0
(कमल खत्री)

म्याग्दी, २४ चैत । पर्यटकीय क्षेत्रका रूपमा चर्चा बटुलेको म्याग्दीको टोड्के यतिबेला सिङ्गारिएको छ ।

वसन्त ऋतुको आगमनसँगै जङ्गलमा फुलेका रङ्गीचङ्गी गुराँस फूलले टोड्के सुसज्जित बनेको हो । फागुनदेखि फक्रन थालेका गुराँस यतिबेला ढकमक्क फुलेको छ । म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत र पाखापानी गाविस तथा बेनी नगरपालिकाको डडुवाको सीमा क्षेत्रमा पर्ने टोड्केमा अहिले गुराँसले सुन्दरता थपेको छ ।

फागुनदेखि चैत महिनासम्म लालीगुराँसले मोहनी लगाउने टोड्के मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्ने उपयुक्त स्थान पनि हो । एकै ठाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े गणेश, गुर्जालगायतका हिमालको मनोरम दृश्य अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको महत्वपूर्ण विशेषता रहेको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन केसीले बताउनुभयो ।

समुन्दी सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित टोड्के पूर्णगाउँ र बाखेतबाट करिब ३० मिनेट र झिँबाट झन्डै साढे एक घन्टाको पदयात्राको दूरीमा पर्छ । तिनै बस्तीको शीरमा रहेको टोड्के पुग्दा पदमार्गको दायाँ र बायाँ भेटिने गुराँसको घना जङ्गल पदयात्राको थप आर्कषण भएको स्थानीय युवा कृष्ण गौचनले बताउनुभयो ।

मुख्यतः टोड्केमा उत्पादन हुने मूला जिल्लामा प्रख्यात छ । अग्लो भू–भागमा अवस्थित टोड्के धुरीबाट अन्नपूर्ण र धौलागिरि रेञ्जमा पर्ने करिब एक दर्जनभन्दा बढी हिमालका चुचुरा, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यसहित धौलागिरि अञ्चलका विभिन्न भागसमेत सजिलै देख्न सकिन्छ ।

धार्मिक र ऐतिहासिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिने टोड्केमा प्यूठानमा अवस्थित स्वर्गद्वारी बाबाले यहाँ आएर तपस्या गरेको र उनका अनुयायीसमेत वर्षाैंसम्म यहाँ बसेको स्थानीय प्रेमप्रसाद रेग्मीले बताउनुभयो । पर्याप्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने प्रशस्त सम्भावना भए पनि यस क्षेत्रको पर्यटन विकासको अभियानले सार्थकता नपाएको उहाँको भनाइ छ ।

हाल मङ्सिरदेखि वैशाखसम्म विभिन्न स्थानबाट वनभोजका लागि विद्यालय, सङ्घ संस्था र समूह टोड्के पुग्ने क्रम भने बढेको छ । टोड्केका बासिन्दा मीनबहादुर थजालीका अनुसार, पुस–माघ महिनामा पर्ने हिउँ र फागुन–चैत महिनामा फुल्ने गुराँससँग मितेरी गाँस्दै रमाउन पर्यटकसमेत टोड्केमा पुग्न थालेका छन् ।

पर्यटन विकासका लागि विसं २०६५ मा स्थानीय जनताले टोड्केमै गुराँस महोत्सव पनि आयोजना गरे । तर सोचेअनुरूप प्रचारप्रसार र पदमार्गलगायतका पूर्वाधार निर्माण नहुँदा टोड्केमा पर्याप्त पर्यटक भित्रिन सकेका छैनन् ।

विगत चार वर्षदेखि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टोड्के क्षेत्र विकास कोष सक्रिय छ । यस संस्थाले विभिन्न सङ्घ संस्थासँगको समन्वयमा टोड्केमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाएको छ ।
 
टोड्के पदमार्ग

राउन्ड धौलागिरि जान वैकल्पिक पदमार्गको रूपमा पहिचान गरिएको बेनी–पछै–ढोलथान–जगन्नाथ–पूर्णगाउँ–टोड्के–मालिका धुरी हुँदै बिम पुग्ने पदमार्गले समेटेको सम्भावनायुक्त टोड्केमा आवश्यक पूर्वाधार निर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने प्रशस्त सम्भावना छ ।

छोटो प्याकेजमा उत्कृष्ट पर्यटकीय क्षेत्रको भ्रमण गराउन सकिने टोड्के क्षेत्रमा कुहुँको पूर्णगाउँ, पात्लेखेतको बाखेत र झिँसम्म सवारीसाधन हुँदै पुग्न सकिन्छ भने तिनै ठाउँबाट पदयात्रामार्फत टोड्के पुगिन्छ ।

झिँ या बाखेतबाट टोड्के उक्लिए पूर्णगाउँ, कुहुँ हुँदै तातोपानी झर्न सक्ने ‘सर्किट’ बन्छ । टोड्के पुग्ने धेरै विकल्प छन् । पूर्णगाउँ हुँदै टोड्के पुगेर बाखेत वा झिँ हुँदै झर्न पनि सकिन्छ भने आन्तरिक पर्यटकका लागि एक दिनको बास बस्ने गरी पदयात्रा गरे उत्तम हुन्छ ।

दुई वर्ष अगाडि पूर्णगाउँमा घरबास (होमस्टे) सञ्चालन गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन केसीले कुहुँ, पूर्णगाउँ, बाखेत र झिँमा पर्यटकको सुविधाका लागि प्रभावकारी घरबास सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । “यी बस्तीमा होमस्टे सञ्चालन भएमा आन्तरिक मात्रै होइन विदेशी पर्यटकलाई पनि टोड्केमा उकाल्न सक्छाँै भन्ने आशा छ,” उहाँले थप्नुभयो ।

पूर्वाधार निर्माण

बेनीदेखि टोड्के र मालिका धुरी हुँदै बिम पुगेर ‘गुरिल्ला ट्रेकिङ रुट’सँग जोडिने यस क्षेत्रमा पूर्वाधार निर्माणले सार्थकता पाएको छैन । प्रचुर सम्भावना भएर पनि टोड्केमा पर्याप्त पर्यटक भित्रन नसक्नुमा पूर्वाधारको कमी नै मुख्य कारण रहेको बेनीमा याक होटल सञ्चालन गरेका पूर्णगाउँका बाबुराम आचार्य बताउनुहुन्छ । “टोड्के क्षेत्र विकास कोष र स्थानीय जनता लागिपरेकै छन्, अब टोड्केमा सामुदायिक लज, खानेपानीको पूर्वाधार निर्माण र सुरक्षाको सुविधा पु¥याउन सरोकारवालाको ध्यान पुग्नुपर्छ,” आचार्यले भन्नुभयो ।

गत वर्ष रु एक करोड बजेटबाट बेनी–पछै–ढोलथान–जगन्नाथ–पूर्णगाउँ–टोड्के–मालिका धुरी हुँदै बिम पुग्ने पदमार्ग निर्माण भए पनि गुणात्मक काम भएको देखिँदैन । पर्यटन मन्त्रालयमार्फत अघि बढाइएको उक्त योजनामा प्रभावकारी अनुगमन नहुँदा गुणात्मक उपलब्धि भएको पाइएन । ‘‘यो वर्ष पनि मन्त्रालयबाटै पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी आएको छ, यसलाई प्रभावकारी रूपमा सदुपयोग गर्न दबाब दिन्छौँ,” कोषका अध्यक्ष केसील भन्नुभयो ।

टोड्के क्षेत्र विकास कोषले भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र पर्यटन कार्यालय पोखराको सहयोगमा भवन, शौचालय, खानेपानीलगायतका पूर्वाधार निर्माणलाई समेत तीव्रता दिएको छ । जैविक विविधतायुक्त क्षेत्र भएकाले टोड्केमा ‘बोटानिकल गार्डेन’ बनाउने अवधारणा तयार पारिएको छ ।

कुहुँ गाविसको भर्जुलाका डा उमेद पुनको सक्रियतामा उक्त बगैँचा बन्ने भएको छ । यस क्षेत्रलाई जैविक विविधताको अध्ययन केन्द्रको रूपमा समेत विकास गर्ने कोषको लक्ष्य छ । कोषले आगामी वैशाखमा टोड्केमा मन्त्रीस्तरकै उच्च ओहोदाका व्यक्तिलाई निम्त्याएर भव्य समारोह आयोजना गर्ने र यस क्षेत्रको प्रचारप्रसार गर्ने योजना बनाएको छ । रासस

Post a Comment

 
Top