0
आज लोकतन्त्र दिवस अर्थात वैशाख ११ गते । आठ वर्ष अघि २ सय ४० वर्षीय निरंकुश राजतन्त्रले घुँडा टेकेको दिनको सम्झनामा लोकतन्त्र दिवस मुलुकभर मनाउने गरिन्छ । सरकारले समेत यसलाई एक पर्व मानि सार्वजनिक बिदा दिने गरेको छ । सोझो अर्थमा भन्दा बहुसंख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरुको सम्मतिअनुसार कुनै पनि देशको शासन व्यवस्था चल्ने र नीति निर्धारण हुने शासन प्रणाली हो लोकतन्त्र । तर लोकतन्त्रको परिभाषालाई यति साँघुरो सीमाभित्र कैद गर्न सकिँदैन । यसको क्षेत्र बृहत् छ । यसको अनुशरण कठिन छ र यसको दायरा सोचिएभन्दा फराकिलो छ । अनि लोकतन्त्रको अनुशासन कडा छ र यसका शर्तहरु पनि उत्तिकै गहन छन् । त्यसैले त लोकतन्त्र सबैले भन्ने तर कमैले मात्र अपनाउने विषयका रूपमा चिनिँदै आएको छ । नेपालका नेताहरु पनि यसको अपवाद छैनन् । नेपालको सन्दर्भमा लोकतन्त्र मात्र नारामा सीमित भएको छ । जबकि लोकतन्त्र नारा हुनै सक्दैन ताकि जसले जनतालाई केही आश्वासन देखाउँछ र त्यसैका पछिपछि लाग्न बाध्य पार्छ । मौसमीरूपमा उब्जने यस्ता नारा न दीर्घकालसम्म टिक्छन् न तिनको कुनै तौल नै हुन्छ । लोकतन्त्र त जीवन पद्धति हो । जसमा जिम्मेवारी हुन्छ । यसमा पारदर्शिता हुन्छ । जसले उत्तरदायित्वलाई शर्त बनाएको हुन्छ यस्ता महत्वपूर्ण पक्षहरुको संयोजन नै लोकतन्त्र हो । त्यसैले कुनै पनि व्यक्ति वा नेता लोकतान्त्रिक हुनु भनेको उसको जीवन पद्धतिमा यी विषय कार्यान्वयन हुनु हो । न कि मुखले म लोकतन्त्रवादी हुँ भन्दैमा ऊ लोकतन्त्रको सच्चा पहरेदार हुने सुविधा यही कारण उसलाई कतैबाट पनि प्राप्त हुन सक्दैन । महात्मागान्धी एउटा त्यस्तो गजवको नाम हो, जसले व्यवहारमै लोकतन्त्रलाई जीवन पद्धतिका रूपमा ग्रहण गर्न सके । कहिल्यै पनि पदका लागि लालायित भएनन् तर जनताको हीतको लागि मरिमेटेर लागे । बीपी कोइरालाले नेपाली जनताको मुक्तिका लागि नेतृत्व गरेका क्रान्ति र त्यस्ता क्रान्तिपछिको परिणामबाट आफूलाई सच्चा लोकतन्त्रवादी सावित गरेका छन् । पछिल्लो समय कृष्णप्रसाद भट्टराईले सुराही र ट्यांका सम्पत्तिका रूपमा प्रदर्शन गरेका घटनाले मात्र हैन, आफैंले सिंगो जिन्दगी लगानी गरेको दल बाटो बिराउन थालेपछि त्यसबाट अलग्गिन गरेको निर्णयले पनि उनको लोकतन्त्रप्रतिको निष्ठा प्रमाणित हुन्छ । उता मनमोहन अधिकारीले पनि सादा जीवन, उच्च विचारको मान्यतामा अडिग रही लोकतन्त्रलाई जीवन पद्धतिमा परिणत गरेका थिए । तर विडम्बना, अहिले यो मुलुकमा आफूलाई लोकतन्त्रवादी, प्रजातन्त्रवादी भन्ने तर व्यवहारमा भने त्यसलाई पटक्कै अनुशरण नगर्नेहरुको ठूलै जमात खडा भएको छ । खासगरी दलको नेतृत्व तहमा रहेकाहरुमा नै यो समस्या देखिएको छ । लोकतन्त्र सहज मार्ग पक्कै हैन । यसको ट्रयाकमा छिरिसकेपछि त्यसैमा आफूलाई कायम राखिरहन सक्नु अर्को चुनौती हो । तर विभिन्न महत्वाकांक्षाको भारीले थिचिएको दिमाग लिएकाहरु पहिलो त यो मार्गमा प्रवेश गर्नै सक्दैनन, दोस्रो गरे पनि त्यसैको दायरामा आफूलाई टिकाइरहन सक्दैनन् । यही कारण पनि लोकतन्त्र नेपाली नेताहरुका लागि देखाउने दाँतमात्र हो, चपाउने हैन । उनीहरु लोकतन्त्रलाई माध्यमका रूपमा प्रयोग गर्ने रणनीति मात्रै बनाइरहेका छन् । तर वास्तविकताचाहिँ के हो भने जबसम्म नेताहरु आफ्नो जीवन शैलीलाई लोकतन्त्रमैत्री बनाउन सक्दैनन, त्यतिबेलासम्म न उनीहरुका कार्यकर्ता लोकतान्त्रिक पद्धतिको कसीमा दाँजिने सम्भावना रहन्छ, न त ती नेताले फलाक्ने गरेका सिद्धान्त र गर्ने गरेका भाषणमै दम रहन्छ । यसैगरी आफ्नो व्यवहार गुपचूप र जीवनशैली अप्रजातान्त्रिक तथा कार्यशैली अपारदर्शी बनाउने नेतारकार्यकर्ताले अरुलाई लोकतन्त्रको पाठ सिकाउने अधिकार कसैले पनि दिएको छैन । यी यावत् पक्षहरुमा राजनीतिक दलका नेतारकार्यकर्ताले ध्यान दिन जरूरी छ । नेताहरुले यी पक्षमा ध्यान दिंदै लोकतन्त्रलाई जीवन पद्धतिमा नै परिणत गर्न सकेमात्रै लोकतन्त्र दिवसको सार्थकता रहन्छ ।

Post a Comment

 
Top