0
वैदेशिक रोजगार अहिले नेपाली अर्थतन्त्रको मुख्य आधार बन्न पुगेको छ । आप्रवासनका कारण नेपाली समाजमा दूरगामी प्रकारका नकारात्मक असर पर्ने त निश्चित नै छ तर तत्कालका लागि सामाजिकभन्दा आर्थिक दृष्टिकोणबाट हेर्दा वैदेशिक रोजगार नेपाली युवाहरुका लागि बाध्यात्मक विकल्प बन्न पुगेको छ । नेपाली युवाहरुको ठूलो हिस्सा बिदेशमा छ । अहिले वर्षेनी पाँच लाख युवाहरुले श्रम स्वीकृति लिइरहेका छन् । अहिलेसम्म ३४ लाख ४७ हजार ४ सय २४ जना श्रम स्वीकृति लिएरै वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृतिविना पनि ठूलो संख्यामा नेपालीहरु बिदेशमा रहेका छन् । झण्डै तीन करोड जनसंख्यामध्ये एक करोड बढी रहेका युवाहरुमा अधिकांश बिदेशमा छन् । उनीहरुले पठाएको विप्रेषणबाट देश चलिरहेको छ । गत आथिर्थ वर्षको तथ्यांक हेर्ने हो भने पनि नेपालको कूल बजेटभन्दा विदेशिएका युवाहरुले पठाएको विप्रषण झण्डै दोब्बर छ । नेपाली युवाहरुले गएको आथिर्थ वर्षमा पाँच खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण पठाएका छन् । देशभरिको स्थिति हेर्ने हो भने ५६ प्रतिशत घरपरिवार त्यही विप्रेषणबाट नै पालिएका छन् । यति ठूलो संख्यामा युवाहरु क्रियाशील रहेको र अर्थतन्त्रको ठूलो हिस्सा धानेको वैदेशिक रोजगार सुरक्षित हुन सकेको छैन । यो अहिलेको ठूलो चुनौती हो । वैदेशिक रोजगारको पहिलो चुनौती भनेको युवाहरुको भौतिक सुरक्षा हो । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई सकुशल नेपाल फर्कने स्थिति कसरी बनाउने ? यो नै बैदेशिक रोजगारका सन्दर्भमा पहिलो चुनौती हो । स्वयं सरकारी तथ्यांक बोल्छ– बैदशिक रोजगारीमा गएकामध्ये वर्षे्नि आठ सय ८० जनाको शव नेपाल फर्कन्छ । हरेक दिनजसो दुई–तीनजनाको शव नेपाल आइरहेको हुन्छ । जतिसुकै धेरै विप्रषण आए पनि एउटा मात्र नेपालीको विदेशमा ज्यान जानु दुःखद छ । यो क्रमलाई रोक्न राज्यलगायत सरोकारवालाहरुले सम्पूर्ण ध्यान लगाउनुपर्छ । दोस्रो चुनौती हो, बैदेशिक रोजगारीमा गएका युवाहरुको पेशागत सुरक्षा र सम्मान । वैदेशिक रोजगारीमा गएका युवाहरुको भरपर्दो पेशागत सुरक्षा छैन । भनेजस्तो काम नहुने वा बीचमै कामबाट हटाइने स्थितिले धेरै नेपाली रित्तो हात नेपाल फर्कन बाध्य छन् भने त्यहाँ रहनेहरुले पनि उचित सम्मान र सम्झौता बमोजिम पारिश्रमिक पाउन सकिरहेका छैनन् । यसको मुख्य कारण हामीसँग दक्ष जनशक्ति नहुनु नै हो । नेपालमा अहिले मुस्किलले एक प्रतिशत मात्र दक्ष जनशक्ति विदेश जाने गरेका छन् । बाँकी २५ प्रतिशत अर्धदक्ष र ७४ प्रतिशत अदक्ष युवा विदेश जाने गरेका छन् । जसले पनि सीप र श्रमलाई नै पैसा दिने हो, त्यसैले कम्तिमा नेपालबाट बिदेश जाने अधिकांश युवाहरु अर्धदक्षसम्म बन्न सके उनीहरुको पेशागत सुरक्षा र सम्मान अझ बढी सुनिश्चित हुनेछ । वैदेशिक रोजगार व्यवस्थित हुन नसक्नु पनि ठूलो चुनौतीको रुपमा देखा परेको छ । सरकारको वैदेशिक रोजगार विभागले कुनै देशमा लाग्ने निश्चित रकम भनेको हुन्छ । तर विदेश जाने युवाहरुले त्यसको झण्डै दोब्बर रकम तिरिरहेका हुन्छन् । यसलाई व्यवस्थित गर्ने काम राज्यको हो । यी सबै चुनौतीको सामना गर्न राज्यले गाउँ तहदेखि केन्द्रसम्म सचेतनादेखि नियमन र कारवाहीसम्मका कार्यक्रम अघि बढाउन आवश्यक छ । त्यस्तै युवाहरुले बिदेशबाट पठाएको विप्रेषण सदुपयोगको सवालमा पनि राज्यले स्पष्ट नीति बनाउन सके यति ठूलो रकम सदुपयोगमा टेवा पुग्नेछ र देशभित्रै ठूलो लगानीको अवसर सिर्जना हुनेछ । अहिले लगानीको अभावमा जलविद्युत लगायतका ठूला आयोजनाहरु ठप्प छन् । वर्षमा आउने पाँच खर्बमध्ये एक चौथाइ रकम मात्रै पनि राज्यले लगानी सुरक्षाको ग्यारेन्टी गरेर ठूला जलविद्युत वा अन्य नाफामुखी आयोजनामा लगानी गर्ने नीति र वातावरण बनाउने हो भने विकासका लागि विदेशीको मुख ताक्नुपर्ने स्थिति अन्त्य हुनेछ । हरेक युवा विदेशबाट फर्कदा निश्चित कम्पनीको मालिक बन्ने स्थिति बन्यो भने फेरि विदेश गइरहनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

Post a Comment

 
Top