0
गोल्डेन न्यूज संवाददाता
पोखरा २३ चैत ।
सहमतिको आधारमा नयाँ संविधान जारी गर्नुपर्ने माग राख्दै आएको एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले चैत्र २४, २५ र २६ देशव्यापी रुपमा आम हड्तालको घोषणा गरेको छ । आम हड्तालको क्रममा यातायात, उद्योग, कलकारखाना, सरकारी कार्यालय, शिक्षण संस्था लगायतका क्षेत्रहरु पूर्णरुपमा ठप्प पार्ने मोर्चाले जनाएको छ । हड्तालमा प्रेस, कुटनीतिक नियोगका सवारी साधन, खानेपानी, दूध, मानवअधिकार, एम्बुलेन्स, पर्यटक गाडी भने निर्वाध रुपमा चल्न दिने र बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हुने मोर्चाले जनाएको छ । मोर्चाले तीनदिने आम हड्तालको अघिल्लो दिन सोमबार साँझ पोखरामा मशाल जुलुस प्रदर्शन समेत गरेको छ । पोखराको सभागृहचोकबाट शुरु भएको मशाल जुलुस न्यूरोड हुँदै चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो । मसाल जुलुसमा प्रदर्शनकारीले सहमतिमा संविधान जारी गर ! विगतका सम्झौता कार्यान्वयन गर ! तीन दिने आम हड्ताल सफल पारौं ! जस्ता नारा लगाएका थिए । मशाल जुलुसमा मोर्चामा आवद्ध नेता, कार्यकर्ता र समर्थक सहभागी थिए । कोण सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) का जिल्ला समिति सदस्य मनहरि तिमिल्सिनाले बहुमतीय प्रक्रियाबाट जारी हुने संविधान आफूहरुका लागि मान्य नहुने बताए । उनले भने– संविधान कुनै दलको निजी घोषणापत्र होइन, आम नेपालीको भावनाको मुखरित गर्ने दस्तावेज हो, त्यसैले सहमतिका आधार जारी नहुने संविधान नेपाली जनतालाई मान्य हुन सक्दैन ।’
संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर भूजेलले विगतका सम्झौता लागू गराउन र उत्पीडितहरुको अधिकार स्थापित गर्न आम हड्ताल गर्नुपरेको भन्दै सहयोगका लागि आग्रह गरे । यसैगरी तीस दलीय गठवन्धले आह्वान गरेको तीन दिने नेपाल बन्दलाई सफल पार्ने सोमबार साझ कास्कीको लेखनाथमा मशाल जुलुस निकालिएको छ । लेखनाथको तालचोकबाट निस्किएको जुलुस अर्घाैंचोकमा आएर कोण सभामा परिणत भएको थियो । सोभामा एकीकृत नेकपा माओबादी कास्कीका उपाध्यक्ष गंगा पोख्रेल र संघिय समाजबादी पाटी कास्कीका उपाध्यक्ष मान बहादुर गुरुङले बोलेका थिए ।
यसैबीच अदालतले फैसला गरेको र विचारधीन अवस्थामा रहेका मुद्धाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्न नसक्ने भनी सर्वोच्च अदालतले हालै गरेको फैसलाको विरोधमा कास्कीमा क्रियाशील ६ माओवादी घटकले सोमबार पोखरामा संयुक्त विरोध प्रदर्शन कार्यक्रम गरेका छन् । विरोध प्रदर्शनमा कास्कीमा क्रियाशील प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी), परि थापा नेतृत्वको नेकपा (एकीकृत) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । चिप्लेढुङ्गाबाट सुरु भएको विरोध जुलुस महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा एमाओवादी पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारी, नेकपा–माओवादीका पोलिट्ब्यूरो सदस्य यशोदा सुवेदी, नेकपा माओवादीका केन्द्रीय सदस्य सावित्री दुरा,  एमाओवादी नेता बखानसिंह गुरुङले संयुक्त मोर्चालाई पार्टी एकताको स्तरमा उठाउन सबैले आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताएका थिए ।

Post a Comment

 
Top