0
नेपाल अहिले भयंकर प्राकृतिक विपत्तिको सामना गर्दैछ । सकेर वा नसकेर भए पनि उसले यसको सामना गर्नु अनिवार्य छ । महाभूकम्पको प्रभावबाट सिर्जित अवस्थाको सामना गर्नका लागि मात्र नभई सबै खालका राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, लैंगिक, भूगोललगायतका जति पनि मानवीय एवं प्राकृतिक समस्याहरुलाई किनारा गर्दै समृद्धि आर्जन तब मात्र सम्भव छ जब हामी नेपाली सारा एकताबद्ध हुनेछौं । राष्ट्रलाई एक गर्न सके विपत्तिहरु राष्ट्र निर्माणका जग बन्न सक्छन् अन्यथा अकल्पनीय दुष्चक्रमा फसेर अनन्तकालसम्म देश भिखमंगा बन्न सक्छ । देशलाई भिखमंगाहरुको देश बनाउने या नेपालीहरु आफ्नो लागि आफै गर्न सक्छन् भन्ने सन्देश दिने, यो हामी नेपालीकै हातमा छ ।जसरी बैशाख १२ गते र त्यसपछि आएका कम्पन–पराकम्पनले जमिन धाजा–धाँजा पारेको छ, मानिसहरुका सुन्दर बासस्थान खण्डहर, माटोको थुप्रो, इँटा सिमेन्टको खातका रुपमा परिणत गरिदिएर अव्यवस्था प्रकृतिले सिर्जना गरेको छ त्यो दोष कसैलाई दिन असम्भव छ । हामीले अहंकार गरेका थियौं– ठूला घर बनाउनेहरुले साना घर हुने र घरै नहुनेहरुलाई हेप्थ्यौं । मान्छे नै ठान्दैनथ्यौं । थुप्रै गहनागुरिया भएकाहरुले गहना नभएका र एकसरो लाउनै नसक्नेहरुलाई मान्छेको दर्जा नै दिन्नथ्यौं र दुख्ने मुटु त हामी हुनेखानेहरुसँग मात्रै छ भन्ने सम्झन्थ्यौं । कथित जात माथिका मानिसहरुले यस्तो भाग्यमानी ठान्थ्यौं कि कथित जात तलका मानिसलाई हेप्ने, शोषण गर्ने र उनीहरुको उछित्तो काढ्ने ठेक्का त दैवले हामीलाई नै दिएका छन् भन्ने सम्झन्थ्यौं । अथवा मानिसले कोरेका रेखाहरुलाई नै सर्वोपरि ठानेर गरिव, निर्धा, अपांग, अशक्त, दीनदुखीलाई खुब हेप्थ्यौं र हामीलाई भगवानले सबै सुखभोग गर्न पठाएको भन्ने सम्झेर अहंकारले माकुरो फुल्लिएझै फुल्लिन्थ्यौं । हामीलाई कहिल्यै विपत पर्ने छैन भन्ने सम्झेर त्यस्तै व्यवहार गथ्र्यौं । के त्यो हाम्रो बुझाई सत्य रहेछ त ?यी हरफहरु पढ्नेहरुलाई लाग्नेछ–स्तम्भकार कस्तो प्रतिशोधी मान्छे रहेछ । यसको उद्देश्य हो कि धन दौलत, मानवीय रेखा– सम्बन्धहरु व्यर्थका छन् । हामीले सोचौं–प्रकृतिले कसैलाई पक्षपात ग¥यो त ? प्रकृतिको रचनाका दृष्टिमा हामी सबै समान नै रहेछौं । भूकम्पले घर भत्काउँदा दलितको मात्रै त भत्काएन, जनजातिलाई मात्रै त चेपेन, मारेन । या महिला अशक्त मात्र वा गरिबहरुलाई मात्र छोयो त प्रकृतिले ? अहं, सबैलाई समानढंगले प्रभावित ग¥यो– प्रकृतिले । जो भूकम्पबाट प्रभावित छैनौं त्यहाँ त्यही अहंकार कायम छ । धनीहरुले गरिबहरुलाई, बलियोले निर्धालाई, ठूला घर हुनेले घर नहुनेहरुलाई हेपिरहेका छन् । कथित जात माथिकाहरुको चुरीफुरीको कुरै नगरौं– उनीहरुले आफूलाई कहिल्यै नमर्ने ठान्छन् । कथित जात तलका मानिसहरुलाई दुख्ने मुटु र सोच्ने मष्तिष्क नभएको निर्जिव ढुंगा–माटो सम्झन्छन् । हिजो दलितहरुलाई आंगन टेक्न नदिनेहरु आज समान बनावटका पालमुनि बसेर एउटै भान्साको खाना खाँदैछन्  । त्यहाँ न जात, न धर्म, न ठूलो न सानोको विभेद छ । प्रकृतिले ल्याइदिएको गम्भीर शिक्षा हो यो । समानताप्रेमी बन, मानवतावादी बन, अहंकारी नबन, मानिसले कोरेका रेखा–सम्बन्ध, साँध–सीमाना ती सबैको कुनै अर्थ छैन । अनावश्यक धन थुपारेर–मर्दा खाली नै जाने भन्ने सन्देश हो यो । पाइला–पाइलामा विभक्त हामी नेपालीलाई गम्भीर शिक्षा दिन यो भूकम्प पर्याप्त छ । अर्को विपत्ति नआओस् । यसबाट सबैले सिकौं कि छेवैको छिमेकी भोकै बस्दा हामीसँग भएको वस्तु बाँडेर खाऔं । विभाजनले विपत्ति थप्छ । हामी विभाजित नबनौं । प्राकृतिक विपत्तिलाई सामना गर्न सकिन्छ तर विभाजनलाई सामना गर्न सकिन्न । हाइटी भन्ने एउटा देश छ जहाँ भूकम्पले हजारौं मानिस मरे । अकल्पनीय जनधनको क्षति भयो । राजनीतिक अस्थिरताको कारणले त्यहाँका जनता भीख मागेर खाने भएका छन् । अभावका कारणले जनता आपसमा लडाइँ गर्दैछन् र त्यसलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा अन्तर्राष्ट्रिय फौज त्यहाँ क्रियाशील छ । राहत लिन खोज्दा वा राहत र पुनःस्थापनामा पक्षपात भएको र राजनीतिक स्थिरता कायम हुन नसकेको बहानामा हाइटी युद्धस्थल जस्तै छ । धार्मिक द्वन्द्व पनि उत्तिकै छ । नेपालको राष्ट्रिय एकता सबैभन्दा जरुरी चीज बनेको छ आज । सम्पूर्ण नेपालीहरुको भावनात्मक एकता चाहिएको छ– यतिबेला । दल, धर्म, जात, वर्ग, लिंग, भूगोलको मानसिकताबाट माथि उठेर राष्ट्र एक बनाउनु हाम्रो आजको प्रमुख चुनौती हो । यो चुनौतीको सामना गर्न सके देश रहनेछ अन्यथा देश जोगाउन मुस्किल हुनेछ । यही विशाल अभिभारा पूरा गर्न राष्ट्रिय सहमतिको सरकारको कुरा अघि आएको हो । कतिपय स्वनामधन्य बुद्धिजीवीहरुलाई लाग्दोरहेछ– केपी ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सहमतिको सरकारको कुरा गरिएको हो । यो झुटो प्रचार हो । केपी ओली प्रधानमन्त्री बन्नै नहुने पनि कहीं छैन । झण्डै १०० वर्षमा दोहोरिने विपत्ति आइलागेको छ अहिले । संसारका सबै–सबै जसो देशहरुले केही न केही विपत्ति झेलेरै अगाडि आएका छन् । राष्ट्रिय एकताको भावनाले ओतप्रोत भएर यो विपत्तिको सामना गर्न जरुरी छ । सत्तापक्ष र प्रतिपक्षको मानसिकताले राष्ट्रिय एकताको भावना जाग्दैन । त्यो जगाउन सरकारले हामी सबैको भावना समेटेको छ भन्ने हुनुपर्छ । बलियो सरकारले बलियो निर्णय गर्न र त्यसअनुरुपको पाइला चाल्नसक्छ ।कोही पहाडिया, कोही तराईया, कोही पूर्वको, कोही पश्चिमको, कोही खस, कोही मंगोल, कोही उच्च, कोही नीच बनेर कदापि होइन हामी त सकल नेपाली भन्ने भावनाले नै देशको एकतालाई खँदिलो पार्छ । कोही हामी दलविशेषका मान्छे मात्र पनि होइनौं । पहिले देश बनाऔं अनि त्यसपछि मात्र हाम्रा अमूक अमूक अभीष्ट पूरा गर्न सम्भव छ अन्यथा हामी अनेक भावभंगीमा विभाजित हुनेछौं र सबै विभाजनमै समाप्त हुनेछौं । उखानै छ–ँभाइ फुटे गवाँर लुटे’ । भाइभाइ आपसमा फुट्दा गाउँनै लुटिन्छ ।फलानो पार्टी यस्तो, फलानो व्यक्ति उस्तो भन्ने भावना छोड्नुपर्छ । हामीले अहिलेसम्म साँध सिमाना बाराबारको राजनीति निकै धेरै ग¥यौं । अब त्यो विभाजनाई निरन्तरता दिइराख्नु उचित छैन । हाम्रो पार्टी यस्तो, तिम्रो पार्टी उस्तो भन्ने जमाना पनि गइसक्यो । अब दलगत मानसिकता त्यागेर, राष्ट्रिय भावना जागृत गर्न जरुरी छ । धार्मिक गुरुहरु, बुद्धिजीवीहरु, कलाकार सबैले राष्ट्रियता, राष्ट्रिय एकता खँदिलो, बलियो बनाउने अभियानमा लाग्नुपर्छ । सेना, प्रहरीले उद्धारका लागि देखाएको सक्रियता उदाहरणीय छ । नेपालका सिने क्षेत्रका कलाकारले भूकम्प पीडितलाई राहत प्रदान गर्न देखाएको सक्रियता निकै प्रशंसायोग्य छ । धन हुने मानिसहरुले जुन मुट्ठी फुकाएर सहयोग गरेका छन् त्यो अनुकरणीय छ, उद्योगपति विनोद चौधरीले १० हजार घर निर्माण गरिदिने घोषणा गरेका छन् । त्यो त नमूना नै हो भन्नुपर्छ । देशको एकता बलियो बनाउदै समृद्धि हासिल गर्ने कुरा नै प्राथमिक काम हो । यो सारा नेपालीले योगदान गर्ने र राजनीतिक नेतृत्वले अगुवाई गर्ने काम नै आजको मुख्य कार्यभार हो ।

Post a Comment

 
Top