0
चैत २४ – ३० दलीय मोर्चाको मंगलबार साँझ बसेको बैठकले बुधबार र बिहिबारको लागि पूर्व निर्धारित आमहड्तालको कार्यक्रम फिर्ता लिर्ने निर्णय गरेको छ । बैठकमा चर्को बहसपछि मोर्चाले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
बैठकबारे पत्रकारलाई जानकारी दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले आमहड्ताल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सत्तारुढ दलहरुले संविधानसभाको बैठकलाई ३० गतेसम्मको लागि सारेको अवस्था र उद्योगी, व्यवसायी सबैले बन्दको कार्यक्रम फिर्ता लिन गरेको आग्रहलाई मध्यनजर गर्दै यो निर्णय लिइएको बताए । उनले आमहड्तालबाट सर्वसाधारणमा पर्न गएको असुविधानको लागि माफी समेत मागेका छन् ।
मोर्चाले हिजो मसाल जुलुस र आजको आम हड्तालका क्रममा प्रहरीले गरेको व्यापक दमनको भत्सर्ना गरेको छ ।
मोर्चाको आगामी बैठकले संघर्षका थप कार्यक्रम तय गर्ने बताइएको छ ।
Dahal Chairs 30 Parties Meeting
बैठकमा चर्काचर्की, विवादबीच निर्णय
आमहड्ताल जारी राख्ने कि फिर्ता लिने विषयमा बैठकमा विवाद उत्पन्न भएको थियो । मोर्चाका केही नेताहरुले आन्दोलनलाई थप कडा बनाएर जानुपर्ने धारणा राखेका थिए भने केहीले भोलीसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखेर पर्सीको आमहड्ताल फिर्ता लिनुपर्ने बताएका थिए । केही नेताहरुले भने ३० गतेसम्म सहमतिको प्रयास गरेर मात्र आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखेका थिए । सत्तापक्षले प्रक्रियालाई अगाडि बढेपछि मात्र आन्दोलनका कार्यक्रमलाई अघि बढ्नुपर्ने धारणा बैठकमा उठेको थियो ।
बैठकमा एमाओवादी र विजयकुमार गच्छदार मात्र आन्दोलन फिर्ता गर्ने पक्षमा देखिएका थिए ।
तमलोपाका अध्यक्ष महन्त ठाकुरले आन्दोलनलाई कमसेकम भोलीसम्मका लागि फिर्ता लिननहुने धारणा राखेका थिए । यतिबेला सबै ठाउँबाट आन्दोलन उठेको बेला एकाएक फिर्ता लिँदा भोली फेरि जनतालाई उठाउन गाह्रो पर्ने धारणा राख्दै ठाकुरले एक दिन अझै भएपनि आन्दोलनका कार्यक्रम जारी राख्नुपर्ने बताएका थिए ।
यता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दिनसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेपछि त्यसलाई पूरा गर्नुपर्ने बताएका थिए । ‘प्रचण्डजी, तपाईं यो आन्दोलनको अगुवा हुनुहुन्छ । तपाईं अघि बढ्नुभयो भने आन्दोलन अघि बढ्छ । तपाईं अघि बढ्नुहोस् हामी तपाईंको साथमा छौं । बारम्बार आन्दोलन फिर्ता नलिनुहोस्, जनता निरास हुन्छन्, महतोको भनाईं उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए ।
त्यस्तै पासङ शेर्पाले पनि आमहडतालको कार्यक्रम फिर्ता लिए पनि भोली र पर्सीको लागि नयाँ स्वरुपको अरु आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने बताएका थिए । त्यस्तै अशोक राई पनि आन्दोलन बारम्बार फिर्ता लिँदा जनतामा नराम्रो सन्देश जाने जाने धारणा राखेका थिए ।
बैठकमा सबै नेताहरुले धारणा राखेकाले बैठक लम्बिएको थियो । त्यहाँ उपस्थित सबै माओवादीका नेताहरुले बन्द फिर्ता लिनुपर्ने बताएका थिए ।
अन्त्यमा बोलेका प्रचण्डले आफू माओवादीको मात्र नभएर ३० दलको अध्यक्ष जस्तो बनेपछि आफूमाथि थुप्रै उत्तरदायित्व रहेको जिकिर गरेका थिए । ‘मैले धेरैलाई सम्झाउनु पर्छ । चित्त बुझाउनुपर्छ । हामी २६ गते रौतहटको आम सभा गरौं त्यसपछि आएर बाँकी कार्यक्रम तय गरौं । मलाई साह्रै प्रेसर छ, सत्ताधारी ३० गते सम्मको लागि सारेको कुरा पनि भुल्नुहुँदैन,’ प्रचण्डले भनेका थिए ।
उपेन्द्र यादवको असहमति
आन्दोलनलाई जसरी पनि जारी राख्नुपर्ने अडान राख्दै आएका मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको निर्णय प्रति असन्तुष्टि जनाएका छन् । उनले भने, मोर्चाको निर्णयमा मेरो पूर्ण असहमति छ । यसरी जनता जागेको बेला आन्दोलनलाई रोक्न हुँदैन थियो ।
उनले अब फोरम आफै अघि बढ्ने समेत बताए ।

Post a Comment

 
Top