0
रिसाएका जनजाति र मधेसी नेताहरु अन्नतः एमाओवादी अध्यक्ष प्रचण्डसँग बैठक बस्न सहमत भएका छन् ।अहिले ३० दलीय मोर्चाका असन्तुष्ट नेताहरु महन्थ ठाकुरको नेतृत्वमा प्रचण्ड निवास लाजिम्पाटमा पुगेका छन् । बैठक केही घन्टादेखि चलिरहेको छ । यो बैठकले ३० दलको बैठक बस्ने वातावरण बनाउने प्रचण्डको विश्वास छ ।तर, सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउने र संघीयताबारे थप छलफल गर्ने बालुवाटारको सहमति भने धरापमा परेको छ । सोमबार कांग्रेस, एमाले र एमाओवादीबीच भएको वार्तामा निर्वाचन प्रणाली, न्याय प्रणाली र सशाकीय स्वरुपमा भएको सहमतिलाई मस्यौदा लेखनमा पठाउने सैद्धान्तिक सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदै धरापमा पर्ने खतरा बढेको स्रोतले बताएको छ ।‘संघीयतामा छलफल गर्दै जाने भनेको थाती राख्ने कुरा हो । यो जनजाति र मधेसीलाई स्वीकार्य हुँदैन, मोर्चाका एक नेताले भने-‘अब प्रचण्डले १० प्रदेशसहितको हाम्रो साझा नौबुँदे मुद्दा छाड्दैनौं भन्नुभयो भने ३० दल रहन्छ । होइन, उहाँले तिमीहरु जे सुकै गर, म सहमति गर्छु भन्नुभयो भने अर्को कुरा हो ।’स्रोतका अनुसार कांग्रेस र एमालेसँग सहमतिका लागि प्रयासरत एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई पनि आफूसँगै राख्न चाहन्छन् । जसले उनलाई कांग्रेस र एमालेसँगको वार्तामा बार्गेनिङ टुलका रुपमा काम गर्नेछ ।तर, आन्दोलन फिर्तासँगै कांग्रेस र एमालेसँग सहमति हुन लागेको खबरहरु आएपछि ३० दलीय मोर्चाका जनजाति र मधेसी प्रचण्डसँग रिसाए । फोरम नेपालका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोले छुट्टै मोर्चाबन्दीको पहल थाले भने संघीय समाजवादीका अशोक राईसहितका जनजातिले पनि साथ दिएपछि प्रचण्ड तनावमा परे ।कम्तिमा ३० दलको बैठक बस्ने वातावरण बनाउनुपर्‍यो भन्दै प्रचण्डले मोर्चाका नेताहरुलाई तारन्तार फोन वार्ता गरे । स्रोतका अनुसार प्रचण्डको पटक-पटकको आग्रहपछि बुधबार असन्तुष्ट नेताहरुको बैठक बसेको थियो ।तमलोपाको कार्यालयमा बसेको बैठकमा पासाङ शेर्पा, कुमार लिंगदेनसहितका पहिचानवादी गठवन्धनका नेता र अशोक राईसहितले एकपटक प्रचण्डकै नेतृत्वमा ३० दलको बैठक गरेर मात्रै थप निर्णय गर्न दबाव दिएका थिए ।सुरुमा उपेन्द्र र राजेन्द्रले प्रचण्डसँग बैठक बस्न आनाकानी गरेका थिए । तर, जनजाति पार्टीका नेताहरुले उसो भए ३० दलीय मोर्चा फुटेको औपचारिक घोषणा गरौं भनेपछि मधेसी नेताहरु बैठकमा बस्न तयार भएका हुन् ।संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले ३० दलको बैठकअघि प्रमुख नेताहरुले प्रचण्डसँग वार्ता गर्ने प्रस्ताव राखे, जसलाई सबैले समर्थन गरेको स्रोतले बताएको छ ।त्यसपछि बैठकमा वार्ता टोलीको नेतृत्व कसले गर्ने भन्ने छलफल भएको थियो । सुरुमा उपेन्द्र यादव प्रस्तावित थिए । तर, उनले आफूसँगै महतोलाई पनि नेता बनाउने प्रस्ताव राखे ।तर, महतोले म त जान्न भनेपछि महन्थ ठाकुरलाई मधेसी र जनजातिको नेता छानिएको छ । ठाकुरको नेतृत्वमा बनेको टोलीमा उपेन्द्र यादव, राजेन्द्र महतोका साथै अशोक राई, कुमार लिंगदेन, परशुराम तामाङसहितका नेता छन् ।महन्थ ठाकुर नेतृत्वको वार्ता टोली प्रचण्डसँग छलफल गर्न बिहीबार बिहान लाजिम्पाट पुगेको छ ।   अनलाइनखबर.

Post a Comment

 
Top