बाह्रौंं फेवा नव वर्ष महोत्सवको सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन पूर्ण रुपमा सघाउने प्रतिबद्धता सुरक्षा निकायका तर्फबाट व्यक्त गरिएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २८ देखि वैशाख २ गतेसम्म बसुन्धरा पार्कमा आयोजना हुन गइरहेको उक्त महोत्सवका लागि सुरक्षामा कुनै कमी हुन नदिइने पश्चिमाञ्चलका क्षेत्रीय प्रसाशक दिनेशकुमार थपलियाले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अरु सबै अवस्थामा पनि सुरक्षाका मामलामा पश्चिमाञ्चलको सुरक्षालाई हामीले आफ्नो तर्फबाट कुनै कमजोरी हुन दिएका हुँदैनौं ।’ उनले भने– फेवा महोत्सवलाई सफल पार्न हाम्रो तर्फबाट पूर्ण सु?क्षाको प्रत्याभुति प्रदान गरिने छ । महोत्सवलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा सुरक्षा निकायसँग छलफल गर्न पश्चिमाञ्चल होटल संघ पोखराले हालै एक छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चलका प्रहरी नायव महानिरीक्षक–डीआईजी पंकजकुमार श्रेष्ठले महोत्सव आयोजना गर्न सडक रोकिने र आपतकालिन अवस्थामा सवारी, एम्वुलेन्स वा दमकल आवतजावत गर्न कुनै समस्या हुन नहुने भनाई राखेका थिए । उनले बाहिरबाट आफ्नो सवारी लिएर पोखरा घुम्न आउने पर्यटक आफू बस्ने होटल सम्म सहज रुपमा जान पाउने वातावरणमा समेत आँच आउन नहुने सुझाव राखे । संघले महोत्सव अन्तर्गत चैत ३० गते साँझ ५ देखि १२ बजेसम्म र वैशाख १ गते साँझ ५ देखि १२ बजेसम्म लेकसाइडको सडकमा नो भेकल जोन घोषणा गरी सडक महोत्सव जस्तो कार्यक्रम समेत आयोजना गरिने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिएका छन् । रेष्टुराँ अगाडि सडकमा अवरोध नहुने गरी फुटपाथ वरपरसम्म मात्र कुर्ची टेवल राखी सेवा दिने उद्धेश्य सडक महोत्सवमा राखिएको फेवा नव वर्ष महोत्सवका संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए । रेवान, स्थानीय आमा समूह, क्लव, राजनीतिक दल र स्थानीय सरोकारवालासँग छलफल गरी सबै सकारात्मक देखिएपछि यस्तो कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष पराजुलीले बताएका छन् । नेपाली संस्कृतिको संरक्षण र फेवा संरक्षणका लागि फेवा नव वर्ष महोत्सव आयोजना गरिएको जानकारी पनि उनले दिए । कार्यक्रममा सुरक्षा निकायका तर्फबाट महोत्सवका अवसरमा पार्किङलाई व्यवस्थित गरिनुपर्ने, सकेसम्म पार्किङ शुल्क लिन नहुने र लिए पनि न्यून लिनुपर्ने, शुल्क लिएपछि सवारीको सुरक्षा गरिदिनुपर्ने जस्ता सुझावहरु दिएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले महोत्सवको अघि र पछि सरसफाईका कार्यक्रम आयोजना गर्न सुझाव दिंदै मेला महोत्सवको हिसावकिताव पारदर्शी हुनुपर्ने भनाई राखे । उनले महोत्वको सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । पार्किङ शुल्क लिने प्रक्रिया नियमसंगत हुनुपर्ने भनाई पनि उनले राखे । कास्कीका प्रहरी प्रमुख हरिवहादुर पालले महोत्सवको पार्किङस्थल बारे सबैलाई मिडिया मार्फत सूचना दिनुपर्ने बताउँदै सुरक्षाकर्मीसँग सहकार्य गरेर काम गर्न आयोजक समितिलाई आग्रह गरेको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । सो अवसरमा महोत्सवको सुरक्षा उपसमितिका संयोजक नरेशवहादुर भट्टराईले महोत्सवलाई सफल पार्न सुरक्षा निकायका तर्फबाट व्यक्त गरिएको प्रतिबद्धता प्रति सराहना व्यक्त गरे । सडक महोत्सवका अवसरमा विभिन्न फिडर रोड मार्फत एक्सेसको व्यवस्थामा कुनै व्यवधान नहुने भनाई उनले राखे । रेवान पोखराका अध्यक्ष गोपिवहादुर भट्टराईले विभिन्न शाखा सडकबाट लेकसाइडको हरेक क्षेत्र, होटल वा गन्तव्यमा पर्यटक र स्थानीय पुग्न सक्ने बताउँदै सडक महोत्सवका अवसरमा सडकमा नाचगान र नेपाली संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरिने भनाई राखे ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
मनोरञ्जन
»
महत्वपूर्ण समाचार
» फेवा महोत्सवलाई सुरक्षित बनाइने
Subscribe to:
Post Comments (Atom)
Post a Comment