0
शान्ति र विकासको लागि सञ्चार ‘रेडियो अन्नपूर्णको (शनिबार) पोखरामा आयोजना हुन लागेको १५ औं बार्षिकोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार विहान ८ बजे दरवार थोक व्याङक्वेटमा हुने बार्षिकोत्सव तथा पोखरा रत्न सम्मान अर्पण समारोहको सम्पुर्ण तयारी पुरा भएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ‘पोखरा रत्न सम्मान २०७१’ बाट बरिष्ठ चिकित्सक डाक्टर कुमारशम्शेर राणा र ‘संगीत प्रतिभा सम्मान’ बाट गीतकार तथा संगीतकार नवराज बराललाई सम्मान गरिने कार्यक्रम रहेको रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले बताए । डा.राणालाई नगद २५ हजार ५ सय ५५्, दोसल्ला र ताम्रपत्रले सम्मान गरिने भएको श्रेष्ठले बताए । विगत् २ दशकदेखि पोखरामा रहेर नेपाली लोक, सुगम, शास्त्रीय तथा भजन संगीतको क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै, ‘संगीत प्रतिभा सम्मान–२०७१’ बाट नवराज बराललाई सम्मान गरिने भएको रेडियोले जनाएको छ । २०५० सालदेखि संगीत क्षेत्रमा क्रियाशिल बरालले गायन, संगीत, संगीत प्रशिक्षण र गीत लेखनका साथै नयाँ प्रतिभा उत्पादन गर्दै नेपाली सांगीतिक फाँटलाई अव्वल बनाउन लागि परेका छन् । कास्कीको पुम्दीभुम्दीमा जन्मिएका बरालको एकल संगीतमा नेपाल आमा, किसानको आवाज, किसानी जिन्दावाद, बाँच्ने रहर, भक्ति उत्सव, जनताका स्वरहरु एल्वम बजारमा आइसकेका छन् । ४४ वर्षीय बरालका मेरो गीत, मेरो संगीत र भजन गंगा गीति संग्रह पनि प्रकाशित छन् । लोक, आधुनिक, पप, भजन, बाल, भाषाभाषी, राष्ट्रिय गीत गरी चार सय भन्दा बढिमा बरालले संगीत दिएका छन् भने ३ सय भन्दा बढि गीत लेखेका छन् । लालीगुराँस कल्चर ग्रूपमा १० बर्ष उपनिर्देशकको रुपमा काम गरेका बरालले २०६१ सालदेखि त्रिवेणी संगीतालयमा संगीत सिकाउँदै आएका छन् । बराल सयपत्री संगीत प्रशिक्षण केन्द्र र जोजिजु म्यूजिक सेण्टरमा पनि संगीत प्रशिक्षक थिए । बरालसँग संगीत प्रशिक्षण लिएका वसन्त सापकोटा, दुर्गा परियार, सिडीविजयी अधिकारी, सविना सुनाम, रामजी पौडेल, आयुष परियार लगायतले नेपाली संगीतमा चर्चा कमाउन सफल भएका छन् ।

Post a Comment

 
Top