0
पोखराको पुरानो बसपार्कस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालले शुरु गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर जारी रहेको छ । अस्पतालले चैत १५ गतेबाट शुरु गरेको शिविरबाट पाँच सयभन्दा बढि लाभान्वित भएको अध्यक्ष हरिप्रसाद पाण्डेले बताए । सवै वर्ग र क्षेत्रलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले शुरु गरिएको शिविर चैत ३० गतेसम्म चल्ने छ । शिविरमा झण्डै एक हजार पाँच सय जनाले स्वास्थ्य परीक्षण गराउने अपेक्षा गरिएको छ । विगतमा अभियान सामुदायिक अस्पताल र त्यसपछिको शहिद मेमोरियल सामुदायिक अस्पताल नयाँ व्यवस्थापन सहित पश्चिमाञ्चल सामुदायिक अस्पतालको नामबाट संचालन हुन लागेको हो । अस्पताल संचालनको पूर्वसन्ध्यामा स्वास्थ्य परीक्षण शिविर गरिएको अस्पतालका संचालक अर्जुन ज्ञवालीले बताए । शिविरमा प्रसुति, बाल रोग, छाला रोग, मुटु, पेट तथा छाति रोग, हाडजोर्नी, नसा, मुख तथा दन्त रोग लगायतका रोगको परीक्षण गरिने छ । स्वास्थ्य परीक्षण शिविरको अवसर पारेर अस्पतालले केही सेवा निःशुल्क र केही सेवामा सहुलियतको घोषणा पनि गरेको छ । जसमा इसिजी, ब्लड सुगर जाँच निःशुल्क गर्ने, ल्याब र एक्सरे सेवामा २५ प्रतिशत छुट, औषधिमा ६ प्रतिशत छुट र बेड शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ ।  अस्पतालले प्रसुति, बाल रोग, छाला रोग, मुटु, पेट तथा छात्ति रोग, हाडजोर्नी, नसा, मुख तथा दन्त रोग लगायतको उपचार सहित इसिजी, एक्स रे र प्रयोगशाला सेवा प्रदान गर्ने जनाएको छ ।

Post a Comment

 
Top