कास्कीका शिक्षण संस्थाहरुको साथै पाठ्यपुस्तक तथा पाठ्य सामाग्रीको विक्री बारेमा अनुगमन गर्न गठित समिति निष्क्रिय बनेका छन् । गोल्डेन न्यूज लगायत केही संचारमाध्यममा विभिन्न विद्यालय अनियमित ढङ्गले महंगो शुल्क लिएको र पाठ्यपुस्तकको छनौट र विक्री वितरणमा समेत मोटो रकमको चलखेल हुने गरेको भनि समाचार प्रकाशित भएपछि विद्यार्थी अभिभावक तथा सर्वसाधारणको दवावमा दुईवटा अनुगमन समिति बनाईको थियो । पाठ्यपुस्तक तथा पाठ्य सामाग्री विक्री वितरणमा भएको अनियमितताको छानविन गर्न गठित समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, शिक्षक युनियन, प्रकाशक, स्टेशनरी व्यवसायी र अभिभावकको प्रतिनिधिका साथै जिशिअले एक जना शिक्षा कार्यालयको अधिकृत रहेका छन् भने विद्यालय वर्गीकरण र शुल्क अनुगमन समितिमा अभिभावक संघका प्रतिनिधि, निजी विद्यालयका दुई जना प्रतिनिधि, विद्यालय प्रशासन हेर्ने शिक्षा कार्यालयका अधिकृतका साथै विद्यालय निरीक्षकलाई पनि राखिएको छ । दुवै अनुगमन समितिको संयोजक जिल्ला शिक्षा अधिकारीलाई बनाइएको छ । यसरी बनाइएको दुवै अनुगमन समितिले औपचारिकतामात्र पनि पूरा गर्न सकेका छैनन् । जिशिअ अम्विका प्रसाद आचार्य पोखरा बाहिर गएकोले निमित्त जिशिअको जिम्मेवारी पाएका उप–सचिव हेमनारायण चापागाइँ ति समितिको संयोजक रहेकोमा चापागाइँ नेतृत्वको समितिले अनुगमनलाई निरन्तरता दिन सकेका छैनन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीका दुई नेता शेखर गौतम र कृष्णराज दाहालले तोडफोड गरेको ह्याप्पी बोडिङका कक्षा ८, ९ र १० मा ताला लगाउने बाहेक अनुगमन समितिले अन्य काम अघि बढाएको छैन । समितिको संयोजक रहेका हेमनारायण चापागाइँले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै अनुगमन समितिले काम गर्न नसकेको स्वीकार गरे । ‘हामीले ह्याप्पी बोर्डिङको तीन वटा कोठामा ताला लगायौं तर अरु पनि त्यस्ता विद्यालयमा केही गर्न सकेका छैनौं ।’ ह्याप्पी बोर्डिङमा मंगलबार दुई विद्यार्थी नेताद्वारा तोडफोड गरिएपछि अनुगमन समितिले पनि उक्त विद्यालयमा ताला लगाएको हो । तर त्यसपछि शुक्रबारसम्म पनि अनुगमन समिति अन्य विद्यालयमा पुगेको छैन । यस बारेमा ध्यानाकर्षण गराउँदा आचार्यले भने –‘अनुमति विना चलेका थुप्रै विद्यालय कास्कीमा छन् तर हामीले अनुगमन नगरेका कारण कतिले संचालन गरिरहेका छन् भन्ने जानकारी पाएका छैनौं । कतैबाट उजुरी आयो भने हामी त्यस्ता विद्यालयलाई कार्वाही गछौंं ।’ उनले अनुगमन समितिले ह्याप्पी बोर्डिङमा ताला लगाएकै दिन पोखराको रानीपौवा नजिक संचालन भइरहेको नोवेल इन्टरनेशनल स्कूलमा पुगेर निर्देशन दिएको स्पष्ट पारे । ‘त्यहाँ न्यू मुनलाइटको नामबाट अनुमति लिएर नोवेल इन्टरनेशनलको नामबाट काम भइरहेको पायौं । त्यसैले तुरुन्त बोर्ड हटाउन निर्देशन दिएका थियौं तर अझै पनि बोर्ड नहटेको जानकारी आएको छ ।’–आचार्यले भने । कास्कीका सहायक जिशिअ दामोदर सुवेदीले पनि गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै नोवेल इन्टरनेशनल एकेडेमीले कक्षा ५ सम्मकोमात्र अनुमति लिएर १० कक्षासम्मको पढाइ संचालन गरिरहेको जानकारी दिए । कास्की जिल्लामा नयाँ अनुमति माग्ने र कक्षा थपको अनुमति माग्ने विद्यालयको संख्या धेरै रहेपनि अनियमित ढङ्गले संचालन भइरहेका विद्यालय ७÷८ वटा रहेकोले उनीहरुमाथि छानविन र कार्वाही गर्न आवश्यक रहेको उनले बताए । नगरपालिकाको एउटा वडामा १० वटा आधारभूत तहका र ५ वटा मावि तहका विद्यालयलाई अनुमति दिन सकिने प्रावधान शिक्षा ऐनमा रहेपनि कतिपय स्थानमा दवाव र प्रभाव एवं व्यवहारिकतालाई हेरेर निर्णय हुने गरेको छ । नोवेल इन्टरनेशनले नाम परिवर्तनका लागि प्रक्रिया शुरु गरेको भएपनि क्षेत्रीय शिक्षा निर्देशनालयले निर्णय नदिएको बताइन्छ । कतिपय विद्यालयले आफ्नो नजिकै अर्को विद्यालय स्थानान्तरण हुँदा आफ्नो विद्यालयलाई असर पर्ने भन्दै विभिन्न हथकण्डा समेत अपनाउने गरेको आरोप लागेको छ । तर पोखराको बगरमा रहेको संस्कृत पाठशाला संगै पास्कल एकेडेमी र लिटिल स्टेप बोर्डिङ एउटै कम्पाउण्डमा संचालित छन् भने पोखरा एकेडेमी एउटै नाममा बाटुलेचौर र सिमलचौरमा दुई विद्यालय संचालि त छन् । यसैगरी पृथ्वीचोकमा रहेको वीज्डम बोर्डिङ स्कूल एयरपोर्ट नजिकै हिमाञ्चल बोर्डिङसंगै पुगेको छ । यसरी विभिन्न विद्यालयहरु स्थानान्तरण गर्दा, थप कक्षाको अनुमति लिंदा तथा विद्यालयको नयाँ अनुमति माग्दा जिल्ला शिक्षा कार्यालय र सरोकारवाला निकायले समयमै निर्णय नदिएकोले विद्यालयका संचालकहरु अनावश्यक दुःख पाउनुपरेको र विद्यालयको प्रतिष्ठामा समेत आँच पुग्ने गरेको विद्यालयका संचालकहरु बताउँछन् । पाठ्यक्रम र पाठ्यसामाग्री अनुगमन गर्ने समितिले केही पुस्तक पसलको मात्र भ्रमण गरेको र विद्यालय अनुगमन समितिले दुई वटा विद्यालयमा पुगेपछि एउटामा तालावन्दी र अर्कोलाई सामान्य आग्रहमात्र गरेको भन्दै अनुगमन समितिको कार्यप्रति विद्यार्थीै र अभिभावकहरुको तर्फबाट असन्तुष्टि प्रकट गरिएको छ ।यसैबीच कास्कीमा रहेका विभिन्न शिक्षण संस्था सम्वद्ध ृउच्चस्तरीय शैक्षिक समन्वय समितिको तर्फबाट जारि गरिएको विज्ञप्तिमा निजी शिक्षण संस्थामाथि भएको भौतिक आक्रमण र विभिन्न क्षेत्रबाट उठाइएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, एनप्याव्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, युनिप्सका अध्यक्ष ध्रुव गिरी, हिसान कास्की अध्यक्ष बाबुराम पन्तले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपालका प्रमुख राजनीतिक दलले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको भएपनि तिनै दलका विद्यार्थी संगठनहरु विद्यालय वा विद्यार्थीमाथि अनाधिकृत हस्तक्षप गरि बालअधिकार विरुद्धको अपराध गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा वैशाख ११ देखि गर्ने भनिएको शैक्षिक हड्ताल फिर्ता लिन र बालबालिकाको पढ्न पाउने अधिकारको रक्षा गर्न सबै पक्षसंग आग्रह गरिएको छ । संयुक्त विज्ञप्तिमा विद्यालयहरुले चर्को शुल्क लिने, विभिन्न शीर्षकमा शुल्क अशुल्ने, विभिन्न बाहनामा व्यापारीबाट कमिशन लिने तथा अनुमति विना कक्षा संचालन गर्ने जस्ता आरोपप्रति आफूहरुको संस्थागत असहमति रहेको उल्लेख गरिएपनि विभिन्न पव्लिकेशनका संचालक बाट एनप्याव्सन लगायतका केही संस्थाले मोटो रकम कमिशन स्वरुप लिएको विषयमा भने केही उल्लेख गरिएको छैन । कास्की मोर्डनाइज्ड स्कूल संचालन गरिरहेका एनप्याव्सनका अध्यक्ष मोचीले विभिन्न पव्लिकेशनबाट आफ्नो र संस्थाको बैंक खातामा पैसा जम्मा गर्न लगाएको यसअघि नै स्वीकार गर्नुका साथै सार्वजनिक रुपमा जानकारी समेत गराएका थिए । यसरी कमिशन लिएको जानकारी गराउदा समेत स्थानीय प्रशासन र सरोकारवाला निकाय भने अझै वेखवर जस्तै देखिएका छन् । मोचीले शिवचोकमा भाडामा संचालन गरेको विद्यालय केही वर्ष भित्रमा नै निजी जग्गामा विशाल महल बनाएर चलाउन थालेका छन् । उनलाई आन्तरिक राजस्व कार्यालयबाट छानविन शुरु गरिएको बताइन्छ । यसैबीच जिल्ला शिक्षा अधिकारी नेतृत्वको अनुगमन समिति विद्यार्थी संगठनका प्रतिनिधिका साथै निजी विद्यालयहरुको संगठनका प्रतिनिधिहरुबीचको संयुृक्त बैठक शुक्रबार बस्यो । कास्कीका शिक्षण संस्थाहरुको साथै पाठ्यपुस्तक तथा पाठ्य सामाग्रीको विक्री बारेमा अनुगमन शुरु भइरहँदा अनेरास्ववियुका शेखर गौतमको व्यक्तिगत चरित्रका कारण सबैले अनावश्यक दुःख पाएको गुनासो गरेका थिए । त्यस अवसरमा अनेरास्ववियुका अर्जुन अधिकारीले शेखरका कारण आफ्नो संगठन र पार्टीको समेत बद्नाम भएको भन्दै गौतमको व्यवहारलाई सुधार गर्दै अघि बढ्ने बताएका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षा
» विद्यालय र पाठ्यपुस्तक अनुगमन गर्ने दुवै समिति निष्क्रिय दवाव र प्रभावमा काम हुने गरेको आरोप
Subscribe to:
Post Comments (Atom)
Post a Comment