0
भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा सबै एकजुट भएर लागिपर्न विज्ञहरुले सुझाएका छन् । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संगठन ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) का पदाधिकारीले सकारात्मक सन्देश  प्रवाह हुनेगरि सबै मिलेर प्रवद्र्धन गर्न सुझाए । पाटाका उपाध्यक्ष एन्ड्र्यु जोन्सले पर्यटकका लागि यतिबेला सुरक्षित क्षेत्रबारे सकारात्मक सन्देश चाहिएकोले सबै मिलेर ती क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भूकम्पले पर्यटन क्षेत्रमा निकै असर पारेकोले सकारात्मक सन्देशको पर्खाइमा रहेका पर्यटकलाई जानकारी दिलाउनुपर्ने बताए । ‘भूकम्पपछि पर्यटन क्षेत्रमा परेको असरलाई कम गर्न सकारात्मक सन्देश प्रवाहको खाँचो छ’ उनले भने, ‘त्यसका लागि सबै पर्यटन व्यवसायी एकजुट भएर प्रवद्र्धनका कार्यक्रम गर्नुपर्छ ।’ सकारात्मक सन्देश प्रवाह गरेर पर्यटकलाई बोलाउनुपर्ने उनले बताए । पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी) र अन्य पर्यटन व्यवसायीसँग मंगलबार भएको छलफलमा जोन्सले भूकम्पको असर परेपनि अन्नपूर्ण क्षेत्र र पोखरा सुरक्षित रहेकोले सुरक्षित क्षेत्रबारे सन्देश फैलाउनुपर्ने बताए । अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको बारे धेरैलाई थाहा नभएकोले अबको आवश्यकता सुरक्षित स्थानबारे जानकारी दिनु रहेको उनले बताए । संकट व्यवस्थापनका अनुभवि उनले फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंका लगायत देशमा प्राकृतिक विपत्ति तथा युद्धपछि पुनरुत्थानमा काम गरेका थिए । पोखराका व्यवसायीले छुट घोषणा गरेकाले छुट भन्दा पनि प्याकेज थप्नु उपयुक्त हुने उनको सुझाव छ । ‘मूल्य घटाउनु त्यत्ति उपयुक्त नहुन सक्छ । तर प्याकेजलाई बिस्तार गर्नु सकारात्मक हुनसक्छ’ उनले भने । पाटाका नेपाल च्याप्टर अध्यक्ष सुमन पाण्डेले पोखरा, चिवतन, लुम्बिनीका पर्यटन व्यवसायी मिलेर संयुक्त प्रवद्र्धनमा लाग्नुपर्ने बताए । भूकम्प गएपनि मनास्लु, लाङटाङ र सगरमाथा क्षेत्रबाहेक अन्यत्र सुरक्षित रहेकोले त्यसबारेमा जानकारी दिनुपर्ने बताए । विभिन्न व्यवसायीक क्षेत्रले यतिबेला पर्यटकीय र्पूर्वाधारको बारेमा जानकारि संकलन गरिरहेकोले त्यसबारेमा जानकारी दिनुपर्ने उनले बताए । ‘सुरक्षित रहेका टे«किङ रुटको बारेमा जानकारि दिनुपर्छ । अहिले नेपाल नै ध्वस्त भएको होइन । तर सन्देश सबै सक्किएको भन्ने छ’ उनले भने ।  भत्किएका संरचना पनि पूर्ण रुपमा हेर्न नहुने अवस्थामा नरहेकोले ती संरचनालाई छिटै पहिलेकै अवस्थामा ल्याउन पहल गरिरहेको उनले बताए ।

Post a Comment

 
Top