७१ मा जिफानमा दर्ता भएका गुरुङ चलचित्रको संख्या ९ रहेको गुरुङ फिल्म एशोसिएशन (जिफान) का अध्यक्ष वेदबहादुर गुरुङ श्याम बताउँछन् । जुन वर्ष ०७० को भन्दा ६ ले कमी हो । वर्ष २०७१ मा जिफानमा दर्ता भएका गुरुङ चलचित्रमा माओत्स गुरुङ फिल्मस प्रा.लि.को व्यानरमा जुनी–जुनी, स्वेच्छा फिल्मस प्रा.लि.को व्यानरमा आच्यो (कान्छा), अभियान फिल्मस प्रा.लि.को व्यानरमा युम्पो देउराली (ढुङगे देउराली), लर्फु फिल्मस प्रा.लि.को व्यानरमा समीङही (श्रीमान÷श्रीमती), मुक्ति मनोज फिल्मस प्रा.लि.को व्यानरमा थु (साथी), ओस्कार म्युजिक एण्ड फिल्मस प्रा.लि.को व्यानरमा कर्म रेखा, माओत्स गुरुङ फिल्मस प्रा.लि.को व्यानरमा नरे रहेका छन् । त्यस्तैगरी मास्यो, र मुँई (पैसा) चलचित्र पनि यो वर्षनै दर्ता भएका हुन् । यस मध्ये मास्यो पहिलेनै प्रर्दशन भएर जिफानमा दर्ता भएको हो भने मुँई (पैसा) छायांकनको क्रममा रहेको छ । समीङही (श्रीमान÷श्रीमती) जेठ ३१ गते प्रदर्शन हुदैछ भने थु (साथी) जेठ ९ गते प्रर्दशन हुँदैछ । नरे र कर्मरेखा प्रर्दशन हुने क्रममा छन् । अन्य बाँकी चलचित्रको प्रर्दशन भैसकेको छ । गुरुङ संस्कृतिमा आधारित तर जिफानमा दर्ता नभएको चलचित्रमा यमफावती, बलेनी, मेरो जीवन, लेकाली ?, बारपाकी माया रहेका छन् ।अघिल्लो वर्षको तुलनामा यो वर्ष चलचित्र निर्माण र प्रर्दशनमा कमि भएको गुरुङ चलचित्रकर्मी बताउँछन् । गुरुङ चलचित्र क्षेत्रको लागि वर्ष ०७१ सुखद् नभएपनि वर्ष ०७२ ले केही उर्जा पक्कै थप्ने आशामा गुरुङ चलचित्रकर्मी रहेका छन् । गुरुङ चलचित्रले संख्यात्मक रुपमा फड्को मारेपनि गुणस्तरीय रुपमा भने प्रगति हुन नसकेको गुनासो बारम्बार आउने गरेका छन् । यसरी निर्माण भएका चलचित्र मध्ये गुरुङ संस्कृति तर नेपाली भाषामा बनेका चलचित्रको व्यापार बढी देखिन्छ । तर यस्ता चलचित्र जिफानमा दर्ता भने हुँदैनन् । त्यसोत जिफानका अध्यक्ष श्याम वर्ष ०७१ गुरुङ चलचित्रको लागि मध्ययम रहेको बताउँछन् । नले चलचित्रको निर्माण कहिले बढ्ने र कहिले घट्ने हुने गरेको बताए । ‘सोखका लागि निर्माण गर्ने क्रम रहेकोले यस्तो भएको हो’–उनले भने । आफ्नै प्रोडक्शन हाउस हुनेले निरन्तरता दिने गरेको उनको भनाइ छ । व्यवसायिक प्रोडक्शन हाउसले कम लगानिमा चलचित्र निर्माण गर्ने गरेकोले व्यवसायीक कलाकारको उत्पादनमा असर पारेको उनी सुनाउँछन् । हुनत केहि चलचित्रको लगानी नउठेको कारण पनि निर्माण क्रम घटेको हुनसक्ने उनको तर्क छ । गूरुङ्ग भाषा को आफ्नै लिपि नभएकोले गूरुङ्ग भाषा र संस्कृती चलचित्रमा सिमित हुन थालेको दावी उनले गरे । ‘गुरुङ भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेको छ’–उनले चिन्ता व्यक्त गरे । अधिकांश गुरुङलाई गुरुङ भाषा र संस्कृती थाहा नभएको र यस्को संरक्षण चलचित्रले केहि हदसम्म गरेको उनले बताए ।गुरुङ चलचित्रको मुख्य बजार कास्की जिल्लानै रहेको छ भने यस्का अलावा काठमाण्डौँ, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा, गोर्खा, पर्वत, चितवन, रुपन्देही, नवलपरासीमा समेत गुरुङ चलचित्रको बजार राम्रै रहेको छ । पछिल्ला दिनमा भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा समेत गुरुङ चलचित्रको प्रदर्शन गरी राम्रै आम्दानी हुन थालेको चलचित्रकर्मी बताउँछन् । गुरुङ चलचित्र हङकङ, जापान, कोरीया, युके, खाडी मुलुकमा रहेका नेपाली माझ प्रदर्शन गरी मनग्य आम्दानी गर्ने गरिन्छ । गुरुङ चलचित्रको सीमित बजार भएको कारण च्यारिटी शो मा भर पर्नु परेको छ । पब्लिक शो का लागि कुरा आएपनि ठूलो मार्केट नभएर त्यो सम्भव नभएको उनले सुनाए । अधिकांश चलचित्रले लगानि उठाएको उनको दावी छ ।गुरुङ चलचित्रको इतिहास समेत त्यति लामो छैन २०५२ सालमा ‘पाते’ चलचित्रबाट गुरुङ चलचित्रको निर्माण आरम्भ भएको थियो । मगर भाषाको पहिलो चलचित्र निर्देशन गरेका युवराज मास्के मगरले यो चलचित्र निर्माण गरेका थिए । अहिलेसम्म हेर्दा आदिवासी चलचित्रमा बढी संख्यामा बनेको चलचित्र गुरुङ भाषाकै हो । झण्डै २० वर्षको इतिहास बनाएको गुरुङ चलचित्रले यो अवधिमा उल्लेख्य मात्रामा प्रगती हासील समेत ग¥यो । हालसम्म एक सय २० भन्दा बढी गुरुङ चलचित्रको निर्माण भैसकेको छ भने केहि गुरुङ चलचित्र निर्माणाधीन अवस्थामा रहेका छन् । हाल गुरुङ चलचित्रका निर्देशकमा माओत्से गुरुङ, प्रितम गुरुङ, लोक बहादुर गुरुङ, श्याम गुरुङ, कृष्ण कुमार गुरुङ, भोज बहादुर गुरुङ, युग गुरुङ, सुवास गुरुङ, खोज बहादुर गुरुङ, नरजंग गुरुङ, गुञ्ज गुरुङ, रामबाबु गुरुङ, केश बहादुर गुरुङ, बलबहादुर गुरुङ लगायतका गुरुङ निर्देशकहरु क्रियाशील छन् । यसरी निर्माण भएका गुरुङ चलचित्रहरुमध्य विग बजेटका चलचित्रले लगानी उठाउन नसकेपनि ७ देखि १० लाख सम्मको लगानीमा निर्माण गरिएका चलचित्रले भने लगानी उठाउन सफल भएको देखिन्छ । कम्तिमा ७ लाखदेखि बढीमा २५ लाख सम्मका गुरुङ चलचित्र बनिरहेका छन् । गुरुङ चलचित्र निर्माण गर्ने व्यक्ति र छायाङ्कन समेत बढी मात्रामा गण्डकी अञ्चलममा हुने गर्दछ । गुरुङ चलचित्र र त्यसमा काम गर्ने चलचित्रकर्मीहरुलाई अघि बढ्न सजिलो होस् भन्ने हेतुले २०६५ सालमा गुरुङ फिल्म एशोसिएशन (जिफान) स्थापना गरिएको छ । जिफानले गुरुङ चलचित्रको मात्र नभई गुरुङ कला, संस्कृतीलाई समेत चलचित्रको माध्यमबाट दर्शकमाझ पस्कने काम गरेको छ । यसले गुरुङ कला र संस्कृतिको बारेमा नयाँपीढिलाई जानकारी लिने विश्वास समेत संस्थाको छ । हुनत गुरुङ चलचित्र हेर्नेमा गैर गुरुङको संख्या पनि पछिल्ला दिनमा बढेको छ । अभियाननै चलाएर हालसम्म जिफानमा साधारण सदस्य ३ सय र आजिवन झण्डै १ सय ५० जना रहेको जिफान अध्यक्ष श्यामको भनाइ छ । जिफानको स्थापनाले गुरुङ चलचित्र प्रर्दशन गर्न तथा चलचित्रमा काम गर्ने चलचित्र कर्मीलाई अगाडि बढ्न सहजता प्रदान गरेको छ । गुरुङ चलचित्र मात्र हैन गुरुङ गीतको लोकप्रियता पनि यतिबेला बढेको छ । पर्यटन र गाउँ सम्बन्धि गीतमा गुरुङ कला संस्कृतीलाई झल्काउने गरीएको देखिन्छ भने त्यस्ता गीत चर्चित समेत बनेका छन् । त्यसोत गुरुङ गीतको रेकडिङ हुने क्रममा समेत ०७० सालमा व्यापक वृद्धि भएको छ । यो वर्ष ४० को हाराहारीमा गुरुङ गीत रेकडिङ्ग भएको श्यामले बताए ।
Post a Comment