0
आर्थिक विषयका कारण विगत लामो समयदेखि अधिवेशन हुन नसकेको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ । नेपाली कांग्रेसका जनसम्पर्क समिति विभागका प्रमुख अर्जुन जोशीले पत्रमार्फत प्रमु सापकोटालाई संयोजकको जिम्मा दिएपछि समितिले नयाँ नेतृत्व पाएको हो । सोमवार दिईएको पत्रमा सापकोटा नेतृत्वको १८ सदस्यीय समितिलाई अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिईएको छ । तीन महिनाभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशनका साथ तोकिएको समतिका अन्य सदस्यहरुमा सुरेश गुरुङ, दिनेशराज जोशी, पुरुषोत्तम मिश्र, परसुराम अधिकारी, किरण बराल, दुर्गा आचार्य, सन्तोष सिटौला (खगेन्द्र), अभिमन्यु केसी, सिजन गिरी, नारायण काफ्ले, पुननाथ घिमिरे लगायतको नाम रहेका छन् । त्यसैगरी विभागद्वारा ७ सदस्य सल्लाहकारको नाम समेत पत्रमा नै उल्लेख गर्दै सल्लाहकार समिति पनि गठन गरीएको छ । नयाँ समितिका सदस्य रहेका किरण बराल विगतमा कास्कीमा नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्वमा रहँदै आएका थिए । विगत केही वर्षदेखि अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका बराल सानै उमेरमा नेपाली कांग्रेस तथा यसका भातृ संगठन एवं विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका छन् । नयाँ समिति गठनपछि कुरा गर्दै बरालले विवादलाई मिलाउँदै अधिवेशन गराउनका निम्ति आफहरु एकढिक्का भएर लाग्ने जानकारी दिए ।
त्यसैगरी नवगठित समितिका संयोजक सापकोटाले विज्ञप्तिमार्फत पार्टी र विभागले दिएको निर्देशन अनुरुप कार्य सम्पादन गरी अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरुको भावनालाई सम्मान गर्ने बताएका छन् । ‘एक आपसमा सद्भाव कायम गर्दै विगतका कमि कमजोरीलाई दोहोरिन नदिई जनसम्पर्क समिति अष्ट्रेलियाको गतिबिधिलाई अघि बढाउँदै क्रियाशिल सदस्यता वितरण तथा अधिवेशनको तयारीमा जुट्ने छौं ।’–विज्ञप्तिमा भनिएको छ ।

Post a Comment

 
Top