0







भीष्मराज ओझा
यही वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पबाट चर्केका सहरका ठूला घर तथा भवनको मर्मत कार्य प्राविधिकको सल्लाहपछि मात्र सुरु गर्न विज्ञहरुले सुझाव दिएका छन् । भूकम्पबाट चर्किएका घरहरुमा मानिस बस्न मिल्ने, नमिल्ने र सर्तक भएर बस्न हुन्छ भन्ने सुझाव दिनका लागि घरघरमा पुगेर निरिक्षण गरेका प्राविधिक टोलीले क्षति भएका घरमा घरधनीले आफूखुशी सामान्य मर्मत गरेर सुचारु गरे पुनः अर्काे खतरा निम्तन सक्ने बताएका छन् ।नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई ध्रुवराज थापाले भूकम्पबाट क्षतिग्रस्त घर तथा भवनको यथोचित पुनःनिर्माण र मर्मत सम्भारका लागि प्राविधिक ज्ञान र सुझाव आवश्यक हुने बताउँदै क्षतिग्रस्त घर राम्ररी उपयुक्त प्रविधिबाट मर्मत भएन भने यसबाट थप क्षति हुने जानकारी दिए । एसोसिएसनले हाल भवन निर्माण तथा सहरी विकास विभागको समन्वयमा ‘जनतासँग इन्जिनियर’ अभियानमार्फत भूकम्पबाट क्षतिग्रस्त भौतिक घरको विश्लेषण गरी घरधनीलाई बस्न हुने वा नहुने सम्बन्धमा निःशुल्क जानकारी दिन ‘दू्रत लेखाजोखा मूल्याङ्कन’ (¥यापिड भिजुअल एससमेण्ट) गरिरहेको छ । एसोसिएसनले आयोजना गरेको  पत्रकार सम्मेलनमा पहिलो चरणमा सो कार्य चार÷पाँच दिनमा सम्पन्न हुने र दोस्रो चरणको कार्य ‘क्षतिको विस्तृत विश्लेषण एवम् मर्मत’ का लागि आगामी आइतबारदेखि स्वयम्सेवी रुपमा खटिएका मध्ये पाँच सय इन्जिनियरलाई एक हप्ते तालिम दिइ कार्य सुरु गर्ने अध्यक्ष थापाले बताए । क्षतिग्रस्त भवनको यथोचित मर्मत सम्भारको लागि बढीभन्दा बढी सम्बद्ध विशेषज्ञ इन्जिनियर बजारमा उपलब्ध गराउन आवश्यक भएको महसुश गरी एसोसिएसनले इन्जिनियरलाई सो तालिम प्रदान गरी पुनःनिर्माण कार्यमा परिचालन गर्ने बताएको छ । एसोसिएसनले हालसम्म उपत्यकामा मात्र तीन हजारभन्दा बढी इन्जिनियर परिचालन गरी भक्तपुरमा सात हजार १५०, काठमाडौँमा १४ हजार १६६, ललितपुरमा आठ हजार ९१२, गरी जम्मा ३० हजार २२८ घरधुरीमा पुगेर बस्न मिल्ने वा नमिल्ने बारेमा निरीक्षण गरिसकेको छ । सो तालिमपश्चात एशोसिएसनले सम्बद्ध विशेषज्ञ इन्जिनियरको सूची तयार गरी सर्वसाधारणले उक्त सूचीमा रहेका विशेषज्ञबाट सिधै सम्पर्क गरी प्राविधिक परामर्श सेवा प्राप्त गर्न सक्ने एसोसिएसनका महासचिव ई किशोरकुमार झाले बताए ।हालसम्मको पहिलो चरणको ‘दू्रत लेखाजोखा मूल्याङ्कन’ कार्य पूर्ण रुपमा निःशुल्क गरिएको बताउँदै महासचिव झाले यसपछिको विज्ञ इन्जिनियरको परामर्शका लागि भने सर्वसाधारणले न्यूनतम शुल्क तिर्नुपर्ने जानकारी दिए । पहिलो चरणमा इन्जिनियरले मानिसको प्राथमिक उपचार जस्तै चर्केका घरको सामान्य जाँच मात्र गरेको जानकारी दिँदै उनले प्राविधिकको सल्लाहबिना आफै वा सामान्य ज्यामीबाट मर्मत गरे घरको वास्तविक मर्मत हुन नसक्ने दाबी गरे । एसोसिएसनले सरकारलाई मुलुकभर सम्बन्धित निकायबाट भवन निर्माण आचारसंहिता अनिवार्य रुपमा लागू गरी कार्यान्वयन गर्नुपर्ने र भूकम्पबाट क्षति भएका क्षेत्रमा एकीकृत वस्ती विकासको कार्यक्रम तत्काल अगाडि ल्याई कार्यान्वयनमा जानुपर्ने सुझावसमेत दिइएको छ । उपत्यकामा भूकम्पबाट क्षतिग्रस्त घरमध्ये ५१ प्रतिशत बस्न मिल्ने, २९ प्रतिशत आंशिक क्षति भएका र सतर्कतासाथ बस्न सकिने तथा २१ प्रतिशत बस्न योग्य नभएको अवस्थामा देखिएको एसोसिएसनले जनाएको छ । यस आँकडामा वैशाख २९ गते पुनः गएको ठूलो पराकम्पपश्चात् केही तलमाथि भएको छ । भूकम्पबाट क्षति भएका घरको हचुवाका आधारमा मर्मत गर्दा भूकम्पबाट घरमा भएको क्षतिलाई बलियो र सुरक्षित बनाउन नसकिने जानकारी दिँदै इन्जिनियर एवम् एसोसिएसनका कोषाध्यक्ष बिन्दु श्रेष्ठ भन्छन्–‘तालिम प्राप्त विज्ञ इन्जिनियरको आवश्यक परामर्श अनुसार गरिने मर्मत कार्य सामान्य मर्मत सरह नै लागत लाग्ने भएकाले इन्जिनियरको निरीक्षण पश्चात मर्मत गर्दा बुद्धिमानी हुन्छ ।” इन्जिनियरले वैज्ञानिक अध्ययन र घरको संरचनाअनुसार मर्मतका लागि आवश्यक परामर्श दिने भएकाले भूकम्पबाट घरमा भएको क्षतिलाई बलियो बनाउन सकिने उनको धारणा छ । एसोसिएसनले उपत्यका बाहेकका अन्य प्रभावित जिल्ला गोरखा, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, धादिङ, दोलखा, रसुवालगायत जिल्लामा समेत क्षतिग्रस्त भवनको निरीक्षण गरिरहेको छ । यता, अर्थमन्त्री डा रामशरण महतले यही वैशाख १२ गतेको भूकम्प र २९ गतेको पराकम्पन बाट भएको क्षतिलाई नवनिर्माणमा बदल्ने अठोट व्यक्त गरेका छन् ।  अर्थमन्त्री डा महतले भने–“आन्तरिक, वैदेशिक र अन्य सङ्घसंस्थाको साधन जुटाएर राष्टूको पुनःनिर्माणमा जान्छाँै, यो विपद्को समयलाई नवनिर्माणका लागि उपयोग गर्न हामी प्रयत्नशील छौँ,  त्यसका लागि सरकार कटिबद्ध छ ।” उनले नेपालका सहयोगीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर राष्ट्र पुनःनिर्माणको काममा हात अगाडि बढाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिने बताए । अर्थमन्त्री डा महतले राहत वितरणलाई पारदर्शी रूपमा जिल्ला जिल्लामा प्रभावकारी बनाइएको जानकारी दिए । उनले आगामी आवको बजेटलाई पुनः निर्माणमा केन्द्रित गरिने पनि स्पष्ट पारे । उनले भने–“यही महिना पटक–पटक गएको भूकम्पबाट राष्ट्रिय अर्थतन्त्रलाई नै धक्का पुगेको छ,  बजार बन्द भएको छ,  आर्थिक गतिविधि सुस्त भएको छ,  कतिपय उद्योग बन्द भएका छन्, उद्योगधन्दा बन्द व्यापार ठप्प छन् । राष्ट्रिय, ग्रामीण, सहरी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ, यसलाई पुनःस्थापना गर्नका लागि समय लाग्छ तर सरकार कटिबद्ध भएर पुनः निर्माणमा लाग्छ, हामी पुनःनिर्माणका लागि राष्ट्रिय कार्यक्रम बनाउँदैछौँ, त्यसका लागि विस्तृत कार्ययोजना बन्दै छ ।अन्तर्राष्ट्रिय सहयोग जुटाएर र नेपालको अन्तरिक स्रोत परिचालन गरेर रु दुई अर्बको कोषबाट प्रारम्भिक काम सुरु भएको बताउँदै उनले त्यसलाई प्रभावकारी बनाइने र  आगामी वर्षको बजेटलाई त्यही ढङ्गबाट अगाडि बढाउने जानकारी दिए । अन्तर्राष्ट्रिय सम्मेलन गरेर राष्ट्रिय पुनःनिर्माणको काममा हात अगाडि बढाउनका लागि अन्तर्राष्ट्रिय आह्वान गरिने बताउँदै उनले विपद्को समयलाई नेपालको नवनिर्माणका लागि उपयोग गर्न हामी सबै प्रयत्नशील र कटिबद्ध हुने र त्यसका लागि दलीय समन्वय गरेर अगाडि बढ्ने बताए ।

Post a Comment

 
Top