0
(प्रकाश सिलवाल)

काठमाडौँ, २५ चैत । सुकेधारास्थित वाग्मती आवासीय उमाविले धुम्रबाराहीस्थित भावना स्टेसनरीमा पुस्तक किन्नुपर्ने सूचना अभिभावकलाई दिएकोे छ ।

त्यस्तै टोखास्थित  सत्य साइ केन्द्र विद्यालयले डिल्लीबजारको हिमालयन पुस्तक पसलबाट मात्र पुस्तक किन्न आफ्ना अभिभावक र विद्यार्थीलाई पत्राचार गरेको छ । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनै लाग्दा नयाँ पुस्तक खरिदका लागि निजी (संस्थागत) विद्यालय र पुुस्तक प्रकाशक तथा बिक्रेताको एक प्रकारको व्यापारको अवसर पनि हो ।
व्यापार र सेवा गर्न पाउने उनीहरूको अधिकार भए पनि एक पेसा र अर्काे पेसाको ‘अघोषित’ मिलेमतो र एकाधिकारका कारण अभिभावक र विद्यार्थी मारमा पर्दै आएका छन् । यस्ता गुनासोको विरोध वा सार्वजनिक आवाज उठाउँदा विद्यार्थीमाथि विद्यालयले फरक व्यवहार गर्न सक्ने भएकाले सम्बन्धित अभिभावक र विद्यार्थी मौन रहन खोजेको पनि पाइएको छ । विद्यालयले विद्यार्थी र अभिभावकले अन्तै पुस्तक किन्लान् भन्ने भयले पुस्तकको सूची पनि विद्यार्थी र अभिभावकलाई दिने गरेका छैनन् ।

निश्चित पुस्तक पसलमा पुस्तक खरिद गर्नुपर्दा टाढा टाढाका अभिभावकलाई पायक नपर्ने, मूल्यमा छुट नपाइने र मोलमोलाइ गर्न  नपाउने बाध्यता परेको छ । विगत वर्षमा पनि यस्ता समस्या र गुनासो आएपछि शिक्षा विभागले अनुगमन गरी विद्यालय हातामा पुस्तक खरिद बिक्री नगर्न, अभिभावकलाई पुस्तकको सूची शैक्षिकसत्र अगावै उपलब्ध गराउन र शिक्षा क्षेत्रमा व्यापार नगर्न निर्देशन दिएको थियो ।

शिक्षा विभागका नीति र निर्र्देशनलाई अटेर गर्ने निजी विद्यालयको पुरानै रोग हो । नीतिनियम पालनाका लागि वकालत गर्दै आएका अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी यस विषयमा आफूहरू पनि थाकिसकेको बताउनुहुन्छ । उहाँले विद्यालयले सम्बन्धित प्रकाशक र कम्पनीसँग नाफा तथा कमिसनको मिलोमतोमा त्यस्ता सूचना दिने गरेको भन्ने धेरै गुनासो आउने गरे पनि सरकारले ठोस कारबाही नगरेका कारण समस्या ज्युँका त्युँ रहेको गुनासो गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाहीले अभिभावकको सुविधाका लागि दिइएका त्यस्ता सूचनालाई व्यापारका रूपमा नजोड्न आग्रह गर्दै भन्नुहुन्छ, “कुन पुस्तक कहाँ पाइन्छ  भन्ने थाहा नहुने हुँदा निश्चित पायक पर्ने ठाउँको पसलबारे जानकारी दिँदा अन्यथा हुँदैन, यो हाम्रो फाइदाका लागि भन्ने होइन, विद्यालय हातामा पुस्तक बिक्री गर्ने कार्य चाहिँ निरुत्साहन गर्नुपर्छ ।”

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपाल विद्यालय हातामा पुस्तक बिक्री वितरण नगर्न गत वर्ष दिइएको निर्देशन पालना हुने क्रम देखिए पनि अन्य गुनासो आइरहेको बताउनुभयो । उहाँले निश्चित पुस्तक पसल तोकेर सिफारिस गर्ने क्रममा अभिभावकलाई बाध्य वा मारमा परेका गुनासा आएमा अनुगमन गरी कारबाही गरिने बताउनुभयो । उहाँले विद्यालयले छापिएको मूल्यमा अर्काे ‘स्टिकर’ टाँसेर बढी मूल्यमा पुस्तक बेचेको पाइएमा पनि कारबाही हुने बताउनुभयो । रासस

Post a Comment

 
Top