0

गोल्डेन न्यूज संवाददाता
पोखरा २९ चैत ।
पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा फोटोग्राफर संघको संयुक्त आयोजनामा पोखरामा ३ दिने उच्चस्तरीय फोटोग्राफी तालिम सम्पन्न भएको छ । तालिममा कास्कीमा रहेका ३९ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलालाई आत्मनिर्भर र आफ्नो पेशामा दक्ष बनाउने उद्देश्यले पोखरा फोटोग्राफर संघले महिला उपसमितिको सहयोगमा यो तालीमको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघले जनाएको छे । तालिममा वरिष्ठ फोटोग्राफर तथा सिनेमेटोग्राफर मञ्जुकुमार श्रेष्ठ र माधवप्रसाद मिश्रले प्रशिक्षण दिएका थिए । श्रेष्ठ नेपालमा चर्चित फिल्म छायाँकार हुन् भने मिश्र ३० वर्षदेखि पोखरामा बसेर फोटोग्राफी गर्दै आएका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मीनराज काफ्लेले प्रतिष्पर्धी क्षमता अभिवृद्धिबाटै व्यवसाय उँभो लाग्ने भएकोले व्यवसायीहरुले प्रतिष्पर्धी क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उनले पुरुषले मात्र गर्दै आएको फोटोग्राफी पेशामा देखिएको महिला आकर्षणको खुलेर प्रशंसा गरे । वरिष्ठ प्रशिक्षक मञ्जुकुमार श्रेष्ठले पोखरा आफैमा तस्वीरको लागि उपयुक्त स्थल भएको बताउँदै सिकेका व्यवहारमा उतार्न आग्रह गरे । पोखरा फोटोग्राफर संघका अध्यक्ष गुरुप्रसाद तिवारीले फोटोग्राफीलाई व्यवसाय र कला दुबै मान्नुपर्नेमा जोड दिए । प्रशिक्षार्थी करिष्मा शर्माले तालीमले आफूहरुमा आत्मविश्वास बढाएको र जस्तोसुकै स्थानमा पनि फोटो खिच्ने हिम्मत बढेको बताइन् । कार्यक्रमको संचालन पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम आचार्यले गरेका थिए ।

Post a Comment

 
Top