विजयको उत्साहबीच चम्पादेवी खड्काको पीडा केही मत्थर त बनेको छ, तर पूरै हटेको छैन । पति वियोगको कठिन घडीमा साहसका साथ निर्वाचनमा होमिएर विजय प्राप्त गर्नु सजिलो थिएन । खड्काको आँट र धैर्यताले उनलाई सफल सिद्ध गरिदिएको छ । स्व सभासद् हरिबहादुर खड्कालाई झैँ उनलाई पनि लोकप्रिय मत प्राप्त भएको छ । पतिको निधनले खड्काको जीवनमा अभिभारामात्रै थपेको छैन, एउटा दुर्लभ अवसरकासामु उभ्याएको छ । स्व पतिको राजनीतिक यात्रा र अनुभवकी साक्षी चम्पादेवीलाई युगले नचाहेर पनि राजनीतिक मैदानमा उतारेको छ । संविधानसभामा वर्ष दिनको कार्यकाल बिताएर सभासद् हरिबहादुर खड्का अस्ताएपछि नेपाली काँग्रेसलाई मात्र सङ्कट आइलागेन । गाउँमा बस्ने मतदातालाई त्यति नै अभाव खट्कियो, हरिबहादुरको जसका लागि खड्काले विकास कार्यक्रम र योजना ल्याउन खोजेका थिए । ‘मैले मत माग्दा कुनै आश्वासन पनि दिएकी छैन, मतदाताले पनि केही माग्नुभएको छैन, मेरो पतिले सुरु गर्नुभएका अधुरा काम पूरा गर्नुछ, सपना पूरा गर्नुछ’, खड्काले भनिन् । खड्काले पतिले डायरीमा सङ्कलन गरेका माग, योजना र कार्यक्रम हेरेर अघि बढ्ने बताइन् । बिजुली, सडक, विद्यालय भवन, महिला भवन, पुल, स्वास्थ्यचौकी, खानेपानीजस्ता क्षेत्रमा मतदाताको माग बढिरहेको उनको भनाइ छ । महिना दिनसम्मको चुनावी अभियानका क्रममा प्रायः सबै मतदाताले विकास निर्माणका योजना ल्याउन माग गरेका थिए । विकास निर्माणका कामसँगै संविधान निर्माणमा प्रभावकारी भूमिका खेल्ने खड्काले बताए । ‘संविधानसभाबाट संविधान लेख्ने प्रक्रियामा सहभागी हुन पाउँदा खुसी लागेको छ, आफूले सक्दो भूमिका संविधान निर्माणमा खेल्नेछु’, खड्काले भने, ‘म एकल महिला पनि भएकाले एकल महिला र समग्र महिलाको पक्षमा काम गर्नेछु, हकअधिकार रक्षाका लागि लड्नेछु ।’ उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, पछाडि पारिएका वर्ग र समुदायका पक्षमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । विसं २०२१ असोजमा जिल्लाको पैँयुपाटा गाविसमा जन्मिएकी खड्काले २०३८ सालमा स्व हरिबहादुर खड्कासँग विवाह गरेकी थिइन ।
विसं २०३७ को प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण खड्काका दुई छोरा एक बुहारी अहिले साथमा छन् । बुबा पदमबहादुर रोका र आमा मीनकुमारी रोकाकी जेठी छोरीका रुपमा जन्मिएकी खड्का १७ हजार १५४ मत लिएर संविधानसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरेकी थिइन । बागलुङ क्षेत्र नं १ का सभासद् हरिबहादुर खड्काको गत मङ्सीरमा सडक दुर्घटनामा परी निधन भएपछि गएको शनिबार यहाँ उपनिर्वाचन भएको थियो ।

Post a Comment