0
गोल्डेन न्यूज संवाददाता
पोखरा २४ चैत ।
चैत्र महिनाको अन्तिम मंगलवार सामुहिक रुपमा तमु जातिको मनाउने  साँस्कृतिक पर्व ट्होटें ३० दलीय मोर्चाद्वारा आयोजित तीनदिने नेपाल बन्दले प्रभावित बन्यो । २०५२ सालदेखि तमु धिं नेपालको नेतृत्वमा पोखरामा सामुहिक रुपमा खेलिने ट्होटें यस पटक भने नेपाल बन्दको प्रभावले क्षेत्रीय तमु समाजहरुले आ–आफ्नो समाजघर र वरपर टोलमा खेल्यो । तर बगालेटोल तमु समाजले बगालेटोलस्थित आफ्नै समाजघरबाट शुरु गरिएको ट्होटें र्लाली बगालेटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, विपीचोक, महेन्द्रपुल, भिमसेनचोक ट्होटें खेलेर पुन चिप्लेढुंगा, न्यूरोड हुने बगालेटोल तमु समाज घरमा पुगेको थियो ।
समाजका अध्यक्ष सुवेदार मेजर सुकबहादुर गुरुङको अगुवाई र जेष्ट सदस्य ८३ बर्षिय सुबेदार जगतबहादुर गुरुङ ट्होटें म्रु गराई खेलिएको ट्होटेंमा समाजका सदस्यहरुको बृहत सहभागीता रहेको थियो । तमु जातिको मौलिक भेषभूषा, बाजागाजासहित टेलिएको ट्होटे भिमसेन चोकमा पुगी पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान निर्माणका लागि आन्दोलनरतहरुको आन्दोलनमा ऐक्यवद्धता समेत जाहेर गरेको समाजका सचिव प्रेमबहादुर गुरुङले जानकारी दिए ।
यसरी नै तमु सहयोग समिति पार्दीले पनि मंगलवार नै पोखरा १७ पार्टी बिरौटास्थित तमु ह्युलाचोकबाट ट्होटें शुरु गरी ड्याम साइड, राष्ट्रबैंकचोक, मुस्ताङचोक हुदै हिमालीटोलस्थित तमु सहयोग समिति पार्दीको समाजघरमा पुगी पुजा गरी ट्होटें सम्पन्न गरिएको थियो । पार्दी तमु समाजका अध्यक्ष क्या.चेतबहादुर गुरुङको नेतृत्व खेलिएको ट्होटेंमा नेपाल बन्दको मोर्चा सम्हालेका एमाओवादीका नेता रामजीप्रसाद बराल लगायतका आन्दोलनरत नेता कार्यकर्ताहरुले समेत साथ दिएका थिए । ट्होटें र्यालीमा सहभागीहरुकाले पहिचान सुनिश्चिता, तमुवान प्रदेश घोषणा, तमु जातिको अधिकार सुनिश्चित भएको संविधान निर्माणको माग समेत गरेका थिए । कार्यक्रममा पार्दी तमु समाजका सदस्यहरुको बृहत सहभागीता रहेको थियो ।
यसैगरी तमु सेवा समिति नयाँबजारले आफ्नै समाजघरबाट ट्होटें खेल्दै नयाँबजार क्षेत्रमा खेलेर तमु धिं नेपाल नयाँबजारमा पुगेको थियो । मौलिक भेषभूषा, बाजागाजासहित खेलिएको ट्होटेंको शुरुवात र समापनमा परम्परागत पूजा, धुपधुँवार गरिएको तमु सेवा समिति नयाँबजारका पुर्व अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिए । यसरी नै पोखराका विभिन्न भाग र लेखनाथ क्षेत्रमा रहेका तमु समाजहरुले आ—आफ्नै समाजघर क्षेत्रमा ट्होटे खेलेको तमु धिं नेपाल ट्होटें समितिका संयोजक रुद्रबहादुर गुरुङले जानकारी दिए । तीस दलीय मोर्चाले तीनदिने नेपाल बन्दको आव्हान गरेकाले बन्दमा यातयातको साधन नचल्ने भएकाले विगतको जसरी सामुहिक ट्होटें पर्व मनाउने अवस्था नआएकाले क्षेत्रीय समाजहरुले आ—आफ्नो समाजघर र वरपर ट्होटें खेल्ने अन्तिम अवस्थामा निर्णय गरिए अनुसार टोल टोलमा ट्होटें सम्पन्न भएको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिए ।

Post a Comment

 
Top