0
 
एकाबिहानै सुकेधाराबाट सार्वजनिक यातायातमा चढेर नयाँ बानेश्वर आउँदै गर्दा छेवैमा बसेका एक युवकले भने- ‘भारतले त्यत्रो सहायता गरिरहेको छ, हाम्रो सरकार चाँहि खत्तम ।’)लगत्तै अर्का एक जनाले प्रतिवाद गरे, ‘गर्छ, इण्डियाले ! आफ्ना मान्छे ओसार्न प्लेन र गाडी लिएर आइरहेको छ ।’फेरि असन्तुष्ट युवकले प्रतिवाद गरे- ‘राहत त इण्डियाले पहिले दियो नि । नेपाल सरकारले के गर्‍यो ? ट्याक्सीले १ हजारसम्म भाडा माग्छ, घर फर्कनलाई गाडी छैन । फोन छैन, पानी छैन । पसलहरु खुलेका छैनन् । हामी पैसा नहुनेहरु यत्तिकै मर्नु ?’‘त्यस्ता ठग ट्याक्सीवालाई समातेर पुलिसलाई बुझाउनुपर्छ’ गाडीभित्रैबाट अर्को आवाज आयो, यस्तो विपतको बेलामा ठग्नेलाई त्यहीँ ठाउँको ठाउँमा कुटिदिन्छु म त ।’मंगलबार विहान फाट्टफुट्ट चलेका गाडीमा बालबच्चा र महिलाको समेत भीड थियो । उनीहरु सबै काठमाडौं छाडेर घर र्फकन कलंकीतर्फ अघि बढिरहेका थिए ।नेपालको सरकारले केही गरेन भन्दै भारतको प्रशंसा गर्ने युवकले पनि पनि रौतहट फर्कनका लागि कलंकी जान लागेको बताए । उनको घर भत्किएको थिएन, तर उनले काठमाडौंमा बस्न मन नलागेर गाउँ जान लागेको बताए ।अर्का युवकचाँहि गोरखाका रहेछन् । गाउँमा आफ्नो घर भत्किएकाले बाध्य भएर गाउँ फर्कन लागेको उनले बताए ।काठमाडौंबाट बाहिर जान चाहनेहरु तीनखालका थिए । कोही राजधानीको डेरा भत्किएका, कोही गाउामा घर भत्किएका र कोही चाँहि आत्तिएर, डराएर त्यत्तिकै हावाको तालमा । यिनै हावाको तालमा राजधानी छाड्नेहरुकै कारण कलंकी, गौशाला, नयाँ बसपार्क लगायतका स्थानमा भीड बढेको छ ।यस्तोबेलामा कलंकी लगायतका स्थानमा सरकार वा दलहहरुका भातृ संगठनले स्वयंसेवकको भूमिका खेल्न आवश्यक देखिए पनि  सरकारलाई राजधानीबासीको यो समस्याबारे जानकारी छैन । सुशील कोइराला, केपी ओली र प्रचण्डलाई यस्तो बेलामा जनतालाई आतंकित नहुन सहयोग गर्नुपर्छ भन्ने थाहा छैन ।थाहा दिनुपर्ने सरकारी गुप्तचर, दलका कार्यकर्ता कोही पनि  देखिँदैनन् सडकमा । काठमाडौंको वातावरण एकाएक सुनसान बनेको छ । सरकार मोफसलमा त के, सिंहदरबारकै आसपास पनि छैन । साँखुमा बजारै भत्केर सखाप हुँदा पनि सरकारको उपस्थिति छैन । ललितपुरको खोकनामा त्यस्तै छ । के सरकार, के विपक्षी सबैको हालत लाचार छ । अरुबेला ३० दलको बैठक बस्थ्यो, सर्वदलीय बैठक बस्थ्यो, अहिले केही पनि छैन । मानिसहरु आफ्नो सरकारलाई गाली गर्दै भारत सरकारको प्रशंसा गर्ने स्थितिमा पुगेका छन् । राज्य नै कमजोर र निरीह बनेको छ ।साधन स्रोतले मात्र होइन, नेतृत्वले पनि धोका दियोनेपालमा एउटा जिल्ला सदरमुकाम जल्दा राज्यसँग दमकल र आवश्यक उद्दार सामाग्रीको अभाव हुने गर्छ । केही सेकेन्डमै करिब ३० जिल्लामा हजारौंको ज्यान जाने गरी एक साथ आएको महाविपत्तिमा नेपाल सरकार र दलहरुको व्यवस्थापकीय क्षमता कामै नलाग्ने निकम्बा प्रमाणित भएको छ ।प्रधानमन्त्री सुशील कोइराला भूकम्प आएको भोलिपल्ट जकार्ताबाट फर्किए । उनी त्रिपाल टाँगेको ठाउँमा चिसो लाग्ने भएकाले बालुवाटारको तल्लो तलामा क्याविनेट मिटिङ हलमै सुते ।  ‘राहतमा कुनै कसर बाँकी नराख्नु’ भन्नुबाहेक प्रधानमन्त्रीको भूमिका प्रभावकारी देखिएन ।मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका प्रधानमन्त्री जिल्ला जिल्लामा भएको क्षतिबारे बुझ्न हिँडेनन् ।काठमाडौंकै अस्पतालसम्म पुग्ने कष्ट प्रधानमन्त्रीले गरेनन् । विदेशीहरु कुकुर र राहत सामाग्रीसहित एयरपोर्टमा ओर्लेर हामी कता जाऔं भनेर सोधिरहेका छन्, सरकारी अधिकारीसँग भागमा आएको राहत जनतासम्म पुर्‍याउने ल्याकत र अक्कल छैन ।काठमाडौंमै तीन दिनसम्म जिउँदो मानिसलाई निकाल्न सक्ने सामाग्री देशमा छैन, विकट पहाडी गाउँसम्म सरकार पुग्नलाई त सम्भवतः महिनौं लाग्ला ।नेपाली सेनाबारे विवाद, विदेशीलाई स्वागतउद्धार कार्यमा राजनीतिक नेतृत्व निकम्बा देखिए पनि सुरक्षाकर्मीको सक्रियता सीमित स्रोतका बाबजुद पनि सह्रानीय नै देखिएको  छ । तर, यस्तो बेलामा नेपाली सेनालाई बाहिर निकाल्ने कि ननिकाल्ने भन्ने अनावश्यक विवादमा केही दलका नेताहरु रुमलिएको देखियो ।भारतीय सैनिक र अन्य विदेशीहरु नेपालमा आएर उद्दारमा खटिइरहेका बेला नेपाली सेनाजस्तो राष्ट्रको निधिको भूमिकामाथि प्रश्न उठाउने नेपालका नेताहरुको असक्षमता र संकीर्णताको अर्को उदारहण के हुन सक्छ ?दलले गर्न सक्ने  कामयस्तो महाविपत्तिका बेलामा दलका नेता कार्यकर्ताले गर्न सक्ने काम सेना र प्रहरीको भन्दा कम छैन । २२/२५ लाख कार्यकर्ता कांग्रेस र एमालेसँग छन् । एमाओवादीसँग पनि १०/१५ लाख कार्यकर्ता रहेको दाबी छ । अरुबेला ठूला क्रान्ति र आन्दोलनका कुरा गर्ने वैद्य, विप्लव, आदिवासी जनजाति पार्टी र मधेसी दलहरु एकाएक हराएका छन् । उनीहरुले पनि गाउँ गाउँमा खटिएर घाइते र पीडितहरु उद्दार गर्न सक्छन् ।यी सबै दलहरुले आफ्ना कार्यकर्तालाई सबै जिल्लामा खटाउन सक्छन् । घरघरमा गएर उद्दार गर्न सक्छन् । कमसेकम कहाँ ठूलो विपद आइलागेको छ भनेर सुरक्षाकर्मीलाई सूचनासम्म दिन सक्छन् । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन सक्छन् । नआत्तिन आग्रह गर्न सक्छन् । राजधानीमा ड्युटी गरेर चोरहरुबाट जनतालाई जोगाउन सक्छन् । विदेशीहरु खटिएका ठाउँमा हुने मूर्ति चोरीको सम्भावनालाई रोक्न, गोठालोको भूमिका यतिबेला दलका कार्यकर्ताहरुले गर्न सक्छन् । तर, यो केही पनि गरेको देखिएन ।नेताहरु कानमा तेल हालेर आफ्नै निवासको प्राङ्गणमा त्रिपाल ओढेर सुतेका छन् । चाहे प्रचण्ड, केपी ओली, माधव नेपाल र शेरबहादुर देउवाहरु नै किन नहुन् ।अहिले पनि ढीलो भइहालेको छैन । सबै दलका नेता कार्यकर्ता तत्काल जिल्ला-जिल्लामा जाउन् । घर भत्केकाहरुलाई स्याउले छाप्रो बनाउन सघाउन् । खाने समस्या भएकाहरुलाई राहत संलन, चन्दा संकलन गरुन् । जनताको सेवा गरुन् । यस्तो बेलामा प्रहरी र सेनाको मात्रै भर परेर हुँदैन ।राजधानीका मूति एवं बहुमूल्य सामाग्रीको रक्षाका लागि विशेष रखवारी गर्न जरुरी छ । आत्तिएर जिल्लातिर फर्कन खोजिरहेको भीडलाई तत्काल कम गर्न र शान्त्वना दिन जरुरी छ । तर, मन्त्री र नेताहरु यतिबेला किंकर्तव्यविमूढ जस्तै देखिएका छन् । राजधानीमै कालोबजारी र लुटपाट मच्चिएको छ । सरकारी अधिकारीहरुलाई सरकारी गाडीमा आफ्नै परिवारका सदस्यलाई उद्दार गर्न भ्याई नभ्याई छ ।भूकम्प आएको भोलिपल्ट राजधानीमा यातायात ठप्प भयो । एक्काइशौं शताब्दीको सरकारले तीन दिनसम्म इन्टरनेट ठप्प हुँदा सेवा प्रदायकहरुलाई खबरदारी गर्न सकेन । विदेशमा रहेका आफन्तजनले इन्टरनेटको अभावमा तड्पिनुपर्‍यो । तीन दिनसम्म इन्टरनेट नचल्दा पनि सरकार मौन रहनु सामान्य विषय होइन । दैनिक पत्रिकासमेत बन्द हुने स्थिति सामान्य होइन ।नेपालका मिडियालाई नै छायाँमा पार्ने गरी भारतीय पत्रकार काठमाडौं आए । उनीहरुले समाचार कभरेज गर्नु त ठिकै थियो, तर नेपालमा सरकारै छैन र दिल्लीबाटै मात्र सरकार चलिरहेको छ कि भनेजस्तो देखियो । नेपालका मिडिया पनि कमजोर देखिए । उनीहरुले भारतीयले जति पनि जनतालाई सूसूचित गर्न सकेनन् ।यद्यपि सोमबार दिउँसो बसेको सचिवहरुको बैठकले केही सकारात्मक निर्णय गरेको छ । भूकम्प फेरि पनि आउने अफवाहलाई चिर्ने, सात जिल्लालाई गम्भीर संकटग्रस्त घोषणा गरेर हेलिकोप्टर पठाउने, यातायात सुचारु गराउने, पानी, खाद्यान्न आदिमा कालोबजारी हुन नदिने लगायतका विषयमा केही सकारात्मक निर्णय भएका छन् ।तर, यो विपत्तिमा फेरि पनि सुरक्षा निकाय र कर्मचारी प्रशासनको तुलनामा राजनीतिक नेतृत्व भने पूर्णरुपमा सुस्त र क्षमताविहीन प्रमाणित भएको छ । हेरौं, अबका बाँकी दिनमा दलका नेताहरुले कसरी आफ्ना जनताको सेवा गर्छन् । या कलंकी जान गाडी चढेका युवकले जस्तै आफ्नो देशको नेतृत्वप्रति जनतामा थप विश्वास गुम्दै जाने हो, भूकम्पको त्रासदीभन्दा ठूलो त्रासदी देखिएको छ । यस्तो लाग्दैछ, भूकम्पको धक्कासँगै अब नेपालको पुरानो र भग्न राजनीतिक नेतृत्व पनि गल्र्यामगुर्लुम ढल्दैछ ।भूकम्पको धक्काले मल्लकालीन संरचना भत्कायो, राणाकालीन संरचनाहरु चर्कायो, सिंहदरबार र बालुवाटारका पर्खालहरु भत्कायो, अब पुरानो, असक्षम एवं कमजोर राजनीतिक संरचना भत्कन र पुनर्निमार्ण हुन आवश्यक देखिएको छ । यो विपत्तिको घटनाले अहिलेका ठूला दलका ठूला नेताहरु असफल एवं अंगभंग सावित भइसकेका छन् ।अनलाइनखबर

Post a Comment

 
Top