गोल्डेन न्यूज संवाददाता
महाभूकम्पका कारण बारपाकदेखि कोदारीसम्मका पहिरो र हिमाली क्षेत्रमा सम्भावित हिमपहिरोको अध्ययन गर्न विदेशी विज्ञहरूको ओइरो लागेको छ । चिनियाँ प्रज्ञा प्रतिष्ठानका भूगर्भ्विद्ले पहिलो चरणको पहिरोको अध्ययन सकेर फर्किएको केही दिन नबित्दै अमेरिकी विश्वविद्यालयका आठभन्दा बढी प्राध्यापक तथा भूगर्भक्षेत्रका वैज्ञानिक पहिरोको जोखिम र हिमपहिरोबारे अध्ययन गर्न शुक्रबार काठमाडौं आउँदै छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ‘विपत् अध्ययन केन्द्र’का निर्देशक नगेन्द्रराज सिटौलाले शुक्रबार आउने विशेषज्ञले भूकम्पले अति प्रभावित गोरखादेखि दोलखासम्मका स्थानका बस्ती, भौगोलिक अवस्था, भूकम्पपछिका पहिरो, सम्भावित पहिरो र हिमपहिरोबारे अध्ययन गर्ने बताए । टोलीमा युनिभर्सिटी अफ इलिनोइसका प्रा. युसेफ हसास, लेटिस कन्सल्ट्यान्ट्स इन्टरनेसनलका डा. केभिन क्लहान, डा. क्रिस मादुगो, ओरेगन युनिभर्सिटीका डा. दीपक रायमाझी र बेन मासोन, प्रा. डोमनिकी असिमाकाई, डा. मेन्जेर पेह्लिभन र युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रा. डोग ड्रेगरलगायत छन्। क्यालिफोर्निया युनिभर्सिटीमा अध्यापनरत नेपाली विशेषज्ञ प्रा. विनोद तिवारीले केही दिनअघि नै नेपाल आएर पहिरोको अध्ययन सुरु गरिसकेका छन् ।‘भौतिक पूर्वाधार मन्त्रालय, इसिमोडलगायतसँग सहकार्य गरेर पहिरोको जोखिममा रहेको क्षेत्र, ठूला पहिरो जाने सम्भावना रहेको क्षेत्र र सम्भावित हिमपहिरोबारे अध्ययन गर्नेछौं,’ निर्देशक सिटौलाले सोमबार भने, ‘अध्ययनपछि सरकारलाई सुझावसहितको प्रतिवेदन दिइनेछ।’ यो टोली फर्किएपछि अझ उच्चस्तरका वैज्ञानिकहरूको तीनवटा समूह आउनेछन्। त्यो टोलीको नाम बी १, बी २ र सी दिइएको छ । यसअघि इसिमोड, नासा, यूएसजीएस, यूएसएआईडी लगायतले गरेको अध्ययनले भूकम्प प्रभावित क्षेत्रमा ३ हजारभन्दा बढी पहिरो आएको र तीमध्ये २ सय ५० को पहिचान भएको जानकारी सरकारलाई दिएका छन् । इन्जिनियरिङको अध्ययन संस्थानको विपत् अध्ययन केन्द्रका वैज्ञानिक र भूगर्भमा काम गर्ने विश्वभरका वैज्ञानिकहरूको छाता संगठन ‘जियोटेक्निकल एक्स्ट्रिम इभेन्ट रिकन्नासाइसेन्स’ (जीईईआर) ले संयुक्त रूपमा महाभूकम्पको केन्द्रविन्दु बारपाकदेखि सिन्धुपाल्चोक को कोदारीसम्मको राजमार्गसहित पहाडी क्षेत्रका बस्तीको अध्ययन गरेर सम्भावित जोखिम पहिचानमा सरकारलाई सहयोग गर्न लागेको हो । यसैबीच किफ्फर, क्यालिफोर्निया युनिभर्सिटीका प्रा. रोब मोस र केन्द्रका नेपाली विशेषज्ञहरूको टोलीले भूकम्पले असर गरेका गोरखादेखि दोलखासम्म देखिएका पहिरो र सम्भावित पहिरोबारे पहिलो चरणको अध्ययन गरेका थिए। अध्ययनमा सहभागी इन्जिनियरिङ अध्ययन संस्थानका सह–प्राध्यापक डा. वसन्तराज अधिकारीले बनेपा–बर्दिबास सडकखण्ड, मुग्लिङ–नारायणगढ खण्ड, हेटौंडा–दक्षिणकाली मार्ग, काठमाडौं–रसुवागढी मार्गका साथै तातोपानी जोड्ने कोदारी मार्गमा पनि पहिरोको जोखिम बढेको बताए। ‘कोदारी राजमार्गका धेरै स्थानमा ठूला चट्टान नै क्रयाक भएको देखिन्छ,’उनले भने, ‘वर्षामा चट्टानै बगेर आउने सम्भावना देखिन्छ ।’भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानमा अहिले साना पहिरो देखिए पनि मनसुनका बेला ठूलो पहिरो जान सक्ने भन्दै भूगर्भ्विद्हरूले सचेत हुन सरकारलाई जानकारी गराइसकेका छन् । धेरै बस्तीहरू जोखिममा रहेकाले मनसुनअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनीहरूको सुझाव छ । त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक मेघराज धितालले पोहोर जुरेमा पहिरो गएको क्षेत्रमा फेरि ठूलो पहिरो जाने सम्भावना देखिएकाले बेलैमा त्यस आसपासका बस्तीलाई स्थानान्तरण गर्न उपयुक्त हुने सुझाव दिए ।यसैगरी सरकारले भुकम्पबाट अति प्रभावित जिल्लाको भौगर्भिक अध्ययन गर्न बुधबारबाट टोली परिचालन गर्ने भएको छ । ६ वटा जिल्लामा १८ वटा अध्ययन टोली परिचालन हुने उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिडमा टोली खटिने छ । प्रत्येक टोलीमा तीन जना भूगर्भ्विद रहनेछन् । खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत महतोको नेतृत्वमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भूगर्भवीद् र नेपाल भौगर्भिक समाजको प्रतिनिधित्व रहनेछ । महानिर्देशक महतोको नेतृत्वमा गठित नौ सदस्यीय उच्चस्तरीय कार्यदल बनेको छ । टोलीलाई स्थलगत अध्ययन र स्याटेलाइट डाटाका आधारमा सात दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
Post a Comment