0
नयाँ वर्ष २०७२ को प्रवेशको अवसरमा विश्व शान्ति स्तूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि संचालन गरिएको शान्ति स्तूप जाऔं, मनमा शान्ति जगाउँ भन्ने अभियान अन्तर्गत मंगलबार अर्थात नयाँवर्षको पहिलो दिनमा नै चार हजार भन्दा बढी मानिस त्यहाँ पुगेका छन् । विश्व शान्ति स्तूप व्यवस्थापन समितिले उक्त अभियान शुरु गरेको हो । अभियान अन्तर्गत नयाँ वर्षको पहिलो दिन बिहान बुद्ध पूजा र पञ्चशील प्रार्थना भिक्षु श्रद्धानन्द र लामा मिन गुरुबाट भएको थियो भने ज्ञानमाला संघका रामभक्त जोजिजू विक्रम उदास, सुवर्ण वज्राचार्य र गीता नेपाली लगायतले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । दिनभर जसो त्यहाँ पुगेका आन्तरिक र बाह्य पर्यटकसंग शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको र कार्यक्रममा युवा वौद्धसंघ, धर्कोदय सभा, उपासिका संघ, दायक सभा, माछापुच्छ«े बुद्ध विहार लगायतका संस्थाका प्रतिनिधिहरु सहभागी थिए । स्तूपा क्षेत्रमा आएका सबैलाई चक्लेट र व्याज वितरण गरिएको समितिका सचिव उत्तममान बुद्धाचार्यले गोल्डेन न्यूज दैनिकलाई बताए । समितिका अध्यक्ष प्रकाशमान गुभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजको विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नयाँ वर्षको अघिल्लो दिन सोमबार बेलुका स्थानीय आमा समूह र क्लवको सहभागितामा शान्ति स्तूप व्यवस्थापन समितिले भैषज्य पूजा, भजन र शान्तिदीप यात्रा गरेको थियो ।
यसैबीच यहि वैशाख ८ गते स्तूपाको सहयोगार्थ काठमाडौंको बौद्ध स्तूपाबाट पोखराको शान्ति स्तूपसम्म शान्ति दौड हुने भएको छ । वैकुण्ठ मानन्धर, रत्न तुलाधर, वुद्धवीर लामा लगायत १६ जना राष्ट्रिय धावकहरु शान्तिदौड दिएर वैशाख ११ गते पोखरा आउने, १२ गते पोखरा रङ्गशालामा खेलकूदसंग सम्बन्धित संस्थाहरुको सहभागितामा विशेष कार्यक्रम हुने  र वैशाख १३ गतेबाट बुद्ध जयन्तीको अवसरमा विश्व शान्ति स्तूपमा साप्ताहिक कार्यक्रम आयोजना गरिएको समितिका सचिव बुद्धाचार्यले जानकारी दिए ।

Post a Comment

 
Top