0
डेमसाइड क्लब र पोखरा भ्याली स्पोर्टस् क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तर क्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा डेमसाइड क्लबले गार्डेन एफसीलाई १–० ले पराजित ग¥यो।डेमसाइडको जीतमा पहिलो हाफको ३८ मिनेटमा सुविन गिरीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । दोस्रो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले सहारा क्लबलाई २–१ ले हरायो । भ्यालीको जीतमा सञ्जय बुढाथोकी र गोविन थापाले एक–एक गोल गरेका थिए । सहाराका लागि विजय श्रेष्ठले ७० मिनेटमा सान्त्वना गोल फर्काएका थिए । सो खेलमा पोखरा भ्यालीका विनोद गुरुङले डबल एलो (रेड) कार्ड खाएका छन् । एउटै खेलमा डबल एलो (रेड) कार्ड खाने विनोद प्रतियोगितामा दोस्रो खेलाडी हुन् । यसअघि लिगचरणमा सत्य युवा क्लबविरुद्धको खेलमा डेभिडफल क्लबका राजकुमार गुरुङले डबल एलो (रेड) कार्ड खाएका थिए । यस्तै सहाराका सन्तोष अर्यालले एलोकार्ड खाएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत बुधबार डेमसाइड र पोखरा भ्याली स्पार्टस् क्लबबीच उपाधिको लागि प्रतिस्पर्धा हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए ।

Post a Comment

 
Top