0
जसको अभिभावकत्वमा हुर्केका सन्तान हुन् तिनीहरू एकातर्फ टुहुरा भएका छन् । अर्कोतर्फ पोखरेली साहित्यको एउटा पाटो अपाङ्ग बनेको समय छ अहिले । आखिर समय समय नै हो । हिजो आफ्नो अभिभावक ठानेर बस्नेहरूका धरोहर बनेका व्यक्तित्वको अवसान भएको मात्र हो । आज सिङ्गो पोखरा विलखबन्दमा परेको छ । जसको एउटै कारण भनेको प्रगतिशिल विचारधाराका अग्रज साहित्यकार घनश्याम ढकाल गुमाएको समय छ आजको समय । मैले उहाँको बारेमा धेरै जानेको छैन । मेरो उहाँसँगको त्यति नजिकैको सामीप्यता रहने अवसर पनि मिलेन केही पुस्तक अध्ययनको क्रममा परे । जसको माध्यमबाट जति चिनियो त्यही नै मेरो र ढकाल सरबीचको चिनारी हो । आखिर उहाँसँग चिनजान र देख भेट गराउने माध्यम भनेको साहित्य श्रृङ्खलाले नै हो । साहित्य श्रृङ्खला पोखराका केही कार्यक्रमहरूमा मैले ढकाल सरसँग साक्षात्कार गर्ने मौका पाएँ । त्यसमा आफूलाई भाग्यमानी ठानेको थिएँ । समयले भाग्यमानी ठान्ने अवसर दिदाँदिदै त्यही समयले कोल्टे फेरेको पत्तो लागेन । वि.स. २०६८ फागुन १ गते सहिद सप्ताह मनाउन जाँदा निधन भयो । भोलि पल्टका अखबारले समाचार छापे । ‘सहिद सप्ताह मनाउन जाँदा सहिदका पिताको निधन’ पोखराको आर्दश समाजले महत्वका साथ समाचार थाप्यो । झलक्क सम्झे उहाँको साहित्यिक क्रान्तिको अधुरो र अपूरो सपना । दुर्घटनामा परेर निधन हुनुभन्दा अगाडि नै मलाई साहित्यिक क्रान्तिको मोहले प्रभाव पारेको थियो उहाँको साक्षात्कारबाट । एउटा लेखकको मृत्यु सुनेर दुःख लाग्यो । निधनले प्रगतिवादी साहित्यले एक धरोहर नै गुमायो, साहित्यिक क्रान्तिको क्षण कुरेर बसेका युवा पुस्ताले क्रान्ति नायक र अभियन्ता गुमाए । त्यसपछिका सन्दर्भ त जोडेर टुङ्गो लाग्ने ठेगान छैन । यहाँ उहाँको साहित्य, कला र चिन्तनका विषयमा मात्र केही कोर्ने प्रयास गरिएको छ ।नश्याम सरसँगको मेरो औपचारिक सम्बन्ध पहिलो पटक वि.स. २०६५ सालमा भएको थियो । सोही क्रममा मैले सङ्घर्षमा कलम पत्रिकाको पहिलो अड्ढ दिने र उहाँको सौन्दर्य शास्त्रको आँखीझ्याल पुस्तक लिने काम भएको थियो । जहाँ सौन्दर्य शास्त्रको आँखीझ्याल पुस्तकले मलाई केही सौन्दर्यका कुरा सिकायो नै । साहित्य श्रृङ्खलाका श्रृङ्खलाहरूमा उहाँसँगको भेट बढ्दै जाँदा माक्र्सवादी साहित्यको सौन्दर्य, चिन्तन र त्यसका आधारभूत शब्दावलीबारे थोरबहुत जान्ने बुझ्ने मौका मैले पाएँ । उहाँको गम्भीर र अन्तरमुखीपनले उहाँको चिनारी दिएको थियो । जहाँ उहाँका कुराबाट मलाई पनि क्रमश प्रभाव पार्दै गएको थियो ।उहाँले पोखरामा रहेर गण्डकी साहित्य सड्डमको स्थापना र विकासमा पु¥याउनु भएको योगदानमा कसैले दुई मत राख्न सक्दैन । त्यसैको सम्मानका खातिर आज स्मृती ग्रन्थ प्रकाशन गर्दै गर्दा मैले उहाँको सम्मानका खातिर यी शब्दहरू पोखेको छु । पोखरामा रहेर गण्डकी साहित्य संगमको मातहतमा हरेर सम्पादन गरिएका समीक्षा ग्रन्थ जसलाई अध्ययनमा पार्नेहरूले जति ढकाल सरलाई चिनेका छन् त्यति यो थिरथिर गर्दै गरेको कलमले चिन्न सकेको छैन । फेरि अर्को कुरा थोरबहुत चिनेकै आधारमा गरिएको मनगढन्ते कुराले पनि उहाँको कुनै पनि पक्षमा आँच पु¥याउनु भएन । त्यसैले म त्यो हिम्मत राख्न सक्दिन । मैले नजिकैबाट देखेको, उहाँले उठान गरेका विषयलाई मात्र समेट्नु पर्ने ठानेको छु ।निधन हुनुभन्दा दुई महिना अगाडिको साहित्य श्रृङ्खलामा उहाँले उठान गरेको कुराले मनमा राँको बालेको थियो । उहाँले भन्नु भएको थियो – ‘नेपालका हरेक कुना कन्दरामा ठूला–ठूला मेला र महोत्सवहरू हुने गरेका छन् त्यहाँ साहित्यलाई कुनै स्थान दिइएको छैन । अब साहित्यिक क्रान्ति नै गर्नुपर्ने हो कि जस्तो बेला आएको छ त्यसलाई कसरी अगाडि बढाउने हो छलफल र सरसल्लाह आवश्यक छ ।’ यही शब्द नै मेरा लागि साहित्यिक क्रान्तिको पहिलो र अन्तिम शब्द भयो घनश्याम सरसँगको। हुन पनि हो पछिल्लो समय हरेक हप्ताहप्तामा हुने कुनै पनि मेला र महोत्सवहरूले साहित्यलाई स्थान दिएनन् । यसमा साहित्य सिर्जनामा जीवन नै समपर्ण गर्न लागेका स्रजकको चिन्तन हुनु समयको माग थियो ।विषय अत्यन्त समयसान्दर्भिक र जटिल हो तर पनि यसलाई त्यति महत्वका साथ लिएको देखिएको छैन । किनकि पछिल्लो समय पोखरेली साहित्यमा विविध वादहरू देखापरेका छन् । जसको प्रत्यक्ष प्रभाव आखिर पोखरेली साहित्यको स्तरोन्नतिका लागि नै पार्ने हो । त्यो हुँदा यहाँ चाहे घनश्याम सरले उठान गरेको कुरा होस् चाहे अन्य कुनै स्रष्टाले त्यसैले साहित्यलाई माया गर्नेहरूले अब उहाँले देखाएको बाटोमा हिँड्नु नै पर्ने हुन्छ र त्यसका लागि प्रयास गर्नु नै पर्ने समय आएको छ । हो, साहित्य साधनाको कुरा गर्दा उहाँले माक्र्सवादको शास्त्रीय धारा समातेर कलम चलाउनुभयो । त्यो भन्दैमा सबै दायित्व भनेको त्यही धारावादीहरूको हो भनेर हात धुनु भनेको । रुखको टुप्पोमा बसेर फेद काट्न खोज्नु सरहबाहेक अरु केही पनि होइन । उनका अनुयायी भीम ज्यालादारी भन्छन्ः– ढकाल सरले कस्तो राम्रो कुरा उठाउनु भएको थियो। अब यसलाई कसरी पूरा गर्ने हो । यो दायित्व हाम्रो काधमा आएको छ ।’ यसबाट प्रष्ट हुन्छ उहाँले आफूले अङ्गालेको धारले आफैमा अनुयायीहरूमा कस्तो छाप पार्न सक्ने कला पक्ष थियो भन्ने कुरा । जसको इतिहास मैले पोखरामा बेलेको देखेको छु र भोलि पनि बलिरहने छ । कोही समालोचकहरूले उहाँले धेरै किताब लेख्नुभयो, छाप्नुभयो तर पाठक भने शास्त्रीय धाराका र सीमित पाउनुभयो भनेर समीक्षा गरेको पनि देखियो । आखिर त्यहाँ जीवनवादी, माक्र्सवादी, प्रगतिवादी वा समानान्तर होस् जुन भए पनि नेपाली साहित्यको उत्थानका लागि गरिएको पहल हो । त्यसैले ढकाल सरले उठाएको कुरालाई माक्सवादी धाराको विचार भनेर सिंो पोखरा पन्छिन मिल्दैन ।पोखरामा साहित्य श्रृङ्खलाले आफ्ना हरेक श्रृङ्खलाहरूलाई विभिन्न साहित्यकारहरूका स्मृति श्रृङ्खलाको रुपमा प्रस्तुत गरेको छ तर अब त्यसले मात्र उहाँको सम्मानका खातिर स्मृति दिवस मनाएर हुँदैन । किनकि उहाँले पोखरामा चालेको अभियान पोखरेली महाभारत बनेको छ। त्यो महाभारतको जति चर्चा गर्न सकिन्छ त्यति नै जीवन्त बन्छ ।हरेक व्यक्तिका आफ्ना सिद्धान्त हुन्छन् । त्यसमा दुई मत छैन । उहाँले पोखरामा रहेर आफ्नो सिद्धान्तनुरुपको जमात खडा गर्नुभयो । त्यो पनि अत्यन्त राम्रो हो । सङ्गठित हुनु र कार्य सञ्चालन गर्नु सबैको लागि राम्रो हो । एउटा असल लेखकले जुनसुकै वादको पक्षमा लेखे पनि नेपाली साहित्यको उत्थानका लागि गरिएको प्रयास हो त्यसैले गर्दा ढकाल सरले उठाएको सन्दर्भलाई जोडदारका साथ अगाडि बढाउनु समयको माग हो । पोखरामा साहित्यक वातावरणको माहोल सिर्जना गर्ने हस्तीमध्ये घनश्याम ढकालको पनि नाम केही व्यक्तिहरूले मात्र लिएर हुँदैन । यस्ता मूर्धन्य साहित्यिक चिन्तकको निधनले सिंगो नेपाल दुखित भएको छ त्यो मात्र होइन सबैभन्दा धेरै पोखरा दुःखी भएको छ । उहाँले उठाएको साहित्यिक क्रान्तिको प्रसङ्ग उहाँका शुभचिन्तक सबै समक्ष पुगोस् मेरो सतत् कामना !
साभार ः सुनाखरी मासिक
    (साहि¬ित्यक पत्रिका)

Post a Comment

 
Top