0
गोल्डेन न्यूज संवाददाता
पोखरा २१ चैत ।
धादिङ–पोखरा सम्पर्क समिति नलाङ इकाइ समितिको चौथो वार्षिक साधारणसभा तथा २०७२ सालको क्यालेण्डर विमोचन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरामा रहेका सबै धादिङवासीलाई समेटेर अघि बढ्न इकाइ समितिहरु गठनलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कतिपय धादिङवासीहरुलाई धादिङ–पोखरा सम्पर्क समिति रहेको जानकारी समेत नभएको भन्दै गाविस इकाइहरु गठन गरि धादिङवासीको खोजी गर्नुपर्ने खाँचो औंल्याएका छन् । कार्यक्रममा बोल्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरले इकाइहरु गठन जतिधेरै भए उति समिति मजबूत हुने बताए । उनले सबै धादिङवासी हरु समितिमा अटाउने गरि आफूले विशेष कदम अघि बढाउने जानकारी दिए । धादिङ समितिका सल्लाहकार परिषद संयोजक तथा पूर्व अध्यक्ष रुद्र प्रसाद खनालले इकाइहरु गठनलाई तीव्र बनाउन वर्तमान नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिए । आगिन्चोक इकाइ समितिका अध्यक्ष हरि पन्तले समितिको यसअघिका नेतृत्वले इकाइको भूमिकाको कदर नगरेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा त्यस्तो कार्य नगर्न सुझाव दिए । धादिङ समितिका सचिव सुदर्शन बसौलाले गाविस इकाइहरु गठनमा कुरामात्र होइन काम नै गरेर देखाउनुपर्ने बताए । समितिका सल्लाहकार छन्द धरेलले धादिङवासी हरुबीच एकता भएमात्र समस्या समाधानमा सहज हुने बताए । नलाङ इकाइ समितिका अध्यक्ष मेघबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक गिरी, सचिव शम्भुप्रसाद अधिकारी, कोषाध्यक्ष टीकाराम अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा नला समितिद्वारा प्रकाशित २०७२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।
यसैगरी धादिङ–पोखरा सम्पर्क समिति खरी इकाइको पारिवारिक भेटघाट कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रममा घैटौ फुटाउने, नृत्य, वजभोज लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी धादिङ–ढोला–पोखरा समाज समेत शनिबार नै गठन भएको छ । योसंगै पोखरामा धादिङ समितिको इकाइ कमिटी ४ पुगेका छन् । यसअघि खरी, नलाङ र आगिन्चोक इकाइ कमिटी गठन भैसकेका छन् । पोखरामा रहेका धादिङ, ढोलावासीहरुको शनिबार पोखरामा सम्पन्न भेलाले ढोला–६ का अर्जुन प्रसाद भट्टलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा यदुप्रसाद ढकाल ढोला–३, सचिवमा २ का सरोज कुँवर, सह–सचिवमा ५ का ईन्द्रबहादुर अधिकारी र कोषाध्यक्षमा ढोला ९ का रमेश कुमार श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा ढोला ३ का नारायणप्रसाद दुवाडी, ९ का प्रदीप दवाडी र खिमलाल श्रेष्ठ, ७ का शिव दवाडी, १ का हरि प्रसाद ढकाल र ७ का प्रेमनारायण भुजेल रहेका छन् भने सल्लाहकारमा रुद्रप्रसाद खनाल, नवराज दुवाडी र डम्बर दवाडीलाई चयन गरिएको छ ।  

Post a Comment

 
Top