0
गोल्डेन न्यूज संवाददाता
पोखरा २९ चैत ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानवअधिकारको कुरा गरीरहँदा घरबाट नै मानवअधिकार शिक्षाको आवश्यक रहेको बताउनु भएको छ । मुलुकमा अझै पनि सचेतनाको आवश्यक रहेको बताउनु भयो । पोखरा मिडिया क्लबमा हुर्जा कास्कीले गरेको  कार्यक्रममा उहाँले काम गर्दा मुख्य तिन कुरा ख्याल गर्नु पर्ने बताउनु भयो ।

मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको चौथो साधारणसभा तथा पोखराका सञ्चारमाध्यममा बिट पत्रकारीताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठकले निरन्तरता, निडरता र सक्षमता हुनु नै सफलता भएको उल्लेख गर्नुभयो । उहाँले त्राशहिन बनेर कार्य क्षेत्रमा जानुपर्ने बताउनु भयो । मानवअधिकारमा कुनै जात, भाषा र धर्म नहुने बताउदै पाठकले आफ्नो क्षेत्राधिकारका घटनामा निश्पक्ष छानविन गर्ने बताउनु भयो । मानवअधिकारको क्षेत्रमा आफ्नो लामो अनुभव रहेको बताउदै पाठकले अझै लामो समय यो क्षेत्रमा योगदान गर्न बाँकी रहेको उल्लेख गर्नु भयो । राज्यलाई जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गर्दै उहाँले भन्नु भयो ­– हामी राज्यलाई जिम्मेवार बनाउदै यो ६ वर्षमा मानवअधिकारको क्षेत्रमा आमुल परिवर्तन ल्याउछौँ । साथै पाठकले अहिलेको परिवेशमा बिट पत्रकारीता आवश्यक रहेको तर धेरै गृहकार्य गर्नुपर्ने बताउनु भयो ।

साथै कार्यक्रममा बोल्दै सभासद कुमार खड्काले कस्तो पत्रकारीता गर्ने पत्रकार स्वयमले बुझ्नुपर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले सकरात्मक रुपले काम गरे मात्र सकरात्मक प्रतिफल आउने धारणा व्यक्त गर्नु भयो । अघिल्लो संविधानसभाको स्मरण गर्दै खड्काले अधिकारको कुरा धेरै समेटीएको तर कर्तव्यको बोध हुन जरुरी रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलयका प्रमूख डा. टिकाराम पोख्रेलले पत्रकारीता गर्नेहरुमा काम गर्ने आट र लगनशिलताको आवश्यकतामा जोड दिनु भयो । उहाँले बिट पत्रकारीता आवश्यक भएपनि अहिलेनै सम्भव नहुने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै हुर्जा नेपालका महासचिव किशोर कुमार पौडेलले पत्रकारहरुलाई देख्दा समस्या भएपनि वास्तवमा त्यस्तो नरहेको बताउनु भयो । बिट पत्रकारीता गर्ने पत्रकारहरुलाई बाँच्न गाह्रो नभएको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुस्मा पौडेलले सबै मिलेर मानवअधिकारको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनु भयो । स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले बिट पत्रकारीताको कुरा गरीरहँदा सञ्चारमाध्यमनै बिट समातेर स्थापना भई कुनै एउटा बिटमा काम गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा ज्योतिष पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, ईन्सेक पश्चिमाञ्चलका प्रमूख शिव खकुरेल, प्रेस चौतारी नेपाल कास्की शाखाका उपाध्यक्ष रामजि लम्साल, अनेरास्वबियु भुगोल कमिटी कास्कीका अध्यक्ष सेखर गौतम लगायतले बोल्नु भएको थियो । हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष अर्जुन गिरी र सञ्चालन महासचिव बिरेन्द्र सापकोटाले गर्नुभएको थियो ।

Post a Comment

 
Top