0
(वासुदेव पौडेल)
    काठमाडौँ, २५ चैत ।
सरकारले यसै वर्षदेखि प्रारम्भ गर्न लागेको प्राविधिक विषयका प्रवेशिका परीक्षाका विद्यार्थीको अक्षराङ्कन प्रणालीको मूल्याङ्कनले विद्यार्थीको वास्तविक क्षमतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
   
देशका ९९ विद्यालयका तीन हजार २८८  विद्यार्थीको अक्षराङ्कन प्रणालीका आधारमा मूल्याङ्कन गर्न लागिएको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई निरन्तर मूल्याङ्कन र पृष्ठपोषणका माध्यमबाट सिर्जनात्मक प्रतिभातर्फ उन्मुख गराउने उद्देश्यले विश्वका धेरै मुलुकमा प्रयोगमा आइसकेको सो प्रणाली नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो ।
   
विद्यार्थीको योग्यता, क्षमता, सीप र दक्षता अङ्कमा मापन गर्न कठिन हुने हुँदा  समग्र क्षमता मापनका लागि निश्चित मापदण्डका आधारमा मूल्याङ्कन गरेर विभिन्न अक्षरबाट सम्बोधन गरी गरिने अक्षराङ्कन प्रणालीमा मूल्याङ्कन गर्ने योजनाअनुसार शिक्षा मन्त्रालयले अर्को वर्षदेखि साधारणतर्फको प्रवेशिका परीक्षाका विद्यार्थीलाई पनि यसै प्रणालीमा मूल्याङ्कन गर्ने जनाइसकेको छ ।

अङ्कमा आधारित श्रेणीकरण प्रणालीले जसरी पनि बढी अङ्क प्राप्त गर्नेतर्फ मात्र उन्मुख गराउने र यसले विद्यार्थीको वास्तविक क्षमतालाई सम्बोधन गर्न नसक्ने भनी विश्वका विभिन्न राष्ट्रमा यो प्रणाली उपयोग गरिएको हो ।

–ः १५ ः–

द्वारेले थप्नुभयो, “यस प्रणालीबाट अङ्कका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिको अन्त्य भई विद्यार्थीको वास्तविक क्षमताको मापन गर्ने अपेक्षा गरिएको छ, विद्यार्थीको वास्तविक क्षमताको मापनले उनीहरूलाई आफ्नो व्यक्तित्व विकासका लागि विषय छनोटलगायत कुरामा धेरै सहयोग पुग्न जान्छ ।” 

सो प्रणालीमा सिर्जनात्मकता अभिवृद्धिका साथै निरन्तर मूल्याङ्कन गरिने भएका कारण विद्यार्थीको समग्र क्षमताको मापन गर्न उपयोगी हुने नेपाल पाठ्यपुस्तक लेखक सङ्घका महासचिव डा खोमराज खरेलको भनाइ छ । विश्वमा अङ्क र अक्षर श्रेणीकरण दुवै प्रणाली उपयोग गरिए पनि पछिल्लो समयमा अक्षर श्रेणीकरणतर्फ विश्वविद्यालय एवम् शैक्षिक संस्था उन्मुख भएको उहाँले बताउनुभयो ।

खरेलले भन्नुभयो, “अङ्क गे्रडिङ प्रणालीमा विद्यार्थी केवल नम्बरकै लागि दौडने प्रवृत्ति छ, शैक्षिक संस्था एवम् अभिभावक पनि नम्बर कसरी बढी ल्याउने भावनाले ग्रसित हुन्छन्, अक्षराङ्कन प्रणालीले केवल नम्बरका पछाडि दौडने प्रवृत्तिको अन्त्य गरी विद्यार्थीमा सिर्जनात्मकताको विकास गर्न मद्दत पु¥याउँछ ।”
   
अङ्कबिनाको श्रेणीकरण प्रणालीको सुरुआत सन् १७८५ मा एल विश्वविद्यालयका प्रा प्रेसिडेन्ट एजा स्टाइल्सले गर्नुभएको हो । उहाँले  ५८  विद्यार्थीलाई गरेको श्रेणीकरणमा २० जनालाई उत्कृष्ट, १६ जनालाई दोस्रो उत्कृष्ट, १२ जनालाई कमजोर र बाँकी १० जनालाई असफल भनी मूल्याङ्कन गर्नुभएको थियो ।
   
त्यसपछि सन् १८१७ मा विलियम एन्ड मेरी कलेजले विद्यार्थीलाई चार श्रेणीमा विभाजन गरी मूल्याङ्कन गर्ने थालनी ग¥यो जसबाटै अक्षराङ्कन प्रणाली वर्तमान अवस्थासम्म आइपुगेको मानिन्छ ।
पछिल्ला वर्षमा आएर अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वप्रसिद्ध अमेरिकी, युरोपेली र एसियाली विश्वविद्यालयमा सो प्रणाली उपयोग गर्न थालिएको छ । युरोपका अल्बानिया, बेल्जियम, फ्रान्स, फिनल्यान्ड, जर्मनी, ग्रीस, आइसल्यान्ड, नर्वे आदि तथा एसियाका मङ्गोलिया, हङ्कङ(चीन), इन्डोनेसिया, अफगानिस्तान, इरान, जापान, पाकिस्तान, भारत आदि देशमा सो प्रणाली उपयोग गर्न थालिएको छ । उत्तर अमेरिकाका मेक्सिको, क्यानडा, संयुक्त राज्य अमेरिका आदिमा यो प्रणाली प्रचलनमा छ भने दक्षिण अमेरिकाका अर्जेन्टिना, चिली, कोलम्बिया, इक्वेडर आदि देशले यो प्रणालीमा मूल्याङ्कन सुरु गरेका छन् ।
   
नेपालमा सो प्रणाली लागू गर्ने  विषयमा बहस भएको लामो समय भए पनि २०५७ सालमा उच्च माध्यमिक शिक्षा परियोजनाले परीक्षाको मूल्याङ्कन प्रविधि परिवर्तन गर्नुपर्ने र अक्षराङ्कन प्रणाली सुरु गर्नुपर्ने सुझाव दिएको थियो ।
   
दक्षिण एसियाका राष्ट्रका विद्यालयमा अक्षराङ्कन प्रणालीमा मूल्याङ्कन गर्न थालेको केही वर्ष भए पनि नेपालमा भने यसै वर्षदेखि अक्षराङ्कन प्रणालीमा मूल्याङ्कन गर्न लागिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताउनुभयो । यस वर्षको प्राविधिकतर्फको अक्षराङ्कन प्रणालीले अर्को वर्षदेखि गरिने साधारणतर्फको अक्षराङ्कन प्रणालीलाई थप मार्गनिर्देश गर्ने उहाँको भनाइ छ ।
   
विद्यार्थीले प्राप्त गरेको प्रतिशतका आधारमा सरकारले यस वर्षदेखि ९०–१०० प्रतिशतलाई ए(प्लस)–विशिष्ट श्रेणी, ८०–८९ ए(उत्कृष्ट), ६०–७९ बी (धेरै राम्रो),४०–५९ सी(राम्रो), २५–३९ डी(कमजोर)र २५ प्रतिशतभन्दा कमलाई धेरै कमजोरका रूपमा अक्षराङ्कन मूल्याङ्कनको तयारी गरेको छ । रासस

Post a Comment

 
Top