गोल्डेन न्यूज संवाददात
कास्की रेडक्रसले भूकम्प पीडितका नाममा संकलन गरेको जिन्सी र नगदको वितरणमा लापर्वाही गरेको आरोप लागिरहेका बेला सोही संस्थाले विभिन्न मितिमा सार्वजनिक गरेको विवरणले समेत त्यसलाई पुष्टि गरेको छ । विशेषगरि भूकम्प पीडित हरुका लागि आवश्यक पर्ने त्रिपाल र कम्मलको खरिद र वितरणमा लापर्वाही देखिएको छ । पहिलो भएको गल्तीलाई ढाकछोप गर्न कास्की रेडक्रसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि विवरण सार्वजनिक गरेको भएपनि उक्त विवरण त्यसअघि सार्वजनिक गरिएका विवरण भन्दा फरक रहेकोले पनि रेडक्रसका केही पदाधिकारीको मिलेमतोमा त्यस्तो भएको स्पष्ट हुन्छ । कास्की रेडक्रसले मंगलबार सार्वजनिक गरेको विवरणमा ६४७ वटा त्रिपालमात्र खरिद गरिएको उल्लेख गरेपनि कार्यालयमा विभिन्न मितिमा खर्च गरिएको विवरण हेर्दा १ हजार ४८ थान त्रिपाल गरिएको देखिन्छ तर ४ सय थान त्रिपाल केन्द्रबाट प्राप्त भएका कारण त्यसलाई पूर्ति गर्न खर्च विवरणमा उल्लेख गरिएको संस्थाका सभापति वामदेव ढुङ्गानाले जानकारी दिए । ७ लाख ४८ हजार ७ सय ५० रुपैयाँको सामान खरिद नगरिएपनि खर्च विवरणमा राखिएको बताउँदै उनले सोसाइटीका कोषाध्यक्ष धर्मराज अधिकारी रहेको र कोषाध्यक्षले सबै हिसाव किताव हेरिरहेकोले अनियमितता नभएको दावी गरे । उनले सामानको खरिद गर्ने काम भने कर्मचारीले नै गर्दै आएको जानकारी दिए । खर्च नै नगरिएको रकम समेत खर्च विवरणमा राखिएको जिज्ञासामा उनले केन्द्रबाट प्राप्त त्रिपालको सट्टाभर्ना गर्नका लागि खातामा रकम राखेर पनि खर्च गरिएको विवरण देखाईएको बताए । रेडक्रसका कायाृलय प्रमुख खेमराज सापकोटाले आफूले सबै विवरण अध्ययन नगरि केही बताउन नसक्ने भन्दै थप जानकारी दिन चाहेनन् । यसैबीच कास्की रेडक्रको गतिविधिका बारेमा समाचार प्रकाशित भएपछि कास्की रेडक्रसले पहिलो पटक विभिन्न सामान खरिद गर्नका लागि टेण्डर आह्वान गरेको छ । यसअघि व्यक्तिगत सम्बन्धका आधारमा लाखौं रुपैयाँको सामान खरिद गरिएको भएपनि विभिन्न क्षेत्रबाट गुनासो बढेपछि सोसाइटीको कास्की शाखाले पहिलो पटक त्रिपाल, कम्मल तथा चामल दाल, आलु, तेल, नुन र बेसार जस्ता खाद्यन्न सामाग्री खरिद गर्नका लागि शिलवन्दी दरभाउपत्र आह्वान गरेको छ । यसले पनि रेडक्रसकर्मीलाई थप पारदर्शी र इमान्दार बन्ने बाटो खुलेको छ ।
Post a Comment