पोखरा २५ चैत । जिल्ला शिक्षा कार्यालय
कास्कीले विद्यालय अर्भा अभियानसँगै नाजुक अवस्थामा रहेका विद्यालय गाभ्ने
प्रक्रिया थाल्ने भएको छ । कास्कीमा रहेका नाजुक विद्यालयहरुको तथ्याङ्क
तयार पर्ने का भैरहेको नयाँ बर्षसँगै सुरु हुने भर्ना अभियानसँगै कास्कीमा
रहेका नाजुक विद्यालयहरुको गाभ्ने प्रक्रिया सुरु हुने भएको हो ।
कास्कीमा अहिले करिव १ सय ३२ सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हचुवाका भरमा भेग, जनसंख्या नहेरी स्थापित यस्ता विद्यालय समुदाय, शिक्षक र शिक्षा कार्यालयका लागि टाउको दुखाइ बन्न थालेका छन् ।विद्यालयको एक अर्काबीचको दूरी, विद्यार्थी संख्या, समुदायको आयस्तर र भौगोलिक बनावट ख्यालै नगरी खोलिएका विद्यालयको व्यवस्थापनमा लागिएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।
अधिकांश प्राथमिक तहका विद्यालयमा
विद्यार्थीको संख्या कम हुँदै गएको उनले बताए ।‘शिक्षा नियमावली २०५९
अनुसार ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्छ । कास्कीमा यो संभव नै छैन’
जिल्ला शिक्षा अधिकारी आचार्यले भने । तर, कास्कीमा दरबन्दी मिलान गर्दा
शिक्षा समितिले बिस जना बराबर एक शिक्षक हुनुपर्ने नियम बनाएको छ ।
प्राथमिक तहका केही विद्यालयमा बीस जना पनि छैनन् । त्यस्ता विद्यालयहरुलाई
गाभ्ने अभियानमा जिल्ला शिक्षा कार्यालय लागेको छ ।‘कुन विद्यालयमा
विद्यार्थीको संख्या कति छ त भनेर हामीले तत्थ्याङ्क लिन सुरु गरेका छौं ।
तत्थ्याङ्क आउने बित्तिकै हामी विद्यालय मिलानको प्रक्रिया सुरु गछौं’,
आचार्यले भने ।
ग्रामिण क्षेत्रमा बसाईंसराईं र शहरी
क्षेत्रमा बोर्डिङ स्कूलका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या
कम हुँदै गएको शिक्षा कार्यालय बताउँछ । ग्रामिण भेगमा अधिकांश प्राथमिक
विद्यालयमा विद्यार्थीको संख्या कम रहेको उनको भनाई छ ।कास्कीमा अहिलेसम्म
२६ वटा विद्यालय गाभिएका छन् । ‘विद्यालयको संख्या बढाउनुभन्दा सरकारी
विद्यालयलाई गाभ्ने र तह घटाएर विद्यार्थी बढाउने अभियानमा लाग्नेछौं’,
आचार्यले भने । गाउँका मान्छे शहर केन्द्रीत हुँदै जानु र शहरमा निजी
विद्यालयहरुको आकर्षणमा कारण सामुदायिक विद्यालय अहिले विद्यार्थी विहीन
हुने बाटोमा उन्मुख छन् । विद्यार्थी संख्या कम भएका विद्यालयको वास्तविक
तत्थ्याङ्क निकाल्न स्रोत व्यक्ति र विद्यालय निरक्षिकहरुले काम गरिरहेका
छन् । त्यस लगत्तै विद्यालय गाभ्ने प्रक्रिया सुरु हुने जिल्ला शिक्षा
कार्यालयले जनाएको छ ।
Post a Comment