गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओवादी कास्की पार्टी अध्यक्षको नेतृत्वमा स्थायी टोलीनै बनाएर पुनर्निर्माणमा लाग्ने भएको छ । पुनःनिर्माणका लागि आवश्यक पर्ने भौतिक सामग्री पार्टीका शुभेच्छुक तथा सरकारी कार्यालयहरुमा समन्वय गरेर माओवादी आफैले जुटाउने भएको छ । पुर्ननिर्माणको टोली जनताको सेवामा खटिदा बस्ने र खाने ब्यबस्था आफै गर्ने र सामूहिक रुपमा मेस बनाएर खाना खाने निर्देशिका समेत एमाओवादी कास्कीले तयार गरेको छ । एनेकपा माओवादीको शनिबार पोखरामा भएको बिस्तारीत बैठकले अध्यक्ष दिपक कोइरालाको नेतृत्वमा पचास जनाको स्थायी टिम बनाएर, दुइ महिनासम्म जिल्लाभर पुनर्निर्माणमा लाग्ने निर्णय गरेको हो । स्थायी टिमले कास्कीमा भत्किएका जनताका घर, बिद्यालय तथा सार्वजनिक सम्पत्तीको पुर्ननिर्माण गर्नेछ । टोलीमा स्वास्थ्यकर्मी, पत्रकार, ओभरसियर तथा इञ्जिनियर समेत हुनेछन् ।स्वास्थ्यकर्मीले गाउँमा जनताको स्वास्थ्य उपचारमा समेत सहयोग गर्नेछन् । साथै टोलीमा सहभागी हुने सञ्चारकर्मीहरुले गाउँलेका समस्याहरु संचार माध्यममा पठाउन सहयोग गर्नेछन् । ‘पुनःनिर्माणको टोली जेठ र असार महिनाभरी गाउँमै खटिनेछ ।’ पार्टी अध्यक्ष दिपक कोइरालाले भने–‘एउटा केन्द्रमा कम्तीमा सात दिन बसेर पुर्ननिर्माणमा जुट्नेछौ ।’ उक्त अभियान कास्कीको क्षेत्र नम्बर १ बाट सुरु गरिने र दुइ महिनामा कास्कीका चार वटै निर्बाचन क्षेत्रमा सम्पन्न गरिने माओवादी कास्कीले जनाएको छ । माओवादीले बनाउने स्थायी टिममा कास्कीका जिल्ला स्तरीय नेताहरुको नेतृत्व रहनेछ । सहभागी ५० जना मध्ये कहिले धेरै हुन सक्ने र कम नहुने योजना माओवादी कास्कीले बनाएको छ । कुन गाउँमा के समस्या छ भन्ने कुरा हाल पार्टीको गाउँ र नगरका वडा कमिटी मार्फत रिपोर्ट सँकलन भइरहेको माओवादीले जनाएको छ । दुइ महिने अभियानले कास्कीमा पुर्ननिर्माणको काम क्षमताले भ्याए अनुसार पुरा गर्ने र ठुलो बजेट आवश्यक पर्ने कुरामा पार्टीकै नेतृत्वमा पहल गर्ने अध्यक्ष कोइरालाले जानकारी दिए ।
Post a Comment