गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले केन्द्रीय निर्देशन अनुसार कास्कीमा महाभूकम्पबाट पीडितहरुका लागि राहत सामाग्री तथा विद्यालयहरुको भौतिक संरचनाहरुको के कस्तो गतिमा अगाडि बढेको छ भन्ने बारेमा निरीक्षण तथा अनुगमन गरेको छ । केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईको नेतृत्वमा कास्की जिल्ला अन्तर्गत महाभूकम्पबाट पीडित नागरिक तथा सामुदायिक विद्यालयहरुको विवरण संकलन गर्ने र प्रत्येक नागरिकहरुलाई वर्षा ऋतु सुरु भैसकेको हुँदा कम्तिमा २ वण्डल स्तरीय जस्ता पाता उपलब्ध गराउन र विद्यालय निर्माणमा समेत राज्यद्वारा बचत निकासका लागि दवावमूलक अनुरोध गरेको छ । देश चरम संकटमा परिरहेको यस घडीलाई मध्यनजर गर्दै केन्द्रीय कार्यक्रम अनुसार कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत तथा पोखराउप–महानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर थापा मगरलाई ध्यानाकर्षण गराएको थियो । कास्कीमा अहिलेसम्म २ हजार ४ सय ९१ जनाले करिब ८५ लाख बराबरको राहत बुझिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिएको राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए । त्यसैगरी अनुगमन टोलीले कास्कीको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेललाई भेटी त्यहाँको विवरण संकलन गरेको छ । विवरण अनुसार लेखनाथमा २ सय ५१ पूर्ण क्षति, ८ सय २ आंशिक र ६ सय २० सामान्य क्षति गरेको बताए । अनुगमन टोलीमा जिल्ला अध्यक्ष जयलाल पुन, उपाध्यक्ष भोलाजंग सुवेदी, कोषाध्यक्ष धर्मेन्द्र थापा, सह–सचिव रञ्जना सेन पौडेल, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग रहेका थिए । स्मरण रहोस् राप्रपा नेपाल कास्कीले लमजुङ्गको इलम पोखरी, गोर्खाको भोर्लाङ्ग, कास्कीको ल्वाङघलेल, काहुँ लगायतका ठाउँमा राहत वितरण गरिसकेको छ ।
Post a Comment