0
गोल्डेन न्यूज संवाददाता
पोखराको रत्नज्योति स्थित रत्नज्योति उच्च माविमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद प्रतियोगिता सम्पन्न भयो । विद्यार्थीको अन्तर्निहित क्षमता प्रष्फुटन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा प्रा.वि., नि.मा.वि. र मा.वि. गरी ३ तहमा छुट्टाछुट्टै ३ विषयमा विद्यार्थीले आफ्ना पक्ष र विपक्षबाट तर्कहरु प्रस्तुत गरेका थिए । प्रा.वि.तहमा तरबारभन्दा कलम बलियो, नि.मा.वि.तहमा महिलालाई सम्पत्ति होइन शिक्षा दिनुपर्छ र मा.वि. तहमा सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक शिक्षा महत्वपूर्ण हुन्छ भन्ने विषय समावेश गरिएको थियो । मा.वि., नि.मा.वि. र प्रा.वि.तिनै तहमा जम्मा २९ जना सहभागी रहेको प्रतियोगितामा प्रा.वि.तहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः सङ्गम लामिछाने, आरती अधिकारी, सदिक्षा रामदाम र दावा लामा भएका थिए भने नि.मा.वि.तहमा आयुषा अधिकारी प्रथम, सङ्घर्ष लामिछाने द्वितीय, आकृति लामिछाने तृतीय र सोनिया अधिकारीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी मा.वि.तहमा सरु श्रेष्ठ र सिसम रानाभाटले प्रथम स्थान, सल्मा भाटले द्वितीय र दीपेन्द्र राइभाटले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । विद्यालयका संचालक हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रस्मिता पौडेलले गरेका थिए ।

Post a Comment

 
Top