0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय पुर्वाधारमा भारी छुट घोषणा गरेका पर्यटन व्यवसायीले पर्यटक घुम्दा लिईने शुल्कलाई पनि समायोजन गर्न आग्रह गरेका छन् । छुटले केहि हदसम्म भएपनि पर्यटक तान्ने भएकोले घुम्न जाँदा पर्यटकले तिर्नुपर्ने शुल्क मिनाहा गर्न उनीहरुले अनुरोध गरेका छन् । पोखरा पर्यटन पूनरुत्थान समिति (पिटिआरसी)ले सोमबार विभिन्न गुफा र अन्य सरोकारवालासँग गरेको छलफलमा यस्तो आग्रह गरिएको हो । पिटिआरसीका प्रशासनिक संयोजक अग्नी कँडेलले अन्नपूर्ण  संरक्षण क्षेत्र आयोजना (एक्याप), विभिन्न संग्रहालय, गुप्तेश्वर र डेभिजफल्स लगायतका क्षेत्रमा घुम्न जाँदा तिर्नुपर्ने शुल्क निशुल्क गर्न आग्रह गरेका छन् । उनले होटल, रेस्टुरेन्ट लगायतका पूर्वाधारले भारी छुट दिएकोले अब गुफा, म्यूजियम र पदयात्रामा जाँदा तिर्नुपर्ने शुल्क पनि घटाउन आग्रह गरेका थिए । छलफलमा बोल्दै टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष दीपक अधिकारीले पदयात्रा मार्ग सुरक्षित रहेकोले त्यसलाई केन्द्रबिन्दुमा राखेर प्रवद्र्धन गर्न सके पर्यटक ल्याउन सकिने बताए । डेभिजफल्स व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलले पर्यटकले तिरेको शुल्कको भरमा संचालित छोरेपाटन उच्चमावि पर्यटक नआएपछि आर्थिक संकटमा पर्न थालेको बताए । उनले उच्च माविमा कार्यरत शिक्षक कर्मचारीका लागि पारिश्रमिक खुवाउन समेत नसक्ने अवस्था रहेको बताए । वातावररण तथा समाज सुधार समितिका अध्यक्ष राजन पौडेलले विभिन्न सहरसम्म पोखराबाट सिधा हवाई उडान संचालन गर्न सके पोखरामा पाहुना आउने बताए । पोखरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत अनन्त कोइरालाले पोखराले भौतिक तथा मानवीय क्षति नभोगेपनि आर्थिक क्षति भोग्नुपरेको बताए । पोखरा उप–महानगरले स्थानीय सम्पदा घुमेबापत पर्यटकसँग शुल्क लिने नीति बनाउँदै गर्दा भूकम्प आएकोले अहिले नै त्यो लागू हुन नसकेको उनले बताए । पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उप–महानगरले पनि सहयोग गर्ने बताए । छलफलमा बोल्दै एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामाले केही ऐतिहासिक पूर्वाधारमा पनि क्षति पुगेको बताए । उनले अन्नपूर्ण क्षेत्रमा लिइने शुल्कको बारेमा पनि छलफल गरेर थप जानकारी गराउने बताए । गुप्तेश्वर गुफा व्यवस्थापन समिति उपाध्यक्ष रवीलाल श्रेष्ठले पनि पाहुना नभएर गुफाले चलाएको क्याम्पस आर्थिक संकटमा पर्न थालेको बताए । पिटिआरसीका सहसंयोजक विश्व पालिखेले चिन लगायतका मुलुकमा प्रवद्र्धनात्मक गतिविधि गर्ने योजना बनाएको जानकारी दिए । त्यस्तै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पनि पर्यटन क्षेत्रको विकासको लागि संघले सहकार्य गर्ने बचन दिए । उनले पोखराको विकासको लागि सबैजना एकजुट हुनुपर्ने बताए ।  छलफलमा बोल्दै पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराइले सबैतिर छुट गराएर पर्यटन क्षेत्रमा संगठित भएर लाग्ने तयारी गरेको बताए । उनले विभिन्न मूलूकबाट काठमाडौंसम्म हुने सिधा उडानमा पनि छुट गराउन पहल गर्ने बताए ।

Post a Comment

 
Top