0
गोल्डेन न्यूज संवाददाता
पोखरा २३ चैत ।
पश्चिमाञ्चल उच्चमाविले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठप्रसाद अर्यालले विद्यार्थीको पहिलो शिक्षा घरबाटै सुरु हुने भएकोले अभिभावकहरु बालबच्चाप्रति सचेत हुनुपर्ने बताए । ‘बच्चालाई शैक्षिक वातावरण बनाएर पढ्ने बानिको विकास घरबाटै बनाउनुपर्छ । त्यसमा अभिभावक सचेत हुनैपर्छ’ उनले भने, ‘बालमनोभावना बुझेर अभिभावक अघि बढ्ने हो भने बच्चाको शैक्षिक प्रगति छिटो हुन्छ ।’ उच्च माध्यमिक शिक्षा परिषद्का प्रमुख रमेश अधिकारीले विद्यालय र शिक्षक बालबालिका मैत्री मात्र भएर नपुग्ने बताए । त्यसमा अभिभावकको भूमिका पनि रहने उनले बताए । ‘शिक्षक र विद्यालय बालमैत्री त भएकै छन् र हुनुपनि पर्छ । तर अभिभावक बालमैत्री नभए समस्या आउँछ’ उनले भने, ‘त्यसैले अभिभावकले पनि बालबालिकाको बारेमा सोच्नुपर्छ ।’ पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले भविश्यका कर्णधार बालबालिकालाई गुणस्तरीय र व्यवहारमैत्री शिक्षा दिनका लागि सधंै लागिपर्ने बताए ।
‘अहिलेको परिवर्तित अवस्था र समय अनुसार बालबालिकालाई शिक्षा दिनुपर्छ । त्यो शिक्षा भविश्यको लागि फलदायी बनोस’ उनले भने, ‘त्यसका लागि अभिभावक सचेत हुनुपर्छ । विद्यालय त सचेत छ नै ।’ विद्यालयका प्राचार्य तारा घिमिरेले पश्चिमाञ्चल उच्चमाविले विद्यालयदेखि स्नातकतहसम्म राम्रो रिजल्ट ल्याएर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको बताए । ‘पश्चिमाञ्चल उच्चमाविका विद्यार्थीको रिजल्ट अन्य कुनै कहलिएका विद्यालयको भन्दा कम छैन् । प्रतिस्पर्धी परिणाम ल्याउन विद्यालय लागिपरेको छ’ उनले भने, ‘उच्चमावि र स्नातकतहमा पनि रिजल्ट राम्रो रहेको छ ।’
फाउण्डेसनले अहिले विद्यालय, उच्चमावि र लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर संचालन गरेको छ । उच्चमाविमा विज्ञान, मानविकी र व्यवस्थापन तथा लेकसिटीमा मानविकी संकायमा स्नातक तहमा पढाई हुने उनले बताए । अभिभावक सुरेश श्रेष्ठले पश्चिमाञ्चलले पछिल्लो समय अनुसार विद्यार्थीलाई शिक्षा दिईरहेको बताए ।
विद्यालयकी सहायक प्रिन्सिपल मिनु श्रेष्ठले बालमैत्री शिक्षा दिलाएर शैक्षिक गुणस्तर कायम गर्न आफूहरु सधंै लागिपरेको बताईन । प्रमुख अतिथि अर्याल लगायतले वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गरेका थिए । कार्यक्रममा नर्सरीदेखि उच्च मावि तहसम्मका विद्यार्थीले सांस्कृतिक कार्यक्रम पस्केर अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।

Post a Comment

 
Top