गोल्डेन न्यूज संवाददाता
पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महिला जागरण समाजले शनिबार गुप्तेश्वर महादेव गुफा परिसरमा भूमिपूजा गरेको छ । वैशाख १२ गतेको विनासकारी भुकम्पमा परेर समाजका सदस्यहरु सकुशल रहेको तथा देशमा परेको महाविपत्तीको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने उद्देश्यले पूजा गरिएको हो । देशमा आएको विनाशकारी भुकम्पले तहस नहस पारेको समयमा कुनै अनिष्ट नहोस्, दिवंगत आत्माको चिरशान्ति तथा घाइतेहरुको शीघ्र स्वास्थ्यको लागि पूजाको आयोजना गरिएको पूजाका कर्ता स्थानिय समाजसेवी तथा भ्रमणमा सहभागी गोपाल वरालले बताए । भूमिको विचलनका कारण भयभित भएका जनमानसको आत्मा शान्तिको लागि यो भूमिपूजा गरिएको पण्डितहरु तारानाथ आचार्य र ऋषिराम निरौलाले मन्त्रोचरण बताए । पिडामा परेका समस्त प्राणीहरुको शान्तिका लागि यो पुजा गरिएको उनीहरुको भनाई छ । तातोपानीमा आठ दिनसम्म विताएको त्रासदीपूर्ण अवस्थाको वारेमा रुँदैं,–“आफू लगायत समूहको पुनर्जन्म भएको हो”–चन्द्रकला न्यौपानेले वताईन् । उक्त समयमा स्थानस्य मितेरी युवा क्लबले सम्पुर्ण आमा समूहका सदस्यहरुलाई खान र वस्नको व्यवस्था मिलाई ठूलो सहयोग गरेको उनले बताईन् । समाजका ३४ जना सदस्यहरु भ्रमणका लागि पोखराबाट वैशाख ११ गते सिन्धुपाल्चोक जिल्लाको तातोपानी तथा खासा गएका थिए । त्यसको भोलिपल्ट वैशाख १२ गते ठूलो भुकम्प आएको थियो । उक्त भुकम्पमा कुनै पनि सदस्य प्रत्यक्ष नपरे पनि घरमा रहेका परिवारका सदस्यहरु निकै आत्तिएका पुजामा सहभागि समाजकी अध्यक्ष हुमकुमारी शाहीले बताईन् । आफन्तहरुले उनीहरुको ८ दिन पछिमात्र सकुशल उद्धार गर्न सकेका थिए। उनिको उद्धारको लागि प्रशासनबाट कुनै सहयोग नभए पछि परिवारकै सदस्यहरुबाट पैसा उठाएर मुक्तिनाथ एयरवेजको हेलिकोप्टर भाडामा लिईएको थियो ।
Post a Comment