म्याग्दी र मुस्ताङलाई समेटिएको बेनी–जोमसोम पद्मार्गको वैकल्पिक रुटका रूपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अन्तर्गत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । पदमार्गले पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमङ्गले गाविस समेटिएको छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १० लाख बजेटबाट यो वर्ष रुइसे, भेडिओढार हुँदै मुटुकाटेसम्म र चिमखोलाको फेदीदेखि पैराखर्क हुँदै दहबुकीसम्म पदमार्ग निर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष धुव्रकुमार पाइजाले बताए । उनका अनुसार गत वर्ष टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र जिविसको रु सात लाख लगानीमा बेगको धुरीदेखि पछेत्राडिल, पानी डाक्ने डाँडा, दोबाको खोलाखर्क, सोबाङ धुरी हुँदै ल्होसो धुरीसम्म पदमार्ग निर्माण गरिएको थियो । “प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम सकिएको छ, नक्साङ्कन गरी सूचनामूलक सङ्केतबोर्ड राख्न सके सजिलै पर्यटक घुम्न सक्छन्” उनले भने । पदमार्ग व्यवस्थापन समितिले सङ्केतबोर्ड राख्न नक्साङ्कनका लागि सहयोग गर्न टान पश्चिाञ्चललाई आग्रह गरेको छ । यहाँ भम्रणमा आउने पर्यटक रुइसे, पछेत्राधुरी, खोलाखर्क, सोबाङधुरी, ल्होस र दहबुकीमा क्याम्पिङ गर्नसक्ने छन् । दहबुकीबाट मुस्ताङको लेते, म्याग्दीको कुइनेमङ्गले हुँदै चिमखोलाको फेदी हुँदै फर्किन सकिने व्यवस्थापन समितिका अध्यक्ष पाइजाको भनाइ छ । पदयात्राअन्तर्गत तीन हजार ८०० मिटर उचाइको सोबाङधुरी, चार हजार ५०० मिटर उचाइको दहबुकी जस्ता अग्ला ठाउँहरू प्राकृतिक भ्यू टावरका रूपमा रहेका छन् । सड्क सञ्जालले नछुने यस पदमार्गलाई कुमारी पदमार्गका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रलाई समेत समेटिएको साहसिक पदयात्राको रूपमा लिइने यस पदमार्गको प्रचारप्रसार र आवश्यक पूर्वाधार र सुविधा विस्तार गर्न सके म्याग्दी र मुस्ताङको पर्यटन विकासमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment