0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सातौं राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता विहीबारबाट सुरु भएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार नै सम्पन्न मार्चपासमा सैनिक आवासीय महाविद्यालय फूलबारी प्रथम, हिलपोइण्ट हाइस्कुल द्वितीय र फिस्टेल एकेडेमी तृतीय भएका छन् । मार्चपासमा आठ विद्यालयको सहभागिता रहेको थियो । यस्तै छात्रतर्फको १५ सय मिटर दौडमा टप्स उमाविका अतित परियार प्रथम, कास्की मोडनाइज एकेडेमीका आशिष थापा द्वितीय र कालिका उमाविका भीम क्षेत्री तृतीय भए।छात्रातर्फको इभेन्टमा गौरीशंकर उमावि हेमजाका जमुना कुँवर प्रथम, एकता सेकेण्डरी बोर्डिङ स्कुलका सजिना तामाङ द्वितीय र पृथ्वीनारायण मावि धम्पुसका पार्वती भण्डारी तृतीय भएका छन् ।एक सय मिटर दौडमा छातर्फ चिल्डून्स एकेडेमीका सविन गुरुङ प्रथम, सैनिक आवासीयका सिद्धान्त अधिकारी द्वितीय र बालोदय उमाविका राजन थापा तृतीय भए । छात्रातर्फको सोही इभेन्टमा टप्स उमाविका शशी चौधरी प्रथम, कास्की मोडनाइज एकेडेमीका सृजना क्षत्री द्वितीय र गौरीशंकर उमाविका रञ्जना घले तृतीय भएका छन् । यसअघि प्रतियोगिता को उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भूकम्पले आहत पारेको बेला खेलकुद गतिविधिले तनाव हटाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले प्रकृतिको यो विपतमा केहीमात्रामा भए पनि विद्यार्थीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ कि भनेर प्रतियोगिता आयोजना गरिएको बताए । सो अवसरमा खेलाडीको तर्फबाट राष्ट्रिय भलिबल खेलाडी मनिषा चौधरी र अफिसियलको तर्फबाट एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लले सपथग्रहण गरेका थिए ।विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि प्रजिअ राउत, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, नेपाली सेनाको नयाँ गोरखगण फूलबारीका सुनिलसिंह राठौर प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट र एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीलगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिशिअ अम्बिकाप्रसाद आचार्यले स्वागत र कार्यालय प्रमुख प्रकाश बरालले कार्यक्रम सञ्चालन गरेका थिए । जेठ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ४५ विद्यालयको सहभागिता रहेको छ । जसमध्ये सरकारीतर्फ २८ र निजीतर्फ १७ विद्यालय छन् । क्षेत्रगत रूपमा क्षेत्र नं. १ बाट तीन, क्षेत्र नं. २ बाट १५, क्षेत्र नं. ३ बाट नौ तथा क्षेत्र नं. ४ बाट १८ विद्यालयले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा उक्त प्रतियोगिता शुरु भएको हो ।

Post a Comment

 
Top