0





गत शनिबार नेपालमा आएको महाभुकम्पका कारण यसवर्षको मजदूर दिवस सोचेअनुरुप मजदूरहरुले मनाउन सकेनन् । मजदूरहरुले भुकम्पमा परि मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्नुबाहेक अन्य कुनैपनि औपचारिक कार्यक्रम हुन पाएन । हरेक देश निर्माणको मुख्य आधार मजदूरहरु नै हुन् । भौतिक संरचना निर्माणदेखि कलकारखाना सञ्चालन आदि सबैमा मजदूरको भूमिका निर्णायक हुन्छ । पूँजी र श्रमको यथोचित परिचालनबाट मात्रै उत्पादन सम्भव छ । यसर्थ कुनै पनि कामका लागि पूँजी र श्रमको सम्मान उत्तिकै हुनुपर्ने हो तर नेपालमा हुन सकेको छैन । श्रमको यथोचित सम्मान नहुँदा श्रमिकहरुको अवस्था दयनीय बन्दै जाने र श्रमिककै श्रमबाट पूँजीपतिले पूँजी थप्दै जाने स्थिति सिर्जना भएको छ । मुलुकको पूँजी रक्षाका लागि लगानीकर्ताले जे जति उपाय अपनाउँछ, श्रमिकको श्रम रक्षाका लागि त्यति नै ध्यान दिनु आवश्यक छ । नेपालको सन्दर्भमा मजदूरहरुको भूमिका उत्पादन र निर्माणमा मात्र छैन, ठूलाठूला राजनीतिक परिवर्तनमा पनि ठूलो भूमिका छ । त्यसैले नेपालका मजदूरहरुको परिधि श्रम र उत्पादनमा मात्र सीमित छैन, राज्यसत्ता सञ्चालनमा समेत यिनीहरुले हक राख्न पाउँछन् । बिडम्बना नै भन्नुपर्छ, निर्णायक घडीमा चाहिने मजदूरहरुलाई अरु बेला बेवास्ता गरिन्छ । अझ उनीहरुले उठाउने जायज आवाजहरुलाई विकास बिरोधीको संज्ञा दिएर बलात दमन गर्ने प्रयास गरिन्छ । देश निर्माणका निर्णायक शक्ति यिनै मजदूरहरुले एक दिन भए पनि आफ्नो आवाज सार्वजनिक गर्ने गर्दछन् । मजदूर दिवसलाई नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय मजदूर दिवसको रुपमा मनाइन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदूरहरुले मे १ सन् १८८६ मा आम हड्ताल आह्वान गरेको दिनको सम्झनामा यो दिवस मनाइन्छ । अमेरिकी मजदूरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए । अन्ततः मजदूरहरुका माग पूरा गर्न त्यहाँको सरकार तयार भयो । सन् १८८९ मा पेरिसमा भएको संसारभरिका मजदूर प्रतिनिधिहरुको बैठकले मजदूरहरुले निर्णायक आन्दोलनको शुरुवात गरेको सम्झनामा मे १ लाई अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको रुपमा संसारभर मनाउने निर्णय गरेको थियो । त्यतिबेलादेखि नै विश्वभरि यो दिवस मनाउन थालिए पनि नेपालमा सन् १९६३ देखि यो दिवस मनाउन शुरु गरिएको हो । दिवस मनाउनु एउटा सन्दर्भको उठान गर्नु हो । नेपाली मजदूरहरुको अवस्थाको समीक्षा गर्नुअघि अहिलेको फेरिएको सामाजिक स्वरुपको अध्ययन गरिनुपर्छ । सवा सय वर्षअघिको जस्तो अब आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन नेपाली मजदूरहरुको मुख्य एजेण्डा होइन । यो एजेण्डा त्यसै पनि स्थापित भइसकेकाले यसलाई बचाइरहनुपर्छ नै तर योभन्दा कैयौं जटिल मुद्दाहरु अहिले अगाडि आएका छन् । अहिले नेपाली मजदूरहरुको दायरा यति बिस्तार भएको छ कि देशभित्रको सानो कुटिर उद्योगदेखि विश्वका कैयन देशहरुमा नेपाली श्रमिकले काम गरिरहेका छन् । नेपाली मजदूरहरु जो जहाँ कार्यरत छन् भने वैधानिकरुपमै तीस लाखभन्दा बढी नेपाली मजदूर विदेशमा छन् भने अवैधानिकरुपमा गएकासहित यो संख्या ५० लाख बढी छ । झण्डै तीन करोड जनसंख्या रहेको मुलुकमा आधा करोड जनसंख्या विदेशमा काम गर्न बाध्य हुनु नेपालको ठूलो चुनौती हो । देशभित्रकै मजदूरहरुको सवाल पनि झञ्झन् गम्भीर बन्दै छ । महंगी बढेको छ, आवश्यकताहरु एकपछि अर्को बढेका छन् । तर श्रमिकको ज्याला उल्लेख्य बढेको छैन । बढेको छ तर त्यसले निरन्तरता नपाउने स्थिति छ । लगानीकर्ताले आफ्नो पूँजी सुरक्षाका लागि बिमा गराउँछ तर मजदूरको बीमा अनिवार्य ठानिदैन । यस्ता तमाम प्रकारका समस्याले नेपाली मजदूरहरुको भौतिक र पेशागत चुनौती अझ थपिएको देखिन्छ । यो चुनौती हटाउन राज्यले बनाएको कानून प्रभावकारीरुपमा लागु गर्नु आवश्यक छ । यसरी हेर्दा नेपालमा मजदूरहरुको अवस्था सुधार गर्न तीन तरीकाले काम गर्नु आवश्यक छ । पहिलो, मजदूरहरुको भौतिक र पेशागत सुरक्षाको सुनिश्चितता गरिनुपर्छ । दोस्रो, तत्कालका लागि मात्र होइन दीर्घकालीनरुपमा मजदूरहरुको जीवनस्तर उकास्ने नीति बनाइनुपर्छ । जसका लागि राज्यको अनुदानदेखि विभिन्न कार्यक्रम हुनसक्छन् । विदेशमा रहेका नेपालीहरुले पठाएको बिप्रेषणको सुरक्षित लगानी गरेर उनीहरुलाई नेपालभित्रै स्वरोजगारीको बाटोमा अघि बढाउने उपाय हुुनसक्छन् । तेस्रो, विभिन्न क्षेत्रको जस्तै राज्यसत्तामा मजदूरहरुको पनि सहभागिताको सुनिश्चितता गरिनुपर्छ । राजनीतिक आन्दोलनमा निर्णायक भूमिका दिएर प्रयोग गरिने मजदूरहरुलाई राज्यसत्ता सञ्चालनमा पनि भूमिका दिंदा उनीहरुले राज्यसंयन्त्रलाई मजदूरमैत्री बनाउन भूमिका निर्वाह गर्न सक्छन् ।

Post a Comment

 
Top