गोल्डेन न्यूज संवाददाता
भूकम्प र लगातारका परकम्पनबाट त्रसित भएका व्यक्तिका लागि शनिबार पोखरामा योगशिविर आयोजना गरियो । मानसिक रुपमा त्रसित भएका व्यक्तिलाई तनावबाट मुक्त गर्न शिविर गरिएको आयोजकले बताएको छ । पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी) ले भूकम्पको कम्पनबाट त्रसित भएका नागरिकका लागि योगशिविर संचालन गरेको हो । पोखरा र आसपास क्षेत्रका बासिन्दालाई लक्षित गर्दैै योग शिविरि गरिएको संयोजक नरेश भट्टराइले जानकारी दिए । उनका अनुसार लेकसाइड बसुन्धरापार्कमा आयोजित शिविरमा करिब ७ सय जनाको सहभागिता थियो । शिविरमा दी आर्ट अफ लिभिङका प्रशिक्षकले योग र प्रणायाम बारे प्रशिक्षण दिइएको भट्टराइले बताए । पोखरा र आसपासका क्षेत्रका गाविसका बासिन्दाले निःशुल्क रुपमा योगशिविरमा सहभागी भएको भट्टराईले बताए । योग शिविरले अरुभन्दा बढि महिला र बालबालिकालाई तनावबाट मुक्त गर्ने उनले बताए । ‘योगको प्रभाव निकै नै हुन्छ । यसले मान्छेलाई फुर्तिलो बनाउँछ’ उनले भने । समितिका इभेन्ट संयोजक गोपिबहादुर भट्टराइका अनुसार पोखरालाई भूकम्पको त्रासबाट मुक्त बनाएर सबैलाई काममा फर्कने वातावरण बनाउनका लागि विभिन्न कार्यक्रम गर्न थालिएको हो । ‘बच्चाहरु डराएर विद्यालय जान मानेका छैनन् । यस्तो त्रासको अवस्था छ’ उनले भने, ‘त्रासबाट मुक्त बनाउन पनि योगको प्रशिक्षण चाहिन्छ । त्यहि भएर योगशिविर संचालन गरिएको हो । शिविरमा उत्साहजनक सहभागिता रह्यो ।’ योग शिविरको माग आगामी दिनका लागि बढेको उनले बताए । उनले आगामि दिनमा अझै वृहत रुपमा पोखरामा योग शिविर आयोजना गरिने बताए । पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइको संयोजकत्वमा पोखरा पर्यटन पुनरुत्थान समिति बनेको हो । त्यहि समितिले योगशिविर देखि विभिन्न गतिविधि संचालन गरेको छ ।
Post a Comment