0
नेपालमा महिलामाथि हुने हिंसामा अझैपनि कमि आउन सकेको छैन । दाङमा एकजना महिलामाथि निर्ममरुपमा दुव्र्यवहार भएको समाचार हालै सार्वजनिक भएको छ । गाउँका केही व्यक्तिहरु मिलेर उनलाई कालोमोसो दलेर गाउँ निकाला गरेका थिए । बिडम्बना ! उनीमाथि निर्ममरुपले दुव्र्यवहार भइरहँदा सिंगो गाउँ मूकदर्शक बन्यो । गाउँका एक पुरुषसँगको सम्बन्धको आशंकामा ती महिलामाथि त्यस्तो दुव्र्यवहार गरिएको देखिएको छ । केही दिनअघि आत्महत्या गरेका पुरुषसँग उनको सम्बन्धको आरोप ती महिलामाथि लगाइयो । ती पुरुषको आत्महत्यामा महिलाको दोष देखाउँदै गाउँलेहरुले ती महिलामाथि यो हदको दुव्र्यवहार गरे । दैनिक ज्याला मजदुरी गरेर परिवार धानेका ती महिलाको परिवारमाथि गाउँलेको दुव्र्यवहारले बिचल्ली आइपरेको छ । अझैपनि विभिन्न नाममा महिलामाथि हुने दुव्र्यवहारहरु रोकिएका छैनन् । मानवीय सभ्यतालाई नै लज्जित पार्ने खालका घटनाहरु हुन छाडेका छैनन् भन्ने कुरा यो पछिल्लो घटनाले पनि देखाउँछ । दाइजोको नाममा जिउँदै जल्नुपरेका घटना उस्तै छन् । बोक्सीको नाममा मानव मलमूत्र कोच्याउने, सामाजिक बहिष्कारदेखि गाउँ निकालासम्मका घटनाहरु सुनिन छाडेका छैनन् । सूचना र चेतनाका हिसाबले निकै अगाडि बढिसेकेको भनेर एक्काइसौं शताब्दीको चर्चा भइरहने यो समयमा यस्तो निकृष्ट प्रकारको दुव्र्यवहार महिलाहरुले भोग्नु परिरहेको कुरा सुनिन छाडेका छैनन् । हालै दाङमा भएको यो घटनाले हाम्रो समाजको कुरुप चरित्र उदांगो भएको छ । आज पनि हाम्रो समाजको लैंगिक सोच कति संकीर्ण छ भन्ने कुरा फेरि यो घटनाले पुष्टि गरेको छ । गाउँ समाजले मनलाग्दी ‘नैतिक’ र ‘अनैतिक’ सम्बन्धको परिभाषा गरेर शंकै शंकामा कैयौं महिलालाई प्रताडित गरिरहेको छ । महिला पुरुष दुबैका हकमा ‘नैतिक’ र ‘अनैतिक’को परिभाषा एउटै छैन । एउटै खालको अपराध गर्ने महिला र पुरुष भए महिला गाउँ निकालासम्मको दुव्र्यवहार सहन बाध्य हुन्छिन् भने पुरुषहरु समाजमा स–सम्मान स्थापित हुने वातावरण छँदैछ । अझ अर्को डरलाग्दो कुरा त के देखिएको छ भने महिलामाथि भइरहेका यस्ता हिंसाहरुमा ‘मिल्ने मिलाउने’ धन्दा फस्टाउँदो छ । यसरी ‘मिल्ने मिलाउने’ क्रममा अपराधीहरुले सजिलै उन्मुक्ति पाइरहेका छन् भने पीडितहरु झन् पीडित बन्दै गएका छन् । देउखुरीमा भएको यो घटनामा पनि ‘गाउँको कुरा गाउँमै मिलाउने’ कुरा गाउँलेहरुले गरेपछि आफ्नै आँखा अगाडि दुव्र्यवहार हुँदैगर्दा देख्ने प्रहरी मूकदर्शक मात्रै बनेन रित्तै फर्कियो । घटनालगत्तै पुगेर पनि रित्तै फर्किएको प्रहरी टोली दुव्र्यवहारमा संलग्न व्यक्तिको पहिचान गरेर नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रमुखको अर्को निर्देशन कुरेर बस्यो । यस्ता घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कुरामा प्रहरी प्रोएक्टिभ नहुनुले पनि यस्ता अपराधीको मनोबल बढ्ने वातावरण सिर्जना हुन पुगेको छ । जिल्लाको प्रहरी प्रमुखसम्म पुगेर आफ्नो गुनासो भन्न सक्ने कति पीडित महिला होलान् ? यस्ता पीडित महिलाहरु बिपन्न, बृद्धा, एक्ला हुनुले हामी सहजै अनुमान गर्न सक्छौं आफूमाथि भइरहेको दुव्र्यवहारबिरुद्ध प्रहरीसम्म पुग्न सक्ने महिला निकै कम छन् । यस्तोमा कानुनीरुपले दण्डनीय अपराध गर्नेहरु पनि छाती खोलेर भन्ने हिम्मत गर्न सक्छन् कि ‘हाम्रो कुरा हामी आफै मिलाउँछौं ।’ त्यहींनेर भइरहेको दण्डहीनतालाई न्यून गर्न प्रहरी प्रशासनको प्रोएक्टिभ भूमिका जरुरी हुन्छ । एउटी महिलालाई लखेटेर गाउँ निकाला गरिरहँदा सिंगो गाउँ मूकदर्शक बनेर बस्नु लाजमर्दो कुरा हो । यी र यस्ता घटनाहरुको साक्षी भइरहँदा हामी कस्तो समाजको प्रतिनिधित्व गर्दैछौं भन्ने कुराले हामी सबैलाई पिरोल्नुपर्छ । यस्ता घटना हुन नदिन हामी सबैको सचेत प्रयास जरुरी छ । सबैतिर भनिन्छ समाज बदल्नका लागि पहिलो पाइला आफैले उठाउनुपर्छ । सोचौं, हाम्रो त्यो पहिलो पाइला उठाउन अबेर त भएन ? त्यस्तै यस्ता घटना हुन नदिन दण्डहीनताको अन्त्य हुनुपर्छ । यस्ता घटनाहरु मिलाउनतिर भन्दा घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरीको भूमिका हुनुपर्छ । जुनसुकै अपराधमा पनि मिलापत्र गर्न तम्सने समाजका कथित अगुवाहरुलाई अझैपनि कानूनको दायरामा ल्याउन नसके यस्ता घटना कहिल्यै पनि न्युनिकरण हुन सक्दैन ।

Post a Comment

 
Top