0


गोल्डेन न्यूज संवाददाता
पोखरा २ जेठ ।
    नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२ बाट पोखराका पत्रकार नविन सिग्देल सम्मानित भएका छन् । सिग्देललाई शनिबार पोखरामा आयोजित एक कार्यक्रमका २५ हजार रुपैयाँ नगद र ताम्रपत्र सहितको उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङ, नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापा, प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा, स्व.गजेन्द्र भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावलीले संयुक्त रुपमा सिग्देललाई सम्मान गरेका थिए ।  वि.सं.२०५६ सालमा हाम्रो जमर्को मासिक र प्राकृत पोखरा साप्ताहिक पत्रिकाबाट पत्रकारिताको यात्रमा लागेका सिग्देलले पोखरा र बाहिरका विभिन्न छापा र विद्यूतीय संचार माध्यममा काम गरिसकेका छन् । उनी हाल पोखराबाट प्रकाशन हुने आदर्श समाज दैनिकको प्रमुख समाचार दाताको रुपमा कार्यरत छन् ।

      पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गुरुङले यो राष्ट्रिय विपतको बेला पुनःनिर्माणमा नेपाली नै लाग्नुपर्ने बताए । ‘राष्ट्रिय विपद्को वेला नेपालीले माग्ने होईन पुनःनिर्माणमा जुट्नुपर्ने बेला आएको छ’ उनले भने–‘नेपालीहरु माग्ने परम्पराबाट टाढै रहनुपर्दछ ।’ सभासद् नै त्रिपाल लिन लाईन वसेको सुन्दा आफू लज्जित बनेको बताउँदै उनले यो विपद्मा सभासद् आफ्नो क्षेत्रमा खटिनुपर्नेमा जोड दिए । उनले विनाशकारी भूकम्पका कारण १० लाख नेपालीमात्र विस्थापित भएकाले बाँकी साढे दुई करोडले समस्यामा परेकालाई सहयोग गर्नुपर्नेमा जोड दिंदै मुलुकको प्रगतिका लागि सबै नेपाली एक हुनुपर्ने बताए । विदेशीले दिएको राहतलेमात्र देशको उन्नति हुन नसक्ने भन्दै गुरुङले नेपाललाई हाइटी जस्तो हुन नदिन सबैको सामूहिक प्रयास आवश्यक रहेको स्पष्ट पारे ।
       नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाले पोखराका पुराना पत्रकार जगन्नाथ सिग्देलको स्मरण गर्दै  उनको उत्तराधिकारी बन्न पुरस्कृत सिग्देललाई सुझाव दिए । उनले मुलुकमा एकताको भावना खलवलिन नदिन तथा नेपालको नवनिर्माणका लागि सरकारभित्र र बाहिर रहेका सबैले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको स्पष्ट पारे । स्वर्गीय पत्रकार भण्डारीलाई आफ्नो बालशखा भएको भन्दै भण्डारी निडर स्वभावको व्यक्ति भएको बताए ।    
       प्रेस काउन्सिल नेपालका सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी  माधव शर्माले पोखराको प्रतिभालाई स्थानीयको रुपमा चित्रण नगर्न आग्रह गर्दै पुरस्कारले राष्ट्रिय महत्व पाएको बताए । प्रतिभा छनौट समितिका संयोजक समेत रहेका शर्माले पुरस्कार स्थापना गर्ने परिवारजनले दुःख मान्नुपर्ने अवस्था नरहेको बताए । एमाओवादी कास्कीका नेता विश्वप्रकाश लामिछानले सम्मानित व्यक्तित्व सिग्देलले सबै क्षेत्रमा कलम चलाउने व्यक्तिको रुपमा परिचित भएको बताए ।
       सम्मानित व्यक्तित्व नविन सिग्देलले पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको बताउँदै पत्रकारिताको यात्रालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्व कोषाध्यक्ष राजु भण्डारीले महासंघ भवनको एक कक्ष राजु भण्डारी कक्ष बनाउनका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने बताए ।
       कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले मुलुकमा राष्ट्रिय विपत्ति आएकोले जनतालाई आत्मविश्वास जगाउने, नेपालको नवनिर्माणका लागि उत्साहि बनाउने र राष्ट्रको भविष्य छ भनेर दूरदृष्टि दिने साहसिलो राष्ट्रिय नेताको आवश्यकता रहेको बताए । पुरस्कृत पत्रकार सिग्देलको चिनारी दिनेक्रममा उनले डेढ दशकदेखि पत्रकारितामा संलग्न सिग्देलले विभिन्न संचारमाध्यममा काम गरेको र विभिन्न पुरस्कार समेत प्राप्त गरेको बताउँदै राजनीति र पत्रकारितालाई संगसंगै अगाडि बढाइरहेको बताए ।
      पुरस्कारको संस्थापक तथा स्व.गजेन्द्र भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारीले पुरस्कार राष्ट्रियस्तरको बनाएका कारण पोखरा बाहिरकालाई पनि पुरस्कृत गर्न र कार्यक्रमको व्यवस्थापन राम्रो बनाउन आयोजकलाई सुझाव दिएकी थिइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रुद्र भट्ट र शुष्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार राजबहादुर गुरुङ, नेपाल प्रेस युनियका केनष रमेश पौडेल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी कास्कीका उपाध्यक्ष रामजी लम्साल क्रान्तिकारी पत्रकार संघकी केन्द्रीय सदस्य गोमा घिमिरे लगायतले आ–आफ्ना भनाइ राखेका थिए । महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत र सचिव त्रिभुवन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top