- कर्मयुग
पोखरा, चैत २५ – कास्कीमा अर्को हिमताल
फेला परेको छ । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको
पार्चेमा हिमताल बनेको छ । स्थानीय बासिन्दाले यो तालको नाम कफुचे राखेका
छन् । नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिने भए पनि यो
ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा छ ।
कुफुचे हिमताल पर्यटकीय नगरी पोखराबाट
करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)
मा पर्ने यो तालसम्म पुग्न सिक्लेसबाट दुई दिनको पैदलयात्रा गर्नुपर्छ।
सिक्लेस पोखरादेखि ३९ किलोमिटरको दूरीमा पर्छ । स्थानीय गुरुङ भाषामा कु
भनेको हिउँको थुप्रो, फुु भनेको खस्नु र चेु भनेको समथर भाग भन्ने हुन्छ ।
यिनै
तीन अक्षरको अर्थबाट स्थानीयवासीले यसको नाम कफुचे ताल राखेका हुन् ।
संरक्षणकर्मी डा. हुम गुरुङले हाल ताल बनेको क्षेत्र दुई दशकअघिसम्म समथर
मैदान भएको बताएका छन् । ‘पहिला यो ठाउँ समथर जमिन थियो । त्यही मैदानमा
हिमालबाट हिउँको थुप्रो आएर हिमतालमा परिणत भयो । ‘पहिला भेडीगोठका गोठाला
हिउँको थुप्रोमा टेकेर हिँडडुल गर्थे अहिले विस्तारै गर्मी बढेकाले त्यही
हिउँको थुप्रो पग्लिएर तालमा परिणत भएको हो।’ संरक्षणकर्मी गुरुङले भने ।
ताल बन्न झन्डै १० वर्ष लागेको उनले बताए।
तालको लम्बाइ चार सय मिटर, चौडाइ तीन सय मिटर र गहिराइ ४० मिटर रहेको
जापानी अनुसन्धानकर्ता डा. जिरो कोमोरिलको अनुसन्धानले देखाएको छ । पार्चे
गाविसका पूर्वअध्यक्ष मनप्रसाद गुरुङले सरकारले चासो नदिँदा यो हिमतालको
संरक्षण र पर्यटन प्रवद्र्धनको काम हुन नसकेको बताए । ‘तालसम्म जान बाटो
छैन’, उनले भने, ‘मुढा तेर्साएर बनाएको पुलबाट जानुपर्ने अवस्था छ ।
वर्षामा याममा तेर्साएको पुल पनि बाढीले
बगाउँछ, तालसम्म पुग्न निकै समस्या हुन्छ, उनले भने । उनले तालसम्म पुग्न
बाटो र तीन स्थानमा तत्काल झोलुंगे पुल तत्काल बनाउनुपर्ने आवश्यकता रहेको
बताए । संरक्षण व्यवस्थापन समिति सिक्लेसका अध्यक्षसमेत रहेका मनप्रसादले
कफुचेबाट हिउँचितुवा, झारल, कस्तुरी, डाँफे, मुनाल पनि हेर्न सकिने बताए।
विविध आकर्षणले यो पर्यटकीय गन्तव्यका लागि निकै उपयुक्त भएको उनले बताए ।
कम उचाइमा रहेको यो कफुचे हिमतालका बारेमा स्थानीय प्रशासन र पोखरेलीलाई पनि थाहा नहुनु दुःखलाग्दो विषय भएको उनले बताए ।
कफुचे हिमतालबारे हालै जानकारीमा आएको जल
तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए। ‘नेपालमा तीन
हजारभन्दा बढी हिमताल छन’, उनले भने, ‘२१ वटा हिमताल जोखिममा छन ।कफुचे
तालको अध्ययन गरी तत्काल संरक्षणको काम गरिनेछ।’ पृथ्वीको तापक्रम हरेक
वर्ष बढ्दै गएकाले हिमताल बन्ने क्रम पनि बढेको उनले बताए।सिक्लेस पार्चे
होटल व्यवस्थापन समितिका सचिव धनप्रसाद गुरुङले कफुचे हिमताल हेर्न
फाट्टफुट्ट पर्यटक आउने गरेका बताए। ‘बाटो नभएकाले भीरपाखामा लड्दै
जानुपर्ने अवस्था छ’, उनले भने, ‘हिँड्दा जतिसुकै दुस्ख पाए पनि तालमा
पुगेपछि यात्रुखुसीले फुरुंग हुन्छन् ।’
Post a Comment