0
गोल्डेन न्यूज संवाददाता
भूकम्पले घर भत्केका लुईंटेलका प्रेमबहादुर परियार हलगोरु लिएर मंगलबार बिहानै मेलामा निस्किए । छिमेकीको बारी जोतेर आएको पारिश्रमिक टहरो बनाउन खर्च गर्ने उनले सुनाए । उनकी श्रीमती प्याली परियार पनि ११ बजेबाट तोरी गोड्ने पर्म लगाउन जाने तयारीमा थिइन् । ‘आफ्नो बारीको तोरी पनि छिप्पिन लागेको छ,’ उनले भनिन्, ‘भारोपर्म गरेर काम गर्न पाए सजिलो हुन्छ ।’ प्रेमबहादुरको पाँचजनाको परिवार घर भत्केपछि त्रिपालमुनि बसेको छ । ‘सँधै त्रिपालमा जिन्दगी कट्दैन,’ उनले भने, ‘जागिर छैन । पहिले पनि मजुदरी गरेर घर उभ्याएको हो ।’ अहिलेछोराछोरीले पनि साथ दिने उनले बताए ।‘वर्षातभरिलाई ओत लाग्न कटेरो हाल्नु पर्ला,’ उनले भने, ‘हिउँद लागेपछि पक्की घर उभ्याउने विचार गरेको छु ।’ घर ढलेकोमा उनलाई खासै पीरचिन्ता छैन । हाँस्दै उनले भने,‘प्रकृतिको लिला भूकम्पसँग के रीसराग गर्नु ?’ हिउँदसम्म घर बनाउन सरकारले धेरैथोरै जस्तापाता सहयोग गर्नेमा उनी आशावादी छन् ।छेवेटार अमलापानीकी भगवती परियार पनि १० जना खेताला लिएर चर्को घाममा खेतमा जुटेकी थिइन् । ‘धान छिप्पिन लाग्यो । कति दिन भुइचालोसँग डराएर बस्ने ?’ उनले भनिन्, ‘बाँचेको दिनसम्म त खानै पर्रुयो ।’ अधियाँमा लगाएको चैते धान गोड्न उनले खेताला खोजेकी थिइन् । भगवतीका खेतालाहरु सबैको घर भत्केको छ । चर्को घाममा असिनपसिन भएर उनीहरु धानको गाँज वरिपरिको झार उखेल्दै थिए । उनकी सासु तुलसाले भनि, ‘भूकम्प कति बेला कसरी आउँछ थाहा हुँदैन रहेछ, कति दिन डराएर बाँच्ने ?’ बाँचेको दिनसम्म सकभर खुसी हुने प्रयत्न गर्नुपर्ने उनले बताइन् ।छोप्राक र अमलापानीकै छिमेकी धान गोड्न मेला आएका थिए । ‘बर्खा लाग्न लाग्यो, उब्जाएको अन्न भित्र्याउने घर पनि छैन,’ राममाया परियारले भनिन् । दरौंदी फाँटमा मंगलबार धेरै किसानहरु खेत गोडमेल गर्न, तरकारीमा मल, औषधी राख्न व्यस्त भेटिए । केटाकेटी गर्मी छल्न दरौंदी नदिमा डुबुल्कै मार्दै गरेका देखिए । बुढापाका र ठिटाठिटी गाइवस्तु गोठाला थिए । भूकम्पको कम्पन घट्दै गएपछि पुरानै दैनिकीमा फर्कन थालेको उनले बताइन । ‘भूकम्प आएदेखि यो फाँटमा कोही देखिदैंनथ्यो,’ राममायाले भनिन्, ‘दुई दिनदेखि धक्का आउन छाड्यो । मान्छे काममा निस्कन थालेका छन् ।’ मनमा डर भए पनि बिर्सन पर्ने तुलसाले बताईन् । ‘हामी नै डरायौं भने त केटाकेटी झन डराउँछन्,’ उनले भनिन, ‘अजम्बरी बुटी खाएर त को जन्मेको छ र ?’ ढिलोचाँडो मर्नु नै पर्ने भए पनि भूकम्पबाट जोगिन सावधान रहनुपर्ने उनले बताइन् । ‘चर्केको घरभित्र सुत्न त कहाँ मन मान्छ ? त्रिपालमै सुत्छौं,’ उनले भनिन् । ठाँटीपोखरीका टिकाबहादुर थापा अस्थायी बसोबासका लागि ट्रस बनाउन व्यस्त छन् । ‘सरकारले जस्तापाता दिन्छ भनेर कति दिन कुर्ने ? दिनदिनै झरी हाल्दैछ,’ उनले भने, ‘सरकारको के भर ?’ चर्केको घरमा राखनधरन गरेर टहरोमा सुत्नेबस्ने उनको योजना छ । मिरकोट चैतेफेदीका बाबुकाजी सार्की पनि चर्केर भत्किन लागेका घर मर्मत गर्न व्यस्त भेटिए । छोरा र नातिले उनलाई सघाएका छन् । सुत्न बस्नका लागि उनले टहरो बनाइसकेका छन् । ‘गाउँको घर कच्ची बनाएर पनि हुँदैन,’ उनले भने, ‘चोरीचकारी हुन्छ । पक्कीमा गरगहना, अन्नपात राख्ने । भूकम्पबाट जोगिन टहरोमा सुत्ने बस्ने ।’

Post a Comment

 
Top