गोल्डेन न्यूज संवाददाता
साविकको लामाचौर गाविस अर्थात् पोखरा उपमहानगरपालिका वडा नं. १९ लाई पूर्ण खोप सुनिश्चितता तथा निरक्षर उन्मुलन वडा घोषणा गरिएको छ । पूर्ण साक्षर एवं पूर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रम, मूल आयोजक समितिले शनिबार लामाचौरमा विशेष समारोहकाबीच घोषणा गरेको हो । हाल पोखरा उपमहानगरपालिका अन्तर्गतका २८ वडा मध्ये १० वडा खोप सुनिश्चित एवं पूर्ण साक्षर वडा घोषणा भईसकेका छन् । घोषणा समारोह अघि लामाचौरको लामाचौर चोक, भुनपरे, घार्मीबाट छुट्टाछुट्टै ¥यालीले विभिन्न भाग परिक्रमा गरेको थियो । स्थानीय विद्यालयका विद्यार्थीहरु, आमा तथा महिला समूहहरु, पञ्चेबाजा समूह सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले साक्षर र पूर्ण खोप सुनिश्चित भएको गाउँ घोषणाका लागि स्थानीय जनताको अग्रसरताको प्रशंसा गरे । ‘मैले बाह्रखरी पढेको यो ठाउँका सबै मानिस साक्षर भए भनेर घोषणा गर्न आफै प्रमृुख अतिथिका रुपमा उभिरहँदा मलाई अत्यन्त खुशी लागेको छ’–उनले भने–मैले आफ्नो स्थानबाट सक्ने सहयोग गर्न सदैव तत्पर छु ।पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानाले अब पोखराका बाँकी १८ वडालाई पनि यसै वर्षभित्र साक्षर एवं पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिने बताए । राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउँदै गरेको अवस्थामा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएकोमा उनले चिन्ता पनि जनाए । जिल्ला शिक्षा कार्यालय, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापाले सन् २०१५ भित्रै मुलुकलाई निरक्षर उन्मुलन राष्ट्र बनाउने सरकारको तयारी अनुसार काम भईरहेको जानकारी दिए । लेखनाथ नगरपालिकाका कुनै पनि वडा साक्षर घोषणा हुन नसकेकाले अब तयारी बढाईएको पनि जनाए । नेपाल रेडक्रस सोसाईटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले बालबालिका लाई स्वस्थ र सुरक्षित बनाउन अनिवार्य खोप लगाउनुपर्ने दायित्व सबै अभिभावकको भएको बताउँदै उनले सरकारको सहयोगीका रुपमा स्वास्थ्य क्षेत्रमा रेडक्रस क्रियाशील भएको उल्लेख गरे । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप सहायक अधिकृत एकनारायण लम्सालले ३ प्रतिशत बालबालिका अझै पनि खोपबाट वञ्चित रहेको अवस्थामा राज्यसँगै नागरिक स्तरबाट समेत खोप लगाउने सम्बन्धमा तत्परता आवश्यकता रहेको बताए । वडाको साक्षरता अभियान बारेमा जानकारी दिँदै महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले ९९ प्रतिशत साक्षर रहेको र बाँकी एक प्रतिशत अर्थात् ५२ जनालाई छिट्टै प्रौढ शिक्षा मार्फत साक्षर बनाईने प्रतिबद्धता पछि घोषणा गरिएको बताए । वडाको पूर्ण खोप सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै लामाचौर उपस्वास्थ्य चौकी प्रमुख अर्जुन बहादुर क्षेत्रीले वडामा १५२ जना बालबालिकाले पूर्ण खोप लिईसकेपछि पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको जनाए । कार्यक्रमको अध्यक्षता समेत गरेका वडा सचिव सुर्यबहादुर नेपालीले सबैको साथ सहयोगले घोषणा गर्न सफल भएको भन्दै आभार व्यक्त गरे । गायत्री सामुदायिक अध्ययन मञ्चका अधयक्ष शोभामोहन पौडेलले बालमैत्री शहर स्थापना गर्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिनुपर्ने खाँचो औंल्याए । संघसंस्थाका तर्फबाट नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीले बोलेका थिए । कार्यक्रममा वडा नागरिक मञ्चका अध्यक्ष रविमानसिंह भण्डारीले स्वागत तथा रेडक्रस लामाचौर उपशाखाका सभापति बुद्धि खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा सबै एक वर्ष पुगेका पूर्ण खोप लगाएका बालबालिकालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । यस्तै, साक्षर वडा तथा पूर्ण खोप वडा घोषणा गर्न सहयोग पु¥याउने महिला स्वयंसेविका, विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । विद्यार्थी तथा आमा समूहका प्रतिनिधिले चेतनामूलक गीत, कविताका साथमा नृत्य प्रस्तुत गरेका थिए ।
Post a Comment