गोल्डेन न्यूज संवाददाता
नेपाली काङ्ग्रेस कास्कीका नेता चन्द्रमणि पौडेलको आइतबार निधन भएको छ । कास्कीको लेखनाथ नगरपालिका वडा नं २ अर्घाै निवासी पौडेलको ५७ वर्षको उमेरमा निधन भएको हो । काठमाण्डौस्थित वीर अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो करिव साढे एक बजेको समयमा पौडेलको निधन भएको थियो । उपचारार्थ जेठ ७ गते विहीबार काठमाण्डौको बी एण्ड बी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि सोही दिन वीर अस्पताल लगिएको थियो । पौडेल लामो समयदेखि क्यान्सर र पछिल्लो समय जण्डिसबाट पनि प्रभावित थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। पौडेलको सोमबार लेखनाथस्थित सेती नदि किनारको मरेखरेमा दाहसंस्कार गरिने छ ।उनीप्रति अन्तिम श्रद्वाञ्जली अर्पण गर्नका लागि पार्टीका केन्द्रीय नेताहरु आउने बताइएको छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति एवं सभासद् यज्ञबहादुर थापाले शवयात्रामा सहभागि हुनका लागि नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुलाई आग्रह गरेका छन् । पौडेल पछिल्लो समय नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि रहनुको साथै विभिन्न सामाजिक सङ्घ संस्थामा आवद्व थिए । पौडेलले विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोनलमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ । उनले जनमत सङ्ग्रह, ०४६ र ०६२÷०६३को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पौडेलले एक कार्यकाल नेपाली काङ्ग्रेस कास्कीमा सहसचिवको समेत जिम्मेबारी सम्हालेका थिए । यसैबीच, नेपाली काङ्ग्रेस कास्कीका सभापति एवं सभासद् यज्ञबहादुर थापाले आइतबार शोक विज्ञप्ति प्रकाशित गरी पौडेलको असामयीक निधनबाट पार्टी स्तब्ध भएको जनाएका छन् । विज्ञप्तिमा पौडेल पार्टी र प्रजातन्त्र प्रति सदैव समर्पित र निष्ठावान व्यत्ति भएको उल्लेखगर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।
Post a Comment