0
समयले काँचुली फेरेको छ । अझ समयले भन्दा पनि विक्रम संवत्सरले काँचुली फेरेको छ भन्नु उपयुक्त होला । विक्रम वर्षको दुई हजार एकहत्तर वर्ष बितेको छ । समयको सन्दर्भमा यो कालगणना अत्यल्प हो । समयको आरम्भ कहिलेदेखि भयो र यसको अन्त कहिले हुनेछ भन्ने कुरा कसलाई थाहा छ ? जुन कुराको आरम्भ थाहा छैन, त्यसको अन्त पनि थाहा हुन सक्दैन । तर पनि मानव कार्य–व्यवहार चलिरहनुपर्छ । यो चलिरहेको पनि छस राम्रो र नराम्रो गरी । राम्रो र नराम्रोको हेक्का राख्न मानिसले समयलाई आफ्नो उपयोगका लागि बाँध्ने कोषिस गरेको छ, त्यसै प्रयासको नतिजा हो प्रत्येक तीन सय पैंसठ्ठी दिनमा वर्ष फेरिन्छ । यो वर्ष फेरिने प्रक्रिया प्रत्येक मानव सभ्यताको छुट्टा–छुट्टै छ । जसलाई हामी नेपालीले सर्वा्धिकरूपमा गणना गर्ने गरेका छौं, त्यो चाहिं विक्रम संवत् हो । र आज विक्रम संवत्को दुई हजार सत्तरी वर्ष पूरा हुँदैछ । भोलि विक्रम संवत् दुई हजार एकहत्तरी वर्षमा प्रवेश गर्दैछ, त्यसैले हामीले नयाँ वर्ष भनी मनाउँछौं, विगत वर्षहरूका संघर्ष, व्यथा, समस्याको अन्त होस् र नयाँ वर्षमा शुभ नै शुभ होस्, मङगलमय बनोस् । हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक एवं समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना आदानप्रदान गर्दछौं । समयको यस जटिल गणनामा भोलिको नेपाल चाहिं प्रगतिमय हुनेछ, नेपाली जनताले विगतका अन्योल र हण्डरबाट उन्मुक्ति पाउनेछ भन्ने आश राखिएको छ । यसको लक्षण पनि देखा परिरहेको छ । लामो संक्रमणकालको अन्त हुने आभास भएको छ, पुराना गल्तीहरूबाट माथि उठ्ने प्रयास थालिएको छ । हिजो सम्भव नभएको कामले पुनरावृत्ति पाएको छ, विगतका अहङकार, सर्वसत्तावादी सोचले घुँडा टेकेको छ । अराजकता, हिंसा, हत्या, लुटपाट, रङगदारीजस्ता आतङ्कबाट नेपाली जनमानसले त्राण पाएको छ । प्रकृतिले पनि गर्मी याममा रातो हावा मात्र दिंदैन, सर्वत्र सुखा र नियास्रोपन छरिदिएको हुन्छ । तर जब आकाशमा बादलहरू देखा पर्न थाल्छन्, पानीको एउटा थोपा धरतीमा खस्छ, हर्षोल्लासको वातावरण तयार हुन्छ । किनकि एउटा थोपाले झरीको सन्देश दिएको हुन्छ । झरी आएपछि वातावरण शीतल हुन्छ, सुखेको धरतीको कोखमा गर्भाधान हुन्छ, चारैतिर हरियाली छरिन्छ । यत्रो सुखको आभास एउटा थोपाले दिएको हुन्छ । नेपाली समाजमा त्यस्ता थुप्रै थोपाहरूले आउँदा सुखद् दिनको सङ्केत गरिसकेको छ । तसर्थ यो नयाँ वर्ष सुखद हुन्छ, सारयुक्त हुन्छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । नेपाली समाजले लामो हण्डर खाइसकेको छ । अब उसमा विवेकको सञ्चार हुन थालेको छ । नेतृत्व वर्गले आफ्नो क्षमता, दक्षता थाहा पाइसकेको छ । स्वयंको पहिचानले  सहमति र समन्वयको कार्यलाई सहज बनाउँछ । यद्यपि प्रक्रिया सुस्त छ, तर अग्रगामी र सकारात्मक छ, सबैभन्दा खुशीको कुरा यही हो । एक झपटमा संविधानको खाका कोरियो भने आधा अन्योल समाप्त हुन्छ, बाँकी त नाचीनाची पूरा गर्न सकिन्छ । मानिस जहाँ छ, त्यहाँ विरोधाभास पनि हुन्छ नै, तर विरोधाभासले त्यति बेलासम्म मात्र चलखेल गर्न पाउँछ, जबसम्म विवेक उदय हुँदैन। बितेका वर्षहरूले नेपाल जनतालाई, नेतृत्व वर्गलाई चेतावनी दिइसकेको र चेतना पनि दिएको छ । यस चेतनाको समष्टिको हितका लागि उपयोग गर्न मात्र बाँकी छ । त्यसले सम्पूर्णता पाउनेछ भन्ने अहिले विश्वास जागेको छ र यो विश्वासले नेपालको समग्र कल्याण गर्नेछ, नयाँ वर्ष सुखमय हुनेछ भन्ने कुराका लागि यो सबल पक्ष हो । नयाँ वर्षको सबैमा शुभकामना !

Post a Comment

 
Top