0
राजनीतिक दलको सक्रियता विना लोकतन्त्र फस्टाउन नसक्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । उनीहरुले लोकतन्त्रमा दलको भूमिका गौण बने निरंकुशता जन्मने बताएका थिए । लोकतन्त्र दिवसको अवसरमा शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखरा, जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्की र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलयले आयोजना गरेको लोकतन्त्रको संस्थागत विकासमा राजनीतिक दलको भूमिका विषयक कार्यक्रममा उनीहरुले लोकतन्त्रको संस्थागत विकासमा राजनितिक दलको भूमिका सर्वोपरी हुने बताए । कार्यक्रममा प्रा.डा.विश्वकल्याण पराजुलीले २०६३ बैशाख ११ गते लोकतन्त्रको घोषणा भए यता राजनीतिक दल शक्तिशाली भएपनि लोकतन्त्रलाई संस्थागत गर्न नसकेको बताए ।
दलहरुमा आन्तरिक लोकतन्त्र सुदृढ नभएसम्म मुलुकको लोकतान्त्रिकीकरण सम्भव नभएको उल्लेख गर्दै डा.पराजुलीले जनताको सहभागिता विना लोकतन्त्र बलियो नहुने धारणा राखे । जनतालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी बनाउनका लागि आवधिक निर्वाचन आवश्यक भएको चर्चा गर्दै पराजुलीले चाँडो भन्दा चाँडो स्थानीय निकायको निर्वाचन गरे लोकतन्त्र बलियो हुने स्पष्ट पारे ।नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जनताले अनुभूत नगरेसम्म लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने बताए ।  लोकतन्त्रलाई संस्थागत गर्न दलहरुको भूमिका अनिवार्य भएको उल्लेख गर्दै थापाले लोकतन्त्रको संस्थागत विकास गर्न ढिलाई नगरी राजनीतिक दल इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राखे । पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख तथा नेपाल प्राज्ञमञ्च पोखराका अध्यक्ष डा.पशुपतिनाथ तिमल्सेनाले राजनीतिक दलप्रति अविश्वास बढेको नभइ दलका केही नेताका क्रियाकलापप्रति असन्तुष्टि बढेको विचार व्यक्त गरे । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक टिकाराम पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका भएपनि दलहरुले नेतृत्व गर्न नसकेको बताए । उनले राजनीतिक दलले नेतृत्व गर्न नसक्दा लोकतन्त्र संस्थागत हुन नसकेको धारणा राखे । राजनीति सबै चिज नभएको उल्लेख गर्दै पोखरेलले जनताका अधिकारलाई लेनदेनको विषय बनाउन नपाइने बताए । कति प्रदेश बनाउने सवाललाई  द्वन्द्वपिडीतका आँशुसंग लेनदेन गर्न नपाइने तर्क गर्दै पोखरेलले राजनीतिका नाममा अराजनैतिक लेनादेना गर्ने अधिकार कसैलाई नभएको बताए । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज मानव अधिकारकर्मी टेकनाथ बराल, एनेकपा माओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल, प्राध्यापक पदमशरण रेग्मी, वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका सदस्य विजया सुवेदी, शहिद भिमसेन दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष सविता दाहाल लगायतले अ–आफ्ना भनाइ राखेका थिए ।

Post a Comment

 
Top