विपद व्यवस्थापनमा युवा पुन निमार्णका लागि स्वयंसेवा अन्तर्गत बुधबार कास्कीमा ८ वटा सामुदायिक विद्यालयमा ३० वटा अस्थायी राहत कक्षाकोठा निर्माण भएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षति पुगेका कास्कीका विद्यालयमा बुधबार उक्त अस्थायी राहत कक्षा निर्माण गरिएको युवा स्वयंसेवा समन्वय उपसमिति कास्कीका संयोजक दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार शनिबारसम्म कास्कीमा थप ११ वटा द्यिालयमा राहत कक्षा कोठा तथा पुनःनिर्माण हुने भएको छ । कास्कीका विभिन्न संघसंस्थाको सहयोग तथा युवाहरुको सहकार्यमा अस्थायी राहत कक्षा कोठा निर्माण शुरु गरिएको हो । भुकम्पले भवन भत्किएर विद्यालय सञ्चालनमा कठिनाई भएपछि युवाहरुको पहलमा एक संस्था एक विद्यालय नीति अनुसार कक्षा कोठा निर्माण गरिंदैछ । जसअनुसार बुधबार विभिन्न ठाउँका ८ वटा विद्यालयमा ३० वटा कक्षा कोठा निर्माण गरिने युवा स्वयंसेवा समन्वय उपसमिति कास्कीका संयोजक श्रेष्ठले जानकारी दिए । यसअघि चापाकोटको पञ्चकोशी निमाविमा युवा स्वयंसेवाको टोलीले अस्थायी राहत कक्षा कोठा निर्माण गरेको थियो भने नागरिक समाज पोखराको टोलीले मंगलबार हेमजाको हिमालय प्रा.वि.मा भत्केको दुई कोठा मर्मत गरेको हो । कास्कीमा २१ विद्यालयमा अस्थायी राहत कक्षा कोठा निर्माण गर्ने योजना रहेको छ । बुधबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सहितको टोलीले कास्कीका भत्केका विद्यालयहरुको अवलोकन गर्दै पुनःनिर्माणमा जुटेकाको प्रयासको स्रहाना गरेका थिए । क्षेत्रीय प्रशासक थपलियाले कास्कीबाट सुरु भएको यो अभियानलाई समिक्षा गरी अति प्रभावित अन्य जिल्लामा पनि अनुकरणीय गरिने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले आर्थिक अभियन्ता, सामाजिक अभियन्ता र युवा अभियन्ताको उत्साहलाई राजनीतिक नेतृत्वले सहजीकरण गर्न सके यो विपदको व्यवस्थापन चाँडै हुने बताए ।सहारा क्लव र ड्यामसाईड युवा क्लवले कास्कीको ल्वाङ्गघलेल स्थित सरस्वती नि.मा.वि.मा संयुक्त रुपमा अस्थायी राहत कक्षा कोठा निर्माण गरेका छन् । सामुदायिक सेवा केन्द्र बगरको टोलीले सल्यानको जनजागृति प्रा.वि., स्टिल फेब्रिकेसन समिति कास्कीको टोली सल्यानकै सल्लेरी प्राविमा अस्थायी कक्षा कोठा निर्माण गरेका हुन । यसैगरी, अखिल क्रान्तिकारी कास्कीको टोलीले दाङसिङस्थित भगवती मा.वि., अनेरास्ववियूको टोलीले मकैखोला स्थित जनकल्याण उच्च मा.वि. र युवा जागरण पोखराको टोलीले चापाकोटस्थित पिपलडाली प्रा.वि.मा अस्थायी कक्षा कोठा निर्माण गरेका हुन् । बाँकी विद्यालय मध्ये कास्कीको ल्वाङ्गघलेल स्थित शिवशंकर प्राविमा कास्की जिल्ला टेनिस संघको सहयोगमा कक्षा कोठा निर्माण गरिनेछ । त्यस्तै पोखरा २५ स्थित पुम्दीको युवा ज्योति प्राविमा रोटरी क्लवल अफ न्यूरोडले, कालिकाको विद्याज्योति निमाविमा रोट्र¥याक्ट क्लव अफ मिट टाउनले, माझठानाको विश्वज्योति प्राविमा कम्युनिटी सपोर्ट गुु्रप पोखराले, आर्वाको नवदुर्गा प्रा.वि.मा टोल समन्वय समिति वडा नम्बर ७ र ९ ले, सार्दिखोलास्थित कृष्ण महादेव प्रा.वि.मा मानव मिलन नारी जागरण नेपालले, सिद्धको महेन्द्र माविमा समन्वय नेपालले, लेखनाथको अरुणज्योति प्रा.वि.मा नेपाल विद्यार्थी संघले, मिजुरेको नारायण नि.मा.वि.मा एसओएस तालिम केन्द्रले र भलामको जनचेतना प्राविमा पोखरा जेसिजले सहयोग गर्ने युवा स्वयंसेवा समन्वय उपसमिति कास्कीका संयोजक श्रेष्ठले बताए । अस्थायी राहत कक्षा कोठा निर्माण गर्न नेपाल रेडक्रस सोसाईटी कास्कीले आवश्यक पर्ने त्रिपाल, फेवा फाईनान्सले २ लाख ५१ हजार १ सय ५१ रुपैयाँ मूल्य बराबरको चित्रा उपलब्ध गराउने, बाबा फाउण्डेसनले सिमेन्ट र ब्लक उपलब्ध गराउने, जिल्ला टेनिस संघले सुकेको बाँस उपलब्ध गराउने, निर्माण व्यवसायी समितिले दक्ष जनशक्ति उपलब्ध गराउँदै छ । त्यस्तै पोखरा हार्डवेयर एशोसिएशनले हार्डवेयर सामाग्री उपलब्ध गराउने छ । यसैगरी बैशाख १२ गते गएको भुकम्पले कास्कीका ९० वटा भन्दा बढी बिद्यालयहरुका भवन क्षतिग्रस्त बनेको र ती बिद्यालयहरुको पठन–पाठनमा समेत समस्या सृजना भएको अवस्थामा पोखरा उपमहानगरपालिका वडा नं. २६ सराङ्गकोट तोरीपानी स्थित शारदा प्राथमिक विद्यालयलाई सिद्धार्थ क्लव पोखराको आयोजना र नेपाल स्काउटको संयुक्त परिचालनमा तीन कोठे अस्थायी विद्यालय निर्माण गरिएको छ । प्रकोपबाट बच्नका लागि हरेक ब्यक्तिहरुले आफ्नो दैनिकीलाई सेवामा समर्पित गनुपर्ने भन्दै सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले “युवा स्वयं सेवा समन्वय उप–समिति” मार्फत हाल कास्कीमा हाल सम्म ६० वटा संस्थाहरुले ६१ वटा विद्यालय निर्माणका लागि प्रतिबद्ध भएको जानकारी दिए । कार्यक्रममा नेपाल स्काउटका क्षेत्रीय तालिम प्रशिक्षक शिब बहादुर भण्डारीले स्काउट हरेक सामाजिक क्रियाकलापमा समर्पित रहँदै आएको र बिपत्तिमा रहेका हर–कोही लाई सेवा गर्नु स्काउट लगायत हामी सबैको मानवीय धर्म भएको उनले बताए । सो अवसरमा क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले नवनिर्मित भवन विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए भने अध्यक्ष तिमिल्सिनाले अस्थायी विद्यालय निर्माण कार्यमा सामाजिक संस्थाले गरेको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरे । अस्थाई विद्यालय निर्माणका लागि स्थानीय महिला अधिकार मञ्च, एक्टीभिष्टा कास्की, आमा समूह, अभिभावक, विद्यालयका शिक्षक, नेपाल स्काउट र सिद्धार्थ क्लबका कार्यसमिति पदाधिकारी, सदस्य तथा सामाजिक कार्यकर्ताहरु गरी ७० जना भन्दा बढीको सहभागिता सहयोग रहेको थियो भने क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया, प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भवन निर्माणका लागि गरिएको काम र विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» कास्कीका विभिन्न विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण तीव्र
Subscribe to:
Post Comments (Atom)
Post a Comment